क्यान्सररोगीको बाँच्ने सम्भावना दोब्बर बनाउन सक्ने औषधिको ‘सफल परीक्षण’
एउटा परीक्षणले इम्युनोथेरापी औषधिले टाउको र घाँटीको गम्भीर क्यान्सर भएका लाखौँ मानिसमा क्यान्सर पुनः उनीहरूको शरीरमा फर्कन नदिएर उनीहरूको बाँच्ने समय बढाएको देखाएको छ।
यो भनेको उपचार गर्न कठिन भएका क्यान्सरका बिरामीहरूका लागि सफलताको पाइएको २० वर्षयताकै पहिलो सङ्केत भएको उक्त अनुसन्धान गर्ने वैज्ञानिकहरूले बताएको कुरा बीबीसीमा समाचार छ ।
यूकेको डार्बिशकी ४५ वर्षीया लोरा मास्ट्रोनमा ६ वर्षअघि जिब्रोको अन्तिम अवस्थातिरको क्यान्सर निदान भएको थियो र उहाँलाई बाँच्ने सम्भावना ‘अति कम’ भएको जानकारी दिइएको थियो। तर उहाँ ‘अझै पनि आफू यहाँ नै रहेकोमा छक्क परेको’ बताउनुहुन्छ ।
उहाँले शल्यक्रिया अघि र पछि इम्युनोथेरापी पाउनुभएको थियो । उक्त औषधिले यदि क्यान्सर फिर्ता आयो भने शरीरलाई त्यसलाई आक्रमण गर्न सिक्न मद्दत गर्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
उपचार गर्न कठिन र चाँडै मृत्यु निम्त्याउने क्यान्सर
टाउको र घाँटीको क्यान्सरको उपचार गर्न निकै कठिन छ र विगत दुई दशकमा बिरामीहरूको उपचार गर्ने तरिकामा केही मात्रामा परिवर्तन पनि आएको छ।
जटिल अवस्थाको टाउको र घाँटीको क्यान्सर निदान भएका आधाभन्दा बढी मानिसको पाँच वर्षभित्र मृत्यु हुन्छ।
लोरालाई क्यान्सर भएको सन् २०१९ मा निदान भएको थियो। उहाँको त्यति लामो समयसम्म बाँच्ने सम्भावना पनि केवल ३० प्रतिशत मात्र दिइएको थियो। उहाँको जिब्रोमा भएको अल्सर नहट्ने अवस्था बनेपछि त्यसो भनिएको थियो।
अर्को चरणमा उहाँको जिब्रो र घाँटीमा ‘लिम्फ नोड’हरू हटाउने ठूलो शल्यक्रिया थियो र त्यसपछि उहाँले फेरि बोल्न र खान सिक्नुपर्यो।
कसरी गरियो परीक्षण ?
लन्डनस्थित इन्स्टिच्यूट अफ क्यान्सर रिसर्चका विशेषज्ञहरू सम्मिलित क्यान्सरको उपचार गर्ने नयाँ पद्धतिहरू पत्ता लगाउन गरिएको अन्तर्राष्ट्रिय अध्ययनको एउटा हिस्साका रूपमा शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन शल्यक्रिया अघि र पछि इम्युनोथेरापी औषधि पेम्ब्रोलिजम्याब दिइएका ३५० जनाभन्दा बढी बिरामीमध्ये लोरा पनि एक हुनुहुन्थ्यो ।
ब्रिटेनमा उक्त परीक्षणको नेतृत्व गर्ने प्रोफेसर केभिन ह्यारिङ्टन भन्नुहुन्छ, ‘हामी प्रतिरक्षा प्रणालीलाई ट्युमरलाई राम्रोसँग चिन्ने मौका दिन्छौँ र त्यसले गर्दा ट्युमर प्रतिरोधात्मक क्षमता उत्पन्न हुन्छ अनि ट्युमर हटाएपछि एक वर्षसम्म निरन्तर औषधि दिएर त्यो प्रतिरक्षासँग सम्बन्धित प्रतिक्रिया दिने क्षमतालाई बढाउँछौँ।’
समान क्यान्सर भएका धेरै बिरामीहरूले सामान्य हेरचाह पाएका थिए। उनीहरू सबैलाई एउटै क्षेत्रमा जटिल खालको टाउको र घाँटीको क्यान्सर थियो तर शरीरको बाँकी भागमा फैलिएको थिएन।
यो नयाँ खालको उपचारसम्बन्धी परीक्षणले सकारात्मक नतिजा देखायो।
यसले बिरामीहरूलाई क्यान्सरमुक्त हुने समयलाई औसतमा लगभग साढे दुई वर्षबाट बढाएर पाँच वर्ष अर्थात् दोब्बर बनायो।
तीन वर्षपछि उक्त औषधि दिइएका बिरामीहरूमा शरीरको अन्य भागमा क्यान्सर फर्कने जोखिम १० प्रतिशतमा सीमित भयो।
हेल्थपाटी
तपाईँको अभिमत