संस्थाको हितका लागि कर्ममा विश्वास गर्दा शत्रु कमाएजस्तो भयो

मलाई आत्मापरक बढप्न भन्दा आत्मा पहिचानबाट प्राप्त ज्ञानलाई महत्वपूर्ण लाग्छ । थरीथरीका मनुवाको बासस्थान यस पृथ्वीमा सन्तुष्टि लिने काइदा पनि फरक-फरक छन् । लगाए अह्राएको काम गर्ने कर्मचारीतन्त्रको विशेषता हो । त्यही अनुसार गरे जीवन तनावरहित हुन्छ । सरल रेखीय हुन्छ । त्यसैलाई पछ्याउनु सामान्य सिद्धान्त हो ।
तर मानिस यन्त्रिक प्राणी होइन । एउटै व्यक्तिबाट नयाँ प्रकृतिका कार्यलायलमा फरक-फरक अपेक्षा हुन्छ। आत्मा पहिचानका विषयवस्तु सरलरेखीय नहुँदा धेरैलाई अप्रिय हुने रहेछ । तर यो ब्रम्ह निर्देशित छ विचलित हुन किमार्थ सक्दिन् ।
त्यसमा पनि नियमनकारी निकायमा सामान्य मानवीय व्यवहार भन्दा कठोर हुनपर्ने रहेछ ।
चिकित्सा शिक्षाको वेथितिले सीमा नाघेपछि डा.गोविन्द के.सी. जस्ता मातृभूमिका सपुतहरूको कठोर संघर्षबाट जबरजस्त उब्जिएको संस्था हो चिकित्सा शिक्षा आयोग ।
भनिन्छ अहिलेको राज्यको समग्र वातावरण सोचे भन्दा फरक समूह र व्यक्तिबाट परिचालित छ । हिजो मात्र एउटा मन्त्रालयका सचिव ज्यूले 'राज्य सिंहदरबाट भित्रबाट चलेको छ कि बाहिरबाट' भनी सुस्केरा हालेको देखेर मनमा चसक्क परेको छ ।
तर संसार विचित्रको छ । त्यही तहका त्यस्तै सूचना र जानकारी लिएका अर्काको अभिव्यक्ति फरक छ । कुन आत्मारति हो र कुन आत्मानुभूति । कसले कुन काइदाले व्यवाहार गर्ने र सन्तुष्टि लिने !
संसार गतिवान छ । हामी कारक मात्र हौँ । परिणामका बारेमा अनभिज्ञ थियौँ र छौँ । सकसमा हुर्कने प्रयास गरिरहेको आयोगमा सदस्य सचिवको रुपमा काम गर्ने अवसरलाई सकरात्मक रुपमा ग्रहण गरियो । सधैँ विद्यार्थी हुन प्रयास गर्ने आदतले कहिले कहीँ असहजता पनि सिर्जना हुने रहेछ।
तथापी बानी परिवर्तन गर्न सकिएको छैन । सिकेका कुराका आधारमा कहिले कहीँ अभिव्यक्ति सरल रेखामा जाँदैन । त्यस्ता विषयले अग्रज र उच्चपदस्तको बीचमा अमिलो त बनाउँछ तर अशान्ति भने हुँदैन ।
आयोगको जन्मकाल देखिका र जन्म हुनका लागि सहनु परेका प्रसव वेदना सम्बन्धी करिब एक दर्जन सामाग्री पढियो । पदाधिकारीहरूले आयोगमा काम गर्नका लागि प्रस्तुत गरिएका सामग्री पढियो । आयोग र कार्यकारीका निर्णयहरू अध्ययन गर्न छुट्ने कुरै भएन ।
आयोगले तयार गरेका र हुँदै गरेका सामाग्री हेर्ने प्रयास निरन्तर भइरह्यो । आवश्यक पर्दा तुरुन्तै कार्यविधि र निर्देशिका विकास गर्न सक्ने क्षमता आयोगका कर्मचारीमा भएको विषयलाई गर्वका साथ अभिव्यक्त गरियो ।
आयोगमा काम शुरु गर्दाका धेरै समस्यामध्ये प्रमुख दुई समस्या खुट्याइयो ।
पहिलो, केही कर्मचारीको काम नभएको र आयोगबाट हटाउनु पर्ने । दोस्रो, सूचना तथा सञ्चार (IT)सम्बन्धी जटिलता ।
