हृदयघात हुनुअघिका संकेत केके हुन्छन् ? (भिडियो)
नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको भनिएको छ । यद्यपी नेम्वाङको मृत्युको कारणबारे उपचारका लागि पुर्याइएका त्रिवि शिक्षण अस्पतालले किटान गरेर भनेको छैन ।
यसैगरी नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य बालकृष्ण ढुंगेलको गत असोज २२ गते हृदयघातबाटै निधन भयो।
ढुंगेलले लामो समयदेखि मिर्गौलासम्बन्धी समस्याको सामना गर्नुपरेको थियो । यसैगरी २०७४ मंसिर ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्र प्रकाश दाहालको निधन पनि हृदयघातकै कारण भएको थियो ।
पछिल्लो समय हृदयघातका कारण हुने मृत्यु बढिरहेको छ । हृदयघातको जोखिम मधुमेह, कोलेस्टेरोल, उच्च रक्तचाप, धुमपान, मद्यपान गर्ने व्यक्तिहरूमा अधिक हुने गरेको चिकित्सकहरू बताउनुहुन्छ । वीर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पाले छाती दुख्नु हृदयघातको प्रमुख संकेत रहेको बताउनुभयो ।
उहाँका अनुसार छाती दुख्ने क्रम लामो समयसम्म देखियो र दुखाइको क्रम बढिरह्यो, दुखाइ देब्रे हात,चिउँडोलगायत अंगतर्फ सर्न थाल्यो भने हृदयघातको जोखिम रहन्छ । दुखाइसँगै पसिना आउने, वाकवाकी लाग्ने पनि हुन्छ । मुटुको धड्कनमा गडबडी आउँदा कोही व्यक्ति अचानक बेहोससमेत हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार मुटुकाे धड्कनकाे गडबडी भई बेहोस भएका व्यक्तिको मृत्यु हुनसक्ने सम्भावना धेरै रहन्छ । यस्ता लक्षणहरू देखिए तत्काल मुटुकाे उपचार गर्न उहाँले सुझाव दिनुभयाे ।
मधुमेह, कोलेस्टेरोल, उच्च रक्तचापका बिरामीहरू छन् भने उहाँहरूको 'स्क्रिनिङ टेस्ट' गर्न, छाती दुखेमा तुरुन्तै अस्पताल लैजानेतर्फ परिवार सचेत हुनुपर्ने उहाँको सुझाव छ ।
हृदयघात हुनुका कारण र हृदयघातअघि देखिने संकेत र जाेगिने उपायका विषयमा हेल्थपाटीका लागि जगन्नाथ ढकालले मुटुरोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पासँग कुरा गर्नुभएकाे छ ।
हेल्थपाटी
तपाईँको अभिमत