भगवान हुन पाए !
कविता
सफलतामा घन्यवाद कम पा’को छु
जति असफलतामा जुत्ता खा’को छु
विश्वास गर्नुस् यो अस्पतालको चिसो कोठामा
म पनि राति ड्यूटीमा कठ्याङ्ग्रेको छु
म पनि भगवान हुन पाए
पहिले नै भन्दिन्थेँ होला
तिम्रो समय खत्तम
यमराज मेरो रूप लिएर आ’को छ
तर डाक्टर परेँ
कोशिश गर्छु कहिले सफल
अनि कहिले हतास असफल ।
के मेरो गल्ती यी मेरा अनिदो रात हुन्
जुन रात म मेरो काखे बालक छोडी
बिरामी हेर्न दौडन्छु
कि मेरा सपना गलत हुन् ?
मेरो देश कै सेवा गर्ने, मेरो देश मै सेवा दिने
म पनि भगवान हुन पाए ...
विश्वास गर्नुस् यो अस्पतालको चिसो कोठामा
म पनि राति ड्यूटीमा कठ्याङ्ग्रेको छु
आधा रातमा आँखा मिच्दै
कहिले शित, कहिले पानीमा भिज्दै
अस्पतालमा हर समय पुगेको छु
म पनि भगवान हुन पाए ...
त्यसैले होला,मन दुख्छ
लापरबाही भन्ने शब्द सुन्दा
होईन हजुर म आज कसैको ज्यान लिन्छु भनी हिँडेको,
मान्छे हुँ, कहिलेकाहीँ कोशिसमा चुक्छु म पनि
त्यसैले सोच्छु म पनि भगवान हुन पाए ।
डा. निशा अधिकारी थापा
तपाईँको अभिमत