पहिलो समान्य सिद्दान्तमा नपर्ने एवम् व्यवहारिक पनि नहुने तर्कलाई माथि पार्ने प्रयास भयो । बरु केही सम्बन्धित क्षेत्रका अनुभवी कर्मचारी ल्याउ भन्ने कुरामा सहमत हुन निकै मिहेनत गर्नुपर्यो ।
दोस्रो विषयमा अलि धेरै मिहेनत गरियो । मिहेनतले त्यति राम्रो परिणाम दिएन । त्यतिबेला त्यो असन्तुष्टि हामी भित्रै रहेछ । ती मान्छे ठिक छन्, यस कारणले ठीक छन्, अलि समय अझै कोसिस गरेर हेरौँ भन्ने कुरा पनि कसैबाट आएन ।
त्यतिबेला 'विकल्प जे को पनि हुनुपर्छ । विकल्पहरु खोज्दै जानुपर्छ भन्ने सल्लाह प्राप्त भयो । त्यसै त्यसै गर्दै गइयो । यसबाट एउटा नयाँ सिकाइ के भयो भने हामी सूचना तथा सञ्चार प्रविधिको प्रयोग र उपयोग गर्न जति हौसिएका छौँ , त्यसको जटिलतालाई बुझ्न पनि त्यति नै गाह्रो छ । सुशासनलाई प्रहार गर्ने अदृश्य शक्ति पनि छायाँको रुपमा एकाकार भइरहेको छ ।
आयोगमा काम गर्दाका सुरुका दिनमा यी र यस्ता सिकाइ हुँदै गर्दा कर्मचारी धेरै भयौँ धेरै काम सिर्जना गरौँ भन्ने मूल विषय दिमागमा रहिरह्यो ।
एक वर्ष भित्र नै एक दर्जनभन्दा वढी समिति, उपसमिति र कार्यदल बने तिनमा सहयोगी भूमिका कर्मचारीकै थियो । खुसी पनि लाग्यो।
चिकित्सा शिक्षा नीति, चिकित्सा शिक्षाको जनशक्ति योजना तथा प्रक्षेपण, चिकित्सा शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप जस्ता प्राज्ञिक र प्राविधिक कामलाई साथीहरुले तीब्रगतिमा अघाडि बढाउनु भयो ।
अरु धेरै काम पनि अघाडि बढ्दै गए । 'पहिला त त्यस्तो थिएन अहिले त जो पनि चिकित्सा शिक्षा आयोग जान्छु भन्छन्, के हो ?' भनेर मन्त्रालयका जिम्मेवार पदाधिकारीबाटै नै सुनियो । त्यसले पनि मनमा खुसी बढायो ।
पछिल्लो समयमा सरुवाका कारणले केही असहजता उत्पन्न भयो । नयाँ सरुवा भएर आउने साथीहरूसँग निरन्तर समन्वय गरिरहेको अवस्था थियो ।
सचिव ज्यू र मन्त्री ज्यूसँग कुरा भइरहेकै थियो । दुई संस्था बीचमा द्वन्द हुन नदिई सहज र समन्वयात्मक वातावरण सिर्जना गर्ने कर्तव्य नै मानेर सो अनुसार प्रयास भइरहेको थियो । लगभग परिस्थित समान्य भइसकेको थियो । चिकित्सा शिक्षा आयोग विषम परिस्थितिमा जन्मेको केही भिन्न प्रकृतिको कार्यालय हो भन्ने कुरा हामीले पटक-पटक स्टाफ बैठकमा पनि कुरा गरिरहेका थियौँ ।
सँगै काम गरिरहेका केही साथीहरुले एक पटक पनि केही कुरा नगरी किन त्यसरी आक्रामक व्यवहार देखाउनु भयो मैले बुझ्न सकेको छैन् । जीवन भनेको के नै हो र ? 'केबलम् बोधम' हो अर्थात जान्नुबाहेक यो दुनियाँमा अरू केही छैन । सायद बोधका लागि थप विमर्श आवश्यक पर्ला ।
बोध कै कुरा गर्दा आयोगका विषयवस्तुलाई राम्रैसँग छिचलिएको अनुभूति हुन्छ । तथापी परीक्षा सम्बन्धी विषयमा निखार आइसकेको छैन । हाम्रा गुणस्तर मापनका आधार पनि बलिया छैनन् ।
प्रज्ञिक र प्राविधिक रुपमा अपेक्षित स्तरका छैनन् भन्ने पूर्वअनुभवले सिकाएको थियो । संस्थाको गुणस्तर मापन र वर्गीकरणका सम्बन्धमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा रहँदा धेरै विमर्श गरियो ।
फिन्ल्याण्ड र कोरियाका जीवन्त अनुभव कार्यथलोमै गएर अनुभव गरिएको थियो । गुणस्तर मापन गर्ने शाश्वत मापदण्ड हुँदैन । तथापी निखारिएका साधन र सूचाङ्कले बढीभन्दा बढी विश्वासनीय बनाउने गरिन्छ । शिक्षण संस्थाका सञ्चालक र व्यवस्थापकले विश्वास गरेरे सुधार गर्ने अवसरको रुपमा उपयोग गर्ने गरेको पाइन्छ । यो विषयलाई गहिराइमा पुर्याउन खोज्दा पनि सहजता महसुस भएन।
सामग्रीहरु गुणस्तरीय बनाउन अझै धेरै कोसिस गर्नुपर्ने हुन्छ । कतिपय कार्यविधिमा मूल विषय नै परिभाषित गरेका छैनौँ । शीर्षकका मूलभूत विषय परिभाषित गर्ने समान्य सिद्धान्त हो । त्यो पूरा हुन सकेको छैन् ।
यी विषयलाई उठान गर्न स्वभाविक लाग्यो । गरियो । तर यो आदतले केही साथीहरुलाई असहज भएछ । त्यो कुरा अहिले थाहा हुँदैछ । असहज हुनुको कारण भने जानकारी हुन सकेको छैन् ।
समाग्री र परिस्थिति पढ्ने मात्र होइन । आधा दर्जन जति लेखहरु मार्फत आत्मानुभूति सार्वजनिक भएछन् । ती लेखहरु अपेक्षा गरेभन्दा बढी पाठकले जानकारीमा लिएको विषयले निकै आनन्द दिँदो रहेछ ।
विषयवस्तु खुट्याउने एकोहोरो र एकलकाटे स्वभाव कर्मचारीतन्त्रको चरित्र होइन् । संस्थाको हितबाहेक मेरो व्यक्तिगत हितका लागि केही गरे जस्तो लाग्दैन् । मेरो ब्रम्हले त्यही भनेको छ ।
संगठनात्क संस्कृति यस्तै हो भन्ने त लाग्छ तर तलका विषयवस्तुले मन छुन्छ ।
कार्यलायका भित्री सूचना र जानकारी बाहिर गए । भित्रकै मन्छेले तयार गरेजस्तो गरी सञ्चार जगतमा आयोगका गतिविधि सार्जनिक भयो जुन हुनु हुने थिएन । यस्ता कुरा आए आइरहेका छन्।
असहज परिस्थिति सिर्जना भएको शुरुका दिनमा युरिक एसिडका कारण आराम गर्नुपर्ने अवस्था आयो । २ दिन घरमा आराम गर्नुको विकल्प भएन । 'बिमारी भएको होइन बिमारी भएको भिनिएको हो' भनी मन्त्रालयमा जानकारी गराइएछ । तेस्रो दिन बिरामी भएको अवस्था प्रमाणित गर्न जिम्मेवार पदाधिकारीलाई सुनिएको गोलीगाँठो देखाउनु पर्यो।
आयोग आएको केही दिनमा एकजना कम्प्यूटर अपरेटर राख्ने कुरा आयो, राखियो । सो पद खाली भयो । त्यही प्रक्रियाले अर्को मन्छे राख्ने कुरामा पुरानो नमिल्ने निर्णय खोजेर प्रस्तुत भयो । यसले हाम्रो स्तर र नियत स्पस्ट भयो ।
यस्ता विषय जागिरे जिन्दगीमा मात्र होइन, जीवन भरका अविस्परणीय घटनाका रुपमा दर्ज हुने रहेछ।
ब्रम्ह बोल्छ संस्थाको उद्देश्यका लागि कर्ममा विश्वस गर्दा शत्रु कमाए जस्तो भयो । इमान्दारिता र निश्पक्षतालाई हाम्रो कार्य वातावरणमा असक्षमताको रुपमा लिइन्छ । चतुर हुनुपर्छ, बाठो हुनुपर्छ, त्यसबाट आँफू र अरुलाई व्यक्तिगत फाइदा प्राप्त गर्न सक्नुपर्छ त्यो नै सक्षमताको कसी हो भन्ने प्रवृित्त हाबी छ । काम प्रतिको भक्ति र अध्यनसिलताका कारणले दुख पाइयो कि भन्ने पनि लाग्छ कहिले कहीँ ।
अन्तरआत्मा र ब्रम्हले देखेको कुरामा डराउनु, लुकाउन केही छैन् । नेश्नल बोर्ड र परीक्षाका निर्देशक ज्यूहरुको हरूको, लगनशिलता र समर्पणप्रति अत्यन्त प्रभावित छु ।
मापदण्डका निर्देशकको सूचना तथा जानकारीमा दख्लता, विषयवस्तुमा बिमतिप्रति समूहमा प्रस्तुत गर्ने आदत र समूहको बुझाइमा सहमति हुने स्वभाव मन परेकै छ ।
योजनाका निर्देशकको सालिन र समन्वयकारी स्वभाव तथा विवेकशील अभिभाकत्वको प्रसंशा गर्न मन लागेकै छ । उपाध्यक्ष ज्यूको विषयवस्तुप्रतिको बोध र चट्टानी अडान आयोगका लागि उपयोगी हुन्छ भन्ने कुरामा विश्वास छ ।
जुन संस्थामा काम गरिन्छ, त्यो संस्थाबाट नबाहिरिदासम्म त्यसैको हितका लागि लाग्नु हाम्रो मूल कर्तव्य हो । त्यसबाट विचलन हुनु जरुरी छैन् भन्ने कुरालाई ब्रम्हले निर्देश गरिरहेको छ ।
खुसीको कुरा नयाँ स्थापित आयोगले छोटो समयमा निकै धेरै काम गरिसकेको छ । धमिलोमा माछा मार्ने र आत्मारतिमा रमाउनेहरुलाई सकस पारिसकेको छ ।
संगठनको उद्देश्यलाई केन्द्रमा राखी विमर्श गरौँ । सामान्य बुझाइले पास होइन्छ तर प्राज्ञता प्राप्त हुँदैन । यसका लागि शुक्ष्मता र गहिराइ चाहिन्छ अनि मात्र आत्मविश्वास आउँछ । ब्रम्हज्ञान कसैले उपदेश दिएर प्राप्त हुने होइन । पौरख, अभ्यास र अनुभव नगरी आत्माज्ञान प्राप्त हुँदैन । सम्बन्धित विषयमा विमर्श नभएर कसरी गहिराइमा पुगिन्छ ? आत्मरति र सीमित सूचनाका आधारमा धारणा बनाउदा सतही भइन्छ ।सधैँ सगैँ काम गर्ने बीचमा विमर्श हुन नसक्नु हाम्रा कमजोरी होलान् तर त्यसबाट भाग्न कदापी हुँदैन ।
यस्ता नियमनकारी निकायमा काम गर्दा व्यवसायिक तथा व्यक्तिगत जीवनमा अप्ठ्यारो पर्ने अवस्था आउने रहेछ । यसले जीवनमा शत्रु र मित्र चिन्ने अवसर दिँदोरहेछ ।
कसैको प्रिय होइएला वा कसैको अप्रिय भइएला भन्ने कुरामा वास्ता गर्न नहुने रहेछ।
जसले अर्काको बद्ख्वाइँ गर्छ, कटाक्ष गर्छ, कुनैदिन ऊ आँफै पछुताउछ । वेथितीको गर्भबाट जन्मिएको आयोगमा काम गर्दाका यी र यस्ता असहज अनुभूतिहरुलाई सहज रुपमा लिन सक्नु नै संगठनको उद्देश्योन्मुख हुनु हो भन्ने बुझाइअनुसार काम गरिँदैछ।
अहिले नेपाली जनमानसमा लोकसेवा आयोगप्रति जुन भरोसा र विश्वास छ त्यस्तै भरोसा र विश्वास चिकित्सा शिक्षा आयोग प्रति पनि गर्न पाउने छन् भन्ने विश्वास छ।
तपाईँको अभिमत