अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाखसहित सम्मान

फाइल तस्विर
नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० जना महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाखसहित सम्मान गरेको छ ।
६० वर्ष उमेर पूरा भएका ३० स्वयंसेविकालाई तोकिएको अवधिसम्म सेवा पुर्याएको भन्दै नगदसहित सम्मान गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । गत असार ९ को कार्यपालिका बैठकले प्रस्ताव गरेअनुसार असार १० मा सम्पन्न नगरसभामा पारित गराई यसअघि खाली हात बिदाइ हुँदै आएका स्वयंसेविकालाई रु एक लाख उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
नगरपालिकाले बनाएको कानुनअनुसार १० वर्षदेखि १५ वर्ष सेवा गरेबापत ५० हजार, १५ वर्षदेखि २० वर्षसम्म सेवा गरेबापत ७५ हजार र २० वर्षभन्दा बढी सेवा पुर्याएबापत एक लाख रुपैयाँ दिइने उल्लेख छ ।
सरकारले सञ्चालन गर्दै आइरहेको स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थय स्वयमसेविकाको भूमिका उल्लेख्य रहँदै आएको छ । स्वास्थ्य स्वयंसेविकाले काम गरेको दिन न्यूनतम पारिश्रमिक मात्रै पाउने गरेका छन् । अवकासको समयमा स्वास्थ्य स्वयंसेविकाले सङ्घीय सरकारबाट २० हजार र प्रदेश सरकारबाट पाँच हजार रुपैयाँ मात्रै पाउदै आएका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत