दशैंमा खानपिनले पेट गडबड भयो? यसरी गर्नुहोस् घरेलु उपचार
दशैंमा आफन्त, साथीभाइसँग भेटेर मिठा मिठा परिकार खाने गरिन्छ । धेरैको घरमा मासुका परिकार नै पाक्ने गर्दछ । जमघट हुँदा सामान्य दिनमा भन्दा बढी खानेकुरा खान्छौँ । नियमित समयअनुसार खाना खाने बानी बसिसकेलाई कतिपयलाई यो समयको खानपिनले केही असहज महसुस गराउँछ पनि ।
पेट गडबड भएर स्वास्थ्य संस्था जान खोज्दा कतिपयको घरबाट स्वास्थ्यसंस्था पुग्नै घण्टौँ पनि लाग्छ । यस्तो अवस्थामा हामीले घरेलु उपचार गर्न सक्छौँ । पेट गडबड हुन नदिन के गर्ने र यदि भइहाले घरेलु औषधिको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा आयुर्वेद डा.प्रकाश ज्ञवालीले दिनुभएको सुझाव उहाँकै शब्दमा :
आयुर्वेद चिकित्सा अनुसार पहिलोपटक खाएको खानेकुरा पूर्ण रूपमा पचेपछि दोस्रो पटक खानुपर्छ अर्थात् खाना खाएको ३ घण्टापछि खानुपर्छ । दशैंभरी चिउरा, मासु खाने चलन छ । कत्तिको घरमा त दशैंमा भातै पाक्दैन । लगातार चिउरा मात्रै खाँदा कब्जियत हुन्छ । त्यसैले चिउरालाई हल्का भिजाएर खानुपर्छ । चिउरा र मासु खाने हो भने काँक्रा, मुला, गाँजर लगायतका सलाद बराबर मिसाएर खानुपर्छ जसले गर्दा कब्जियत हुँदैन । हरियो सागपातको साथै पानी प्रशस्तै खानुपर्छ ।
मासु खाँदा २ तरिकाले खान सकिन्छ । मासुबाट बोसो निकाल्नुपर्छ । मासुमा टाँस्सिएको बोसोलाई पानीमा बफाएर मासु तैराएर निकाल्नुपर्छ । दशैंमा मासु र तिहारमा चिल्लो खानेकुरा खाने गरिन्छ । चिल्लोमा तोरीको तेल र शुद्ध घ्युको प्रयोग गर्न सकिन्छ । दशैं तिहारमा लामो समयसम्म बसेर तास पनि खेल्ने गर्छन् तर त्यसो गर्नुहुन्न । बेला बेलामा हिँडड्ुल गर्नुपर्छ ।
कोक, फ्यान्टा लगायतका चिसो पेय पदार्थ खान हुँदैन । एक बोत्तल कोकमा ४० ग्राम चिनी हुन्छ । त्यसको साटो हट लेमन खानुपर्छ । वियर खानैपरे कम अल्कोहल भएको खानुपर्छ ।
ज्वानो, बिरेनुन, जिरा र हिङ साथमै राखौं
खानपिनका कारण हुने पेटको गडबडको उपचार भान्सामै प्रयोग हुने खानेकुराबाट गर्न सकिन्छ । एक एक चम्चा ज्वानो, बिरेनुन, जिरा र हिङलाई पानीमा बेस्सरी उमालेर चियाको रूपमा खान सकिन्छ ।
यसो गर्दा पेटमा भएको विकार कम हुन्छ । अपच भएर पखाला लागे यसले काम गर्छ । यो दिनको ३ पटक खान सकिन्छ । यसले ग्याँस निकाल्छ ।
साथै हर्रो, बर्रो, अमला मिसाएर त्रिफला बनाएर राख्ने । यदि यी चिज आफूसँग छैन भने बजारमा हिम बास्टक चुर्ण र त्रिफल्ला पाइन्छ । घर जाँदा एक–एक बट्टा लिएर जान सकिन्छ ।
तपाईँको अभिमत