फिजियोथेरापी परामर्श शुल्क ४०० देखि ६०० सम्म, फिजियोथेरापिष्टको तलब १८ हजारदेखि ५५ हजारसम्म
काठमाडौं । फिजियोथेरापीष्टहरुले सेवाहरुको न्यूनतम सेवा शुल्क र परामर्श शुल्कका साथै न्यूनतम मासिक तलब निर्धारण गरेका छन् । फिजियोथेरापीष्टहरुको राष्टिय संस्था नेपाल फिजियोथेरापी संघले हालसम्म सरकारले फिजियोथेरापीष्टहरुको मासिक तलब र सेवा शुल्क सम्बन्धमा कुनै निर्णय नगरेकाले आफूहरुले सेवा शुल्क निर्धारण गर्न परेको जनाएको छ ।
संघले निर्धारण गरेको शुल्क आगामि वर्ष २०७८ देखि लागू हुने जनाएको छ । स्वास्थ्य मन्त्रालयले शुल्कका सम्बन्धमा निर्णय नगरुञ्जेल फिजियोथेरापीष्टहरुको मासिक तलब, सेवा शुल्क संघले कायम गरेअनुसारकै हुने जनाइएको छ ।
संघका अनुसार न्यूनतम सेवा शुल्क तथा न्यूनतम मासिक तलब फिजियोथेरापीष्टहरुको योग्यता र अनुभवको आधारमा निर्धारण गर्ने तथा तलब निर्धारण गर्दा दैनिक ७ घण्टाको कार्यालय समय मानिनेछ ।
त्यस्तै बिरामीको उपचारमा लाग्ने समय र फिजियोथेरापीष्टको सक्रियताको आधारमा न्यूनतम सेवा शुल्क निर्धारण गर्ने र फिजियोथेरापीष्टहरुले विशेष सीप अथवा प्रविधिको प्रयोग वापत शुल्क लिन पाउने संघले जनाएको छ ।
प्रविणता प्रमाणपत्र तह उत्तीर्ण फिजियोथेरापीष्टहरुको पाँच वर्ष अनुभव भएमा १८ हजार देखि २५ हजारसम्म मासिक तलब हुनेछ भने स्नातक तह सहित पाँच वर्ष अनुभव रहेकालाई ३० देखि ४० हजार, स्नातकोतर तह र पाँच वर्ष अनुभव भएकालाई ४० देखि ५५ हजारसम्मको मासिक तलब पाउनेछन् ।
परामर्श शुल्कको हकमा भने स्नातक तह सहित पाँच वर्ष अनुभव भएकाल ४–५ सय र स्नातकोत्तर सहित पाँच वर्ष अनुभव भएकाले ५–६ सय रुपैंया लिन पाउनेछन्।
न्यूनतम सेवा शुल्कको हकमा छोटो सत्र उपचारको समय भए ३ सय र लामो सत्र भए ५ सय तिर्नुपर्नेछ । बिरामीको घरमै पुगेर सेवा दिने फिजियोथेरापिष्टहरुले न्यूनतम एक हजार रुपैंया पाउने संघले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत