आजदेखि सार्वजनिक यातायात खुले, अरु केके खुल्छन् ?
काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा जोर बिजोर आधारमा सार्वजनिक सवारी साधन चलेका छन् । सवारी साधन विहान ६ देखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।
२५ सिटभन्दा बढीका सवारी साधनहरु मात्रै चल्नेछन्, टेम्पो सञ्चालन गर्न पाइने छैन । तर यातायात व्यवसायीले भने जोर बिजोरको आधारमा सवारी साधन चलाउन दिनु अवैज्ञानिक भएकोभन्दै असार १८ गतेबाट देशभर सबैदुरीका सवारी साधन चलाउने घोषणा गरेका छन् । गएको हप्तादेखि निजी सवारी साधन भनि जोर बिजोरकै आधारमा चलिरहेका छन् । ट्याक्सी,पठाओ पनि चलिरहेका छन् ।
सीट क्षमताभन्दा बढी संख्यामा यात्रु राख्न पाइने छैन भने यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नपर्ने र सहचालकले पञ्जा लगाउनुपर्ने छ । अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्नेछ ।
यसैगरी डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमाबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ लगायत अन्य पसल व्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि वर्कशपहरु साँझ ७ बजेसम्म खुला रहने छन् । सवारी साधन मर्मतका लागि वर्कशपहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
विवाह तथा ब्रतवन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरि आफ्नो घर वा बसेको स्थानमा गर्न सकिने छ ।
विवाह वा ब्रतवन्धको हकमा २ वटा सवारी साधन बेहुला बेहुलीसमेतले प्रयोग गर्ने गरि ब्यानरका आधारमा सञ्चालन गर्न अनुमती दिइएको छ ।
सञ्चालन गर्न नपाइने कार्यहरुः
– सबै प्रकारका सभा, सम्मेलन, गोष्ठि, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रममा रोक लगाइएको छ ।
– खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न गराउन नपाउने ।
– विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने ।
– शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु सञ्चालन गर्न गराउन नपाउने ।
सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज मंगलबारदेखि स्वास्थ्यका मापदण्ड पालना गर्दै जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न भन्दै गत वैशाख १६ गतेदेखि उपत्यकालगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको थियो । तर संक्रमण केही घटेपछि निषेधाज्ञा खुकुलो बनाउदै लगिएको छ ।
1_merged
हेल्थपाटी
तपाईँको अभिमत