'मानसिक समस्या, शारीरिक रोगजस्तै समस्या हो, खुलेर कुरा गरौँ'
मानसिक समस्या शारीरिक स्वास्थ्यमा देखिने रोगजस्तै एक किसिमको समस्या रहेको मनोचिकित्सकहरूले बताउनुभएको छ ।
आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा मानसिक अस्पताल पाटनले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सहभागी मनोचिकित्सकहरूले मानसिक समस्याबारे खुलेर कुरा गर्नपर्ने बताउनुभएको हो ।
नेपालमा अहिले दिनको कम्तिमा १७ जनाले आत्महत्या गरिरहेका छन् । हामीले मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न प्रोत्साहित गर्ने र गर्ने गर्यौँ भने यो संख्यामा कमी आउने उहाँहरूले बताउनुभयो ।
कार्यक्रममा अस्पताल निर्देशक डा.अनन्त अधिकारीले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्नपर्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यबारे जनतालाई चेतना जगाउन आमसञ्चार माध्यमको भूमिका ठुलो रहेको बताउनुभयो ।
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एनसीडि तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा.फणिन्द्रप्रसाद बरालले सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू गरिरहेको बताउनुभयो ।
स्वास्थ्य शिक्षा सूचना केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक भक्त केसीले आत्महत्याको रिपोर्टिङ कसरी गर्ने भन्ने सम्बन्धमा गाइडलाइन बनेको बताउँदै पहिलाको तुलनामा अहिले सञ्चार माध्यममा आत्महत्याको समाचार लेखिने शैली परिवर्तन हुँदै गएको बताउनुभयो ।
मनोरोग चिकित्सक डा.वासुदेव कार्कीले मानसिक समस्याबारे खुलेर संवाद गरे, परामर्शमा रहन सकियो भयो आत्महत्यालाई रोक्न सकिने बताउनुभयो । उहाँले २०७५ पछिको भूकप्प, कोभिडपछि निम्तिएको कठिन अवस्थाले नेपालमा मानसिक सस्या बढ्दै गएको देखिएको बताउनुभयो ।
१५ देखि ३५ वर्ष उमेरका व्यक्ति, ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू मानसिक रोगको जोखिममा रहेको उहाँले बताउनुभयो ।
यसैगरी कार्यक्रममा टिपिओ नेपालका कार्यकारी निर्देशक एवं मनोचिकित्सक डा.कमल गौतमले आत्महत्या रोकथाम अभियानमा आमसञ्चार माध्यमको अतिनै महत्वपूर्ण भूमिका रहने बताउनुभयो । आमसञ्चार माध्यममा सम्प्रेषण हुने सामाग्रीहरूका कारण आत्महत्या रोकथाम अभियानमा ठूलो प्रभाव पर्ने उहाँको भनाइ छ ।
आत्महत्याको सोच आए, आफूलाई गाह्रो भएमा सरकारको निशुल्क राष्ट्रिय हेल्पलाइन ११६६ मा फोन गर्न सकिन्छ । अब यो हेल्पलाइनमा एनसेल नम्वर प्रयोगकर्ताले पनि फोन गर्न सक्नेछन् । यसअघि नेपाल टेलिकमको नम्बरबाट मात्रै फोन गर्न मिल्थ्यो ।
टिपिओ नेपालकी पार्वती श्रेष्ठका अनुसार २०२१ मा सुरु गरिएको यस हेल्पलाइलनमा हालसम्म १३ हजार कल आएको छ । यी कलमध्ये ३२१३ वटा कल मानसिक स्वास्थ्य सम्बधी, ११३१ वटा कल आत्महत्याको सोच बनाएकोहरूको आएको उहाँले जानकारी दिनुभयो ।
४६० जनाको गरी ११३१ कल आत्महत्या सोच बनाएकाहरूको आएको उहाँले बताउनुभयो ।
आत्महत्या गर्दागर्दैको अवस्थामा हेल्पलाइन ११६६ ले १७ जनालाई बचाएको छ ।
हेल्पलाइन ११६६ लाई देशभर विस्तार गर्नुपर्ने आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत