बिरामीसँग सरोकार नै नभएका व्यक्तिले स्वास्थ्यकर्मीको घाँटी निचोरे
कञ्चनपुरको बेलौरीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्र गैरेमाथि मंगलबार हातपात भएको हो ।
बिरामीको उपचारमा खटिइरहेका बेला मंगलबार राति १२ बजेतिर गैरैमाथि हातपात भएको बेलौरी नगरपालिका स्वास्थ्य शाखा संयोजक जयसिंह बोहराले जानकारी दिनुभयो ।
उक्त स्वास्थ्य केन्द्रका एक स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै बोहराले दिनुभएको जानकारी अनुसार बिरामीलाई टाँका लगाउने धागोको निहुँमा हातपात भएको थियो ।
मंगलबार साढे ११ बजेतिर बेलौरी नगरपालिका–५ का शंखु चौधरीलाई उपचारका लागि स्वास्थ्य केन्द्र ल्याइएको थियो । चौधरीको अनुहारमा चोट भएकाले टाँका लागाउनुपर्ने थियो ।
अनुहारमा टाँका लगाउँदा मसिनो खालको धागो चाहिने भएकाले सो धागो स्वास्थ्य केन्द्रमा नभएको अहेब गैरेले बिरामीका आफन्तलाई बताउनुभयो ।
गैरेले आफैँ पैसा दिएर त्यो धागो किनेर ल्याउन पठाउनुभएको थियो । बिरामीसँग कुनै सरोकार नै नभएका बेलौरी नगरपालिका–२ निवासी रामु सिंह खड्का भन्ने व्यक्तिले त्यति धागो पनि नहुने भन्दै गैरेमाथि हातपात गरेका हुन्।
स्वास्थ्यकर्मीमाथि कुटपिट भएको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा फैलिइरहेको छ ।
सुरुमा त्यो भिडियो श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखले फेसबुकमा राखेको नगरका स्वास्थ्य शाखा संयोजक बोहोराले जानकारी दिनुभयो ।
भिडियोमा खड्काले अहेब गैरेको घाँटी निचोर्दै दुर्व्यवहार गरेको देखिन्छ । पञ्जा लगाएर बिरामीको घाउँ सफा गरिरहेका गैरेलाई कुटपिट गरेको बोहराले बताउनुभयो।
बोहोराका अनुसार गैरेमाथि हातपात गर्ने खड्का कुनै कामबिना स्वास्थ्य केन्द्र आएका थिए । ठेक्कापट्टा पेशा गर्ने उनी अन्य ठाउँमा पनि गुण्डागर्दी शैलीमा प्रस्तुत हुने गर्छन् ।
पीडित स्वास्थ्यकर्मी गैरेले खड्काविरुद्ध बुधबार बिहान इलाका प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत