काेराेना उपचारमा आयुर्वेदिक औषधिको वैज्ञानिक आधार खाेजिने
अनुसन्धानका लागि १ करोड अनुदान
काठमाडौं । कोरोना संक्रमितको उपचारमा औषधिजन्य वनस्पतिको प्रभावकारिताबारे वैज्ञानिक आधार पत्ता लगाउन अनुसन्धान गरिने भएको छ । अनुसन्धानका लागि विश्व विद्यालय अनुदान आयोगले त्रिवि, रसायन केन्द्रिय विभागलाई १ करोड रुपैयाँ अनुदान दिने भएको छ ।
रसायनशास्त्रका प्राध्यापक तथा प्रमुख डा. रामचन्द्र बस्नेतको नेतृत्वमा हुने यस अनुसन्धानमा प्रमुख वैज्ञानिक सल्लाहकार प्रा.डा.निरञ्जन पराजुली र सह-अनुसन्धानकर्ता डा. खगराज शर्मा, डा विष्णु मरासिनी, डा मदनकुमार पौडेल, विनोद रायमाझी, सरोज बस्नेत र करन कडायत रहनु भएकाे छ। प्राविधिक सल्लाहकारको रूपमा डा.अच्यूत अधिकारी सहभागी हुनुहुनेछ ।
हाल नेपालमा संक्रमितको उपचारमा गुर्जो लगायतका आयुर्वेदिक औषधिको प्रयोग भइरहेको छ र यसको प्रभावकारिता पनि देखिएको छ । तर यी वनस्पतिजन्य औषधिले कोरोना निको पार्छ भन्ने वैज्ञानिक आधार भने छैन । रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता भने बढाउँछ ।
बेलायतबाट प्रकाशित हुने जर्नल फाइटो थेरापी रिसर्चले पहाडमा पाइने गुर्जो तथा गँदे, तराईमा पाइने गुडमार, हिमाली क्षेत्रमा पाइने रेड स्पाइडर लिलीको फूल उपयोगी हुने देखाएको छ । 'अब हामी यी लगायत विभिन्न १३६ वटा वनस्पतिको रसायनमा अनुसन्धान गर्नेछौँ, प्रमुख वैज्ञानिक सल्लाहकार पराजुलीले भन्नुभयो, 'यस अध्ययनले आयुर्वेदिक औषधि कोरोना उपचारका लागि साँच्चिकै उपयोगी छ /छैन भन्ने पत्ता लगाउँछ र ती औषधिलाई आधिकारिक रुपमा प्रमाणित गर्दछ ।'
याे अनुसन्धान कार्य एक वर्षभित्र सक्ने लक्ष्य राखिएकाे छ । १३६ आयुर्वेदिक औषधिका रसायनलाई कोरोना संक्रमित मुसामा परीक्षण गरेर कोरोना उपचारका लागि काम गर्छ कि गर्दैन भन्ने प्रमाणित गरिने उहाँले बताउनुभयो । विश्वमा कोरोना भाइरस विरुद्धका औषधि र खोपबारे अनुसन्धान जारी छ ।
तपाईँको अभिमत