वायु प्रदुषणले फोक्सोको क्यान्सरका साथै पक्षघातसमेत गराउँछ

काठमाडौं । केही दिनअघि देखि धुम्म रहेको काठमाडौंमा शुक्रबार प्रदुषणको मात्रा अधिक रह्यो । पूर्वाधार निर्माण, कलकारखाना लगायतका कारण उसैपनि प्रदुषण भइरहने काठमाडौं शुक्रबार प्रदुषणका कारण दिउँसै अध्यारो भयो ।
विज्ञहरुका अनुसार हिउँदमा वर्षा नहुँदा वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै ढाक्नेगरि तुवाँलो लागेको हो । यसैगरी चैतमा हावाहुरी चल्नुपर्नेमा काठमाडौंमा हावा नचल्दा धुम्म भएको उहाँहरुको भनाइ छ ।
देशका विभिन्न भागमा डढेलो लागेकाले धुँवाले प्रदुषण बढाएको र त्यो धुँवा धुलोले सर्वसाधरणलाई आँखा पोल्ने समस्या भएको छ ।
छातीरोग विशेषज्ञ डा. निरज बमले यो समयमा हावा पनि एकदमै सुख्खा हुने र धुलो धुँवा उडाएर लैजादा हावामा धुलो धुँवाको कम्बल जस्तो बन्दा प्रदुषण अधिक हुने बताउनुभयो ।
‘काठमाडौं कचौरा आकारको छ,यहाँ हावा खेल्न पाउदैन । लकडाउनपछि बन्द भएका कलकारखानाहरु तिब्र रुपमा सञ्चालनमा आएका छन् । इट्टा भट्टाहरु,यातायातका सवारी साधन चलिरहेको छ । उहाँले भन्नुभयो, प्रदुषण त बढ्ने नै भयो ।’ उहाँका अनुसार, अहिलेको जस्तो अवस्थामा स्वास्थ्यमा क्षणिक र दिर्घकालिन असर पर्दछ ।
छालामा एलर्जी हुनुका साथै फोक्सोको श्वाश्नलीमा एलर्जी गराएर रुघाखोकी लगाउने हुन्छ । फोक्सोभित्र भाइरसले संक्रमण गराउँछ भने फोक्सोको क्यान्सरसमेत नै गराउँछ । चुरोट नखाने व्यक्तिहरुलाई फोक्सोको क्यान्सर भएको पाइन्छ यसको कारणमा वायु प्रदुषण हो । पक्षघातको समस्या देखिनुमा वातवारणीय प्रदुषण एउटा प्रमुख कारण । विश्वमा हुने गरेको प्रत्येक १० मृत्युमा एक मृत्यु वातावरणीय प्रदुषणका कारण हुने गरेको तथ्यांकले देखाएको छ ।
त्यसैले वातावरणीय प्रदुषण चुरोट जत्तिकै हानीकारक हुन्छ । प्रदुषणले चुरोट नखानेलाई पनि चुरोट पिउने सरह घातक बनाउँछ । चुरोटमा ६० भन्दा बढी क्यान्सरजन्य रसायन पाइन्छ भने वातरणीय प्रदुषणमा प्रदुषणमा १०० भन्दा बढी क्यान्सरका रसायन पाइन्छन् ।
चुरोटमा आल्मुनियम, कार्बाेमोनोडाइअक्सायड, निकोटिन, विभिन्न कार्बनहरु पाइन्छ । चुरोटमा पाइने यी सबै रयासन वायु प्रदुषणमा पाइन्छन् । त्यसैले वायु प्रदुषण भएको बेला कपाल नांगो नराख्न र न्यानो कपडा लगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
तपाईँको अभिमत