काठमाडौँ महानगरले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गर्दै
काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएको छ । सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक पंकज रायले निर्माण तथा उपकरण जडानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार महानगरले २०८२ जेठ मसान्तभित्र अस्पतालमा अपरेसन थियटर निर्माण तथा उपकरण जडान गरिसक्नपर्नेछ ।
आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सरल, सहज, पारदर्शी र पहुँच योग्य बनाउन आन्तरिक क्षमतासँगै अन्य सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन सहकार्य गरिएको महानगरले जनाएको छ ।
अपरेसन थियटर निर्माण तथा उपकरण जडानमा ५ करोड ५० लाख रुपैयाँभन्दा धेरै लागत आएमा त्यसको दायित्व अस्पतालकै हुनेछ । लागत र ड्रइङ् डिजाइनका आधारमा खुला बोलपत्र आव्हान गर्ने, मूल्यांकन गर्ने, निर्माण पक्ष छनोट गर्ने र निर्माण कार्य गराउने दायित्व अस्पतालको हुनेछ ।
चालु आर्थिक वर्षमा कान्ति बाल अस्पतालसँगको सहकार्यका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरबासीलाई सरल पहुँचमा स्वास्थ्य सेवा विस्तारसँगै समय समयमा आउने विश्वव्यापी महामारीका जोखिमको प्रतिकार्य, रोकथाम र पुनःस्थापनाका लागि समन्वयात्मक काम गर्नु सम्झौताको उद्देश्य रहेको महानगरले जनाएको छ ।
महानगरपालिकाले प्रगतिका आधारमा बढीमा ३ किस्तामा सम्झौताबमोजिमको रकम उपलब्ध गराउनेछ । यसरी रकम उपलब्ध गराउँदा नेपाल सरकार वा अन्य निकायबाट प्राप्त रकमसँगा दोहोरो नहुने सुनिश्चित गर्नेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण हुने संरचनाको अनुगमन गर्नेछ ।
हेल्थपाटी
तपाईँको अभिमत