कर्णालीमा रमाइरहेको डाक्टर जोडी : रोबिन बिरामी बेहोस् बनाउने, सुबी अप्रेसन गर्ने
डा.सुबी बस्न्यात बज्राचार्य काठमाडौंकी रैथाने अनि डा.रोबिन खापुङ पूर्व तेह्रथुमको । सुबी र रोबिनको पढाइ, पेशा र कार्यस्थल एउटै छ ।विगत १८ वर्षदेखि यो जोडी एकसाथ अघि बढिरहेको छ ।
अहिले यो डाक्टर दम्पती कर्णालीको जुम्लामा डटिरहेको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना वर्ष(२०६८)देखि नै कर्णालीलाई कर्मथलो बनाउनुभएका सुबी र रोबिनलाई सुरुमा प्रतिष्ठानको हविगतले तर्सायो।
त्यसअघि सुविधासम्पन्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अभ्यस्त रहनुभएका उहाँहरू कर्णालीको अपरेशन थियटर देख्दा छक्क पर्नुभयो। अपरेशनका लागि न कोठा उपयुक्त थियो न आवश्यक मेसिन न जनशक्ति ।
डाक्टरै डाक्टरको भीडमा काम गरेको अनुभव थियो। त्यहाँ जम्मा ६ जना डाक्टरसँग काम गर्नुपर्ने भयो । कर्णालीमा त्यतिबेला एनेष्थेसियोलोजिष्ट थिएनन् ।
अत्यन्तै न्यून जनशक्तिले प्रतिष्ठानलाई अघि बढाउनुथियो। बामेसार्दै दौडनु थियो अनि धेरैभन्दा धेरै कर्णालीबासीको उपचार गर्नुथियो । जनशक्ति र पूर्वाधारको समस्या रहेको प्रतिष्ठानमा अर्थाेको सर्जरी भने सुरुदेखि नै थियो ।
छोरीलाई अपरेशन थियटर कोठाको ढोकाको अगाडि कुर्सीमा सुताएर अपरेशन थालियो । सर्जरी सकिनै लाग्दा बिरामीको मुटुको धड्कन बन्द भयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुबी र रोबिनले काम गर्न थालेको ८ वर्ष नाघिसकेको छ । सुबी स्त्रीरोग विशेषज्ञ र डा.रोबिन एनेष्थेसियोलोजिष्ट हुनुन्छ । अपरेशनमा एनेष्थेसियोलोजिष्ट नभई हुँदैन । हालसम्म सुबीले गर्नुभएका अधिकांश अपरेशनमा डाक्टर रोबिनले नै बिरामीलाई बेहोस पार्नुभएको छ । सुबीले करिब ५ सय जना महिलाको अपरेशन गरिसक्नुभएको छ । दुबैलाई आफ्नो पेशाप्रति गर्व छ।
ड्युटीका कठिन पल
करियर सुरु गरिरहेको बेलाको एउटा घटनाले सुबी दम्पतीलाई अहिले पनि कहाली लाग्छ । कुरा २०७५ सालको हो । सुबी र रोबिन भर्खरै कर्णाली प्रतिष्ठानमा भिज्दै हुनुहुन्थ्यो । ४० वर्षकी एक गर्भवतीलाई ल्याइयो ।
उहाँ ९ महिनाको गर्भवती हुनुन्थ्यो। बेथा लागेर पाठेघरको सबै घर खुलिसक्दा पनि बच्चा जन्माउन नसकेपछि ती महिलालाई कालिकोबाट रिफर गरिएको थियो । कच्ची बाटो, गाडी नचल्ले अवस्थाका कारण बिरामीलााई प्रतिष्ठान ल्याउन १० घण्टा लागेको थियो।
अस्पताल ल्याइ पुर्याउँदा ती महिलाको पाठेघर फुट्नुका साथै पिसाबथैली पनि च्यातिसकेको थियो। गर्भमै बच्चाको मृत्यु भइसकेको थियो ।अत्याधिक रक्तश्राव भएको थियो । यो अवस्थामा आमालाई जोगाउन मुस्किल पर्छ । सुबीसहितको टिमले महिलाको ज्यान गर्भाशय फालिदियो, च्यात्तेको पिसाबथैली सिलायो र आमालाई जोेगाउन सफल भयो ।
३ वर्ष अगाडिको कुरा हो । २६ वर्षकी महिलालाई रातको समयमा इर्मजेन्सीमा ल्याइयो । ९ महिने गर्भवती ती महिलालाई उच्चरक्तचापले गाह्रो बनाएको थियो ।
उनको तुरुन्तै अपरेशन गर्नुपर्ने देखियो । गाइनोमा सुबी र एनेष्थेसियामा रोबिन मात्रै हुनुन्थ्यो । बिरामीको उपचार त गर्नैपर्यो।
सुबी र रबीनकी १९ महिनाकी छोरी साथमै थिइन् । छोरीलाई एक्लै छाड्ने कुरा पनि भएन । ठूलो आपत् पर्यो सुबी दम्पतीलाई । छोरीको व्यवस्थापन कसरी गर्ने ? मामाघरमा बस्दै आएकी छोरीलाई केहीदिनका लागि मात्रै कर्णाली लगिएको थियो ।
छोरीलाई अपरेशन थियटर ढोकाको अगाडि कुर्सीमा सुताएर अपरेशनको तयारी थालियोे । सर्जरी राम्ररी चलिरहेको थियो । सर्जरी सकिनै लागेको थियो बिरामीको मुटुको धड्कन बन्द भयो । राेबीनले हत्तपत्त मुटु चलाउन औषधि दिनुभयो र विस्तारै बिरामी ठिक अवस्थामा फर्किए । बिरामीले पुर्नजन्म पाए । गर्भमा रहेको बच्चा पनि बाँच्यो ।
भीरपाखामा नहिड्नुभएकी सुबीका लागि कर्णालीको बसाइ कष्टकर हुनु स्वभाविक थियो । उहाँ कर्णाली पुग्दा गाडी गुड्ने बाटो नै थिएन । महँगो भाडा तिरेर प्लेनबाट काठमाडौं कर्णाली ओहोरदोहोर गर्नुपर्थ्यो । जुम्लाबाट नेपालजञ्ज आएको १२ हजार लाग्थ्यो । नेपालगञ्जबाट भने बस वा प्लेन छान्न पाइन्थ्यो ।
८ वर्ष अगाडिको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रतिष्ठानको स्थापना कालमा जम्मा ५ जनामात्रै कर्मचारी थिए । कर्णालीमा स्वास्थ्यकर्मी बस्नै नमान्ने भएकाले कर्णालीबासीले आफ्नै ठाउँमा डाक्टर भेट्न वर्षदिनसम्म कुर्नुपर्थ्यो । वर्षमा २ जना डाक्टर ल्याउन गाह्रो पर्ने प्रतिष्ठानमा अहिले १०० जनाभन्दा बढी डाक्टर छन् । डाक्टर उत्पादनदेखि आइसियू र ल्योप्रोस्कोपी सर्जरीसम्मको सेवा विस्तार भइसकेको छ प्रतिष्ठानमा ।
विमानस्थलको त्यो भेट
सुबी र रोबिनको पहिलो भेट सन २००५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चीनमा डाक्टरी पढ्न जाने शिलशिलामा भएको थियो । नेपालमै पढ्ने इच्छा भएपनि यहाँको शुल्क महँगो थियो । सुबीले छात्रवृत्ति कोटामा चीनमा एमबीबीएस पढ्ने निधो गर्नुभयो ।
रोबिन पनि चीनमै एमबीबीएस् पढ्न जाँदै हुनुहुन्थ्यो । रोबिन र सुबी २०११ मा पढाइ सक्काएर नेपाल फर्कनुभयो । त्यतिबेला विदेशमा पढे पनि नेपालमै इन्टर्नसिप गर्न पाइन्थ्यो तर नेपालमा पढेका र विदेशमा पढेका विद्यार्थीमाथी हेर्ने दृष्टिकोण विभेदपूर्ण थियो । विदेशमा पढेको भनेर फरक व्यवहार हुन्थ्यो । न्याम्समार्फत थापाथलीस्थित प्रसुती अस्पतालमा इन्टर्न गर्ने अवसर सुबीले पाउनुभयो । प्रसुती अस्पतालपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसर भएर काम गर्न थाल्नुभयो । रोबिनले पनि सोही अस्पतालमा एनेस्थेसिया विभागमा काम गर्ने मौका पाउनुभयो ।
विमानस्थलको त्यो भेटले सुबी र रोबिनलाई जिन्दगीको सहयात्री बनायो । जीवन उल्लासमय बनायो ।
एनेष्थेसिया रोज्नुभएका रोबिन
एनेष्थेसिया क्रिटिकल केयर हो । बिरामीलाई बेहोस बनाउने मात्रै होइन ब्यूँताउनु पनि पर्छ । एनेष्थेसिया विषय पढ्ने विद्यार्थीहरू बिरामीसँग प्रत्यक्ष फेस गर्न नपरोस् भन्ने चाहना राख्ने गरेको रोबिन बताउनुहुन्छ । आफ्नो पनि त्यही चाहना रहेकाले एनेष्थसियोलोजिष्ट बनेको उहाँको भनाइ छ। एनेस्थेसिया नगरी कुनै सर्जरी हुँदैन । तर बिरामी र नातेदारले एनेष्थेसियोलोजिष्टलाई चिनेका हुँदैनन् ।
'नेपालमा कुनै पनि बिरामीको सर्जरी अगाडि र पछाडि एनेष्थेसियोलोजिष्टलाई बिरामी र नातेदारलाई चिनाउने अभ्यास कम छ । विदेशमा सर्जरी अगाडि एनेष्थेसियामा रहने डाक्टरलाई चिनाउनै पर्ने हुन्छ' डा. रोबिन भन्नुहुन्छ, यहाँ एनेस्थेसियोलोजिष्ट को हुनुहुन्छ भनेर सोध्ने कन्सेप्ट आइसकेको छैन।'
सुबीलाई आमाको साथ
३६ वर्षकी सुबी र ३८ वर्षका रोबिनको एक छोरी हुनुन्छ । उहाँ अहिले ५ वर्षको हुनुभयो । परिवारलाई भन्दा बढी समय बिरामीलाई दिनुपर्ने हुँदा छोरीसँग उहाँहरूको भेट विरलै हुन्छ । ६-६ महिनामा छोरी भेट्न काठमाडौं आउने गरेको सुबी सुनाउनुहुन्छ ।
आवासीय पढाइ हुँदै गर्दा छोरी जन्मिएकाले त्यतिबेलादेखि नै छोरीको हेरचाह सुबीको आमाले गर्दै आउनुभएको छ । आफ्नो पेशा र कामप्रति इमान्दार हुन र परिवारभन्दा बिरामीलाई प्राथमिकता दिनुपर्छ भन्ने आमाको सिद्धान्तलाई आफूले पछ्याइरहेको सुबी बताउनुहुन्छ।
आमाकै सहयोग र हौसलाले सुबीलाई सर्जन डाक्टर बनायो ।
तपाईँको अभिमत