अनावश्यक शिलान्यास, उद्घाटन जस्ता भीडले कोरोनाको दोस्रो लहर फैलियो : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले विगतको सरकारको कोरोना महामारी नियन्त्रणका लागि समयमै पूर्व तयारी नगर्दा कोरोनाबाट ठूलो मानविय क्षति पुगेको बताउनुभएको छ ।
अर्थमन्त्री शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गर्ने क्रममा विगतको अवस्थाको स्मरण गर्दै यस्तो बताउनुभएको हो ।
विगतको सरकारले कोभिड- १९ महामारीको प्रारम्भमा विज्ञहरूका सल्लाह र सुझाव विपरित सामान्य रूघाखोकीको रूपमा महामारीलाई परिभाषित गर्ने जस्ता कार्यले यसको नियन्त्रणमा थप जटिलता पैदा गरेको उहाँको दाबी छ ।
‘छिमेकी देशहरूमा देखिएको असर र प्रभावको सुक्ष्म विश्लेषण गरी स्वास्थ्य पूर्वाधारको निर्माण, परीक्षणको दायरा विस्तार, उपचारको उचित प्रबन्ध, पर्याप्त होल्डिङ्ग सेण्टरको निर्माण, क्वारेण्टिन, आइसोलेशन सेन्टर, आइसीयू तथा एच। डि। यू। बेडको थप व्यवस्था, भेण्टिलेटर, अक्सिजनको अभाव जस्ता पक्षमा गम्भीरतापूर्वक ध्यान दिई समयमै पूर्वतयारी गर्न सकेको भए यति ठूलो मानवीय क्षति हुने थिएन, ’ श्वेतपत्र जारी गर्दै उहाँले भन्नुभयो ।
कोभिड- १९ महामारीको उत्कर्ष र यसले सिर्जना गरेको आर्थिक चुनौतीका बीच यो सरकारको कार्य प्रारम्भ भएको उल्लेख गर्दै उहाँले सरकारको पहिलो कर्तब्य नै सबै नेपालीलाई कोभिड - १९ विरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराई जनस्वास्थ्यको रक्षा गर्नु र थप राहत र पुनर्स्थापनाका कार्यक्रम एवं नीतिगत सुधारको माध्यमबाट अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्नु रहेको स्पष्ट पार्नुभयो ।
उहाँले स्वास्थ्य मापदण्डको कडाईकासाथ पालना र जनचेतना अभिवृद्धि जस्ता सामान्य विषयमा ध्यान नपुर्याई राजनीतिक स्तरबाट नै अनावश्यक रुपमा गरिएका शिलान्यास, उद्घाटन, सभा, प्रदर्शन जस्ता भीडभाडजन्य गतिविधिले कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलन सहयोग पुर्याएको ठहर गर्नुभयो।
२०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी उहाँले दिनुभयो । खोप लगाउन बाँकी व्यक्तिहरुलाई यथासमयमै खोप प्रदान गरी जनजीवनको रक्षा एवम् अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी सरकार सामु रहेको उहाँले बताउनुभयो । हालसम्म करिब १ करोड मात्रा खोप नेपाल भित्रिएको पनि उहाँले बताउनुभयो।
आर्थिक-जानकारी-पत्र-MInister-Copy
हेल्थपाटी
तपाईँको अभिमत