के अब कक्षा १२ पछि मात्रै पीसीएल नर्सिङ पढ्न पाइने हो ?
कक्षा १२ पास भएपछि मात्रै प्रविणता प्रमाण पत्र तह(पीसीएल) नर्सिङ पढाउने विषयमा गृहकार्य थालिएको छ । भारत लगायत अन्य देशमा कक्षा १२ पढेपछि मात्रै नर्सिङ पढ्न पाइने व्यवस्था छ । नेपालमा भने एसएसली/एसईई उतीर्ण भएपछि नै नर्सिङको प्रमाण पत्र तह पढाउने गरिन्छ।
अन्तर्राष्ट्रिय प्रचलनअनुसार बनाउन नेपालमा पनि कक्षा १२ पछि मात्रै नर्सिङ पढ्ने व्यवस्था लागू गर्ने तयारी चिकित्सा शिक्षा आयोगले गरिरहेको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.अञ्जनीकुमार झाले बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा यसबारे जानकारी गराएका थिए ।
के तयारी छ ?
कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ विषय पढाइ गर्ने विषयमा गृहकार्य भइरहेको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले बताउनुभयो ।
१२ कक्षासम्मलाई विद्यालय शिक्षा मानिएकाले विद्यालय शिक्षापछि मात्रै प्राविधिक शिक्षामा आउने व्यवस्था गर्न लागिएको काप्रीको भनाइ छ ।
काप्रीका अनुसार कक्षा १२ पछि पीसीएल नर्सिङ पढाउने विषयमा कार्यविधि, मापदण्ड बनाउन गृहकार्य भइरहेको छ ।
यसबारे अध्ययन गर्न गतवर्ष नै आयोगमा कार्यदल बनेको थियो । उक्त कार्यदलले प्रतिवेदन तयार पारेर गत चैत ९ गतेको आयोगको बैठकमा पेश गरेको थियो ।
उक्त प्रतिवेदनअनुसार कार्यविधि, मापदण्ड बनाउन आयोगमा कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले यसका लागि गृहकार्य गरिरहेको सदस्य सचिव काप्रीले बताउनुभयो ।
कार्यविधि, मापदण्ड बनाएर आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) लाई दिने उहाँले जानकारी दिनुभयो ।
कसले पढाउँछ ?
कक्षा १२ पछिको पीसीएल नर्सिङ पनि सीटीइभीटीबाट सम्बन्धन लिएका कलेजले नै पढाउने छन् । अहिले एसईईपछि पढाइ हुने पीसीएल नर्सिङ कार्यक्रमलाई पनि यथावत राखिने छ । यसलाई बिस्तारै फेजआउट गर्दै लैजाने योजना बनाइएको छ ।
जुनसुकै विषयमा कक्षा १२ पास गरेकाले पनि पिसिएल नर्सिङ अध्ययनका लागि प्रवेश परीक्षा दिन पाउनेछन् ।
१२ कक्षा पास गरेपछि फेरि त्यही तह पढ्ने किन आउने त ? यस विषयमा आयोगका सदस्य सचिव काप्री भन्नुहुन्छ, 'प्राविधिक विषय भएकाले रोजगारको कुरा हुन्छ । आउँछन् नि पढ्न 'ल'(कानुन) को थाहा छ नि तपाईलाई ब्याचलर गरेपछि फेर एलएलबी पढ्छन्।'
नर्सिङको पढाइलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन १२ कक्षापछि मात्रै नर्सिङ पढ्ने व्यवस्था लागू गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । 'संसारले अपनाएको बाटोमा कुनै न कुनै दिन त जानै पर्छ नि' काप्री भन्नुहुन्छ।
यसो हुँदा एसईई सकेको भर्खर १४-१५ वर्षको व्यक्तिले नभई परिपक्क व्यक्तिले नर्सिङ पढ्ने र यसले गुणस्तर कायम हुने विश्वास गरिएको छ ।
कक्षा १२ मा विज्ञान विषयमा बायोलोजी लिएर पढेका विद्यार्थीले भने अहिलेजस्तै सिधै बीएसी नर्सिङ पढ्न पाउने छन् ।
कहिलेदेखि सुरु हुन्छ ?
अहिले कार्यविधि मापदण्ड बनाउन गृहकार्य भइरहेको आयोगका सदस्य सचिव काप्रीले बताउनुभयो । यसमा कोर्ष बनाउने लगायतका धेरै विषय रहेकाले यही समयदेखि लागू हुन्छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था नहरेको पनि उहाँको भनाइ छ ।
कक्षा १२ को नजिता आउने समय भएकाले यसै वर्षदेखि लागू गर्न सकिन्छ कि भन्ने अपेक्षा मात्रै रहेको काप्रीले जानकारी दिनुभयो । एसईईपछि सिधै पीसीएल नर्सिङ पढ्न पाउने कार्यक्रमलाई पनि कहिलेबाट फेजआउट गर्ने कुनै योजना बनेको छैन ।
तपाईँको अभिमत