गिभिना काण्ड : नानको प्रष्टोक्ति,‘नर्सिङ पेशाप्रति अश्लील गाली गलौज गर्ने छुट कसैलाई छैन’

पत्रकार सम्मेलनमा संघकी अध्यक्ष मन राई
नेपाल नर्सिङ संघ (नान)ले नर्सिङ पेसामा आँच आउने कुनै पनि कार्य नगर्न सबैलाई आग्रह गरेको छ ।
वि.पि. मेमोरियल क्यान्सर अस्पताल भरतपुरको आकस्मिक कक्षमा भएको नर्स र बिरामीको विषयलाई लिएर सामाजिक सञ्जालमा गाली गलौज तथा अश्लील शव्दहरु प्रयोग भएकोप्रति आपत्ति जनाउदै संघले नर्सको आत्मसम्मानमा चोट पुर्याउने काम गर्न कसैलाई पनि छुट नरहेको स्पष्ट पारेको छ ।
आफुलाई सामाजिक अभियन्ता भनेर चिनाउने गिभिना मगरले गत २८ गते वि.पि मेमोरियल क्यान्सर अस्पतालमा प्रशासनको अनुमति नलिई नर्स र विरामीको कुरुवाबीचकाे संवादकाे विषयमा भिडियो खिचि टिकटक मार्फत समाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।
सो भिडियो १६ वर्षकी क्यान्सरकी बिरामी बालिकालाई औषधि दिएको विषयमा थियो । बालिका एक वर्षदेखि अस्पतालमा उपचाररत हुनुन्छ । आर्थिक अवस्था कमजोर रहेकी बालिकाको उपचारमा त्यहाँ कार्यरत नर्सहरुले औषधि खरिद लगायतमा सहयोग गर्दै आएका छन् ।
उक्त भिडियोमा नर्सिङ पेशाप्रति अश्लिल गाली गलौज गरी समाजमा नकरात्मक असर पुर्याउने किसिमका कमेन्टहरु आइरहेका छन् ।
संघले आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा संघकी अध्यक्ष मन राइले वास्तविकता नबुझी सतही रुपमा प्रतिक्रिया व्यक्त गर्ने प्रवृतिका कारण समाजमा नर्सिङ पेशाप्रति घृणा द्वेष फैलाउने वातारण सृजना भइरहेको भन्दै उक्त कार्यकाे आपत्ति जनाउनुभयो ।
उहाँले घट्नाको सत्य तथ्य नबुझी एकपक्षिय ढंगवाट नर्सिङ पेशाप्रति अपमानजनक शब्दहरु प्रयोग गर्दै गाली गलौज गरीएकाे र यसले नर्सहरुको आत्म सम्मानमा चोट पुगेकाे बताउनुभयाे । उहाँले अबका दिनमा यस्ता गतिविधि दोहोरिए देशभरका नर्स चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
उहाँले कोभिड, भुकम्प लगायत प्राकृतिक विपद्मा नर्सहरु अहोरात्र खटिएको स्मरण गराउँदै नर्स सधै सेवा भावमा लागिरहने बताउनुभयो ।
गिभिनाले Givina-18 विभिन्न लगायत विभिन् नामवाट सामाजिक संजाल प्रयोग गरी आफ्ना फलोअर्स, भ्युज बढाउने नाममा गरिएका गतिविधिका कारण नर्सिङ पेशा प्रति प्रतिवद्ध भई निरन्तर सेवा पर्याउदै आएका नर्सहरुको मनोबल गिरेको र यसले नर्सहरुको कार्य क्षमतामा ह्रास आएको पनि उहाँले बताउनुभयो ।
गिभिनाले घटनाप्रति माफी मागिसके पनि उहाँका फलोअर्सहरुले अस्पतालमा भीड जम्मा गरेर क्यान्सरजस्तो संवेदनशील विरामीलाई प्रयोग गर्दै भिडियो बनाउँदै समाजिक सञ्जालमा पोष्ट गर्ने काम नरोकिएको उहाँले बताउनुभयो ।
असम्बन्धित व्यक्तिगत कुरालाई समेत जाेडेर नर्सिङ पेशा प्रति अश्लिल गाली गलौज गरी नकरात्मक असर फैलाउन खोज्ने सामाजिक प्रयोगकर्तालाई साइवरकाईम अन्तर्गत कडा भन्दा कडा कारवाही गरी नर्सिङ पेशाको गरिमा र मर्यादालाई कायम राख्न अध्यक्ष राईले सरकारसँग माग गर्नुभयो ।
भविष्यमा यस्ता घट्नाको पुनरावृत्ति हुन नदिन स्वास्थ्य नीतिमा अवलम्वन गरीएको नर्सको दरवन्दीमा यथाशिघ्र पदपुर्ती गर्न र नर्सकाे सुरक्षाको प्रत्याभुति दिलाउन पनि उहाँले माग गर्नुभयो ।
साथै संघकी पूर्व अध्यक्ष प्रमिला देवान राईले उक्त भिडियोमा आइरहेका कमेन्टहरुले सम्पूर्ण नर्सलाई लज्जाबोध हुने काम गरेको बताउनुभयो ।
डाक्टरले औषधि प्रिस्क्राइव गर्दा ४ वटा टर्मिनोलोजी प्रयोग गर्ने भन्दै उहाँले प्राविधिक विषय बुझेर मात्र वहस गर्नपर्ने स्पष्ट पानुर्भयो ।
स्टार्ट, क्यूवाइडी, एसओएस, टिडिएस भन्ने टर्मिनोलोजी प्रयोग हुने उहाँले बताउनभयो । उहाँका अनुसार औषधि प्रयोग गर्दा स्टार्ट भनेको औषधि सुरु गर्ने र अर्काे मात्रा २४ घण्टा भित्र प्रयोग गर्न पर्छ । यसैगरी क्यूवाइडी भन्नाले दिनमा ४ पटक , एसओएस भनेको आवश्यकता अनुसार र टीडिएस भन्नाले दिनको ३ पटक प्रयोग गर्ने भन्ने बुझ्नपर्छ ।
भरतपुरमा भएको घटनामा बिरामीलाई स्टार्टको औषधि प्रयोगमा विवाद भएको थियो । दिउँसो ४ बजे औषधि प्रयोग गरेर दिउँसो २ बजे दिएको भनी हस्ताक्षर गरेको भन्दै विवाद भएको थियो । तर, फर्ममा औषधि दिने अवधिलाई आधार मानेर हस्ताक्षर गर्नपर्ने व्यवस्था रहेको नर्सहरु बताउँछन् ।
गिभिनाको कार्यप्रति विरोध जनाउँदै हिजोदेखि नर्सहरुले माइतघिर मण्डलामा प्रदर्शन गरिरहेका छन् । विद्युतीय अपराधमा कारबाहीको माग गर्दै संघको चिवन शाखाले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत