थाइल्यान्डमा क्रियाशील स्वास्थ्यकर्मी नेपालीसँग स्वास्थ्यमन्त्री पौडेलको छलफल, निर्माण हुँदै गरेको एप नेपालमा सञ्चालन गर्न निर्माताहरू तयार
थाइल्यान्डमा क्रियाशील नेपाली मेडिकल विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूसँग स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले छलफल गर्नुभएको छ । थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे छलफल गरी सुझाव लिएका लिनुभएको हो।
जनसङ्ख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैङ्कक पुग्नुभएका मन्त्री पौडेलले त्यहाँ क्रियाशील नेपालीसँग छलफल गर्नुभएको हो ।
नेपाली राजदूतावासको आयोजनामा बैङ्ककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्योपचार प्रणाली, स्वास्थ्य शिक्षा तथा स्वास्थ्य बिमाबारेमा थाइल्याण्डको अनुभवबारे नेपाली समुदायसँग सुझाव लिनुभएको हो ।
दुवै देशको परिस्थितिबारे जानकार नेपालीहरूबाट प्राप्त अनुभव आगामी दिनमा थप उपयोगी हुने मन्त्री पौडेलले विश्वास व्यक्त गर्नुभयो । ‘हामी अहिलेकै स्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयत्नशील छौँ, तपाईँहरूको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छ’, मन्त्री पौडेलले भन्नुभयो । थाइल्याण्डका लागि नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा नेपालीहरु चिकित्सा उच्च शिक्षा, चिकित्सा अभ्यास तथा नीति निर्माणसँगै व्यवसायमा संलग्न रहेका उल्लेख गर्दै उनीहरूको अनुभव आदानप्रदानले आगामी दिनमा थप सम्भावना र सहकार्यको मार्गप्रशस्त गर्ने बताउनुभयो ।
छलफलमा सहभागी स्वास्थ्य सेवाप्रदायक एप निर्माणमा संलग्न नेपालीहरूले आफ्नो सेवा स्वदेशमा विस्तार गर्न तयार रहेको बताए ।
हेल्थपाटी
तपाईँको अभिमत