'सेलेब्रिटी डाक्टर' ओममूर्ति अनिलको अभिव्यक्तिमा डाक्टरहरूको आपत्ति
वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिल विवादित अभिव्यक्ति दिएर आलोचित हुनुभएको छ। इमेज टेलिभिजनमा ५ दिनअगाडि दिएको अन्तवार्तामा बोलेको एक विषयमा डाक्टरहरुले आपत्ति जनाएका छन्।
भर्खरै ‘जीवन्त सम्बन्ध’ नामको आत्म संस्मरणात्मक पुस्तक बजारमा ल्याउनुभएका डा.अनिलसँगको उक्त अन्तर्वार्ता यसै पुस्तकमाथि केन्द्रित थियो।
एक वर्षअगाडि डा.अनिलका बुबाको निधन भएको थियो । बुबाको निधनपछि भएको पीडाले पुस्तक लेख्न प्रेरणा मिलेको उहाँले सुनाउँदै आउनुभएको छ।
टेलिभिजनको उक्त अन्तवार्तामा पनि उहाँले बुबाको अन्तिम अवस्थासम्म आफैँ बसेर उपचार गरेको सुनाउनु भएको छ।
सोही प्रसंगमा डा.अनिलले बुबालाई अन्तिम अवस्थासम्म आफैँ अगाडि बसेर उपचार गर्न पाउने आफू भाग्यमानी छोरा भएको भन्दै गर्व गर्नुभएको छ।
आफू बुबासँग भएकाले उपचारमा लापरवाही भएको भनेर सोच्न अवस्था नभएको उहाँको भनाइ छ।
‘सायद म अमेरिका गएको भए, विदेश गएको भए, अझै ठूलो नाम कमाएको भए सबै कुरा गरेको भए, यो सन्तुष्टि त मलाई हुन्थेन’ डा.अनिलले भन्नुभएको छ, ‘म जीवनभर आफूलाई कलंकित ठान्थेँ, बुबा राम्रो उपचार नपाएर मर्नुभयो कि ? त्यहाँ डाक्टरहरूले लापरवाही गरेर मारिदिए कि ? मैले सोच्न सक्थेँ नि ! तर म क्याबिनमा, आइसीयूमा १६ दिन लगातार बुबाको छेउमै बस्न पाएँ। यो सौभाग्य मैले छोराको रुपमा पाएँ।’
आफ्ना लागि ठूलो सपना बनाउनुभएका बुबालाई अन्तिम अवस्थासम्म साथ दिएर न्याय गरेको डा.अनिलले बताउनुभएको छ। आफूले बुबालाई नठगेको भन्दै उहाँ धरधरी रुनुभएको छ।
आफू साथमा नभएको भए बुबालाई डाक्टरले लापरवाही गरेर मारे कि ? उपचार राम्रो भएन कि भन्ने सोचेर जीवनभर ग्लानी हुने कुरा उहाँले गर्नुभएको छ।
बिरामी कुरावा वा आफन्त चनाखो नभए डाक्टरले लापरवाही गर्छन् र बिरामीको मृत्यु पनि हुनसक्छ, डाक्टरको उपचारलाई सधैँ शंकाको घेरामा राख्नुपर्छ भन्ने आशय डा.अनिलको यस अभिव्यक्तिमा देखिन्छ।
उपचारमा लापरवाही भएको निहुँमा देशका विभिन्न ठाउँमा चिकित्सक स्वास्थ्यकर्मीमाथि कुटपिट तथा दुर्व्यवहारका घटना भइरहेको छ।

यो बेला नाम चलेका डाक्टरले नै गलत अभिव्यक्ति दिएको भन्दै धेरै डाक्टरहरू उहाँप्रति रुष्ट बनेको देखिन्छ।
डाक्टरहरुको फेसबुक ग्रुपमा उहाँको त्यो भनाइ रहेको भिडियो सेयर गरेर प्रश्न गरिएको छ।
यसमा धेरैले डा.अनिलको अभिव्यक्तिलाई आलोचना गरेका छन्।
भिडियो सेयर गर्दै प्रसूती तथा स्त्री रोग विशेषज्ञ निता तिमल्सिना महतले भन्नुभएको छ–उहाँ विदेश नजानुको एउटा कारण..डाक्टरहरूले लापरवाही गरेर उहाँको बुबालाई मारिदिन्छन् कि भन्ने रैछ।’
यसमा प्रतिक्रिया दिँदै धेरैले भावना बगेर गलत कुरा बोलेको भन्दै डा.अनिलको आलोचना गरेका छन्।
प्रदिप शर्मा लेख्नुहुन्छ–‘उहाँ लगायतका यस्ता सेलिब्रिटी डाक्टरहरू, अरु युवा डाक्टरले पिटाइ खाँदा चुइक्क नबोल्ने, हुँदा–हुँदा लापरबाही भनेर आगोमा घिउ हाल्ने ?
infinworldnepal नामको टिकटमा हालिएको उक्त भिडियो ७ लाख २४ हजार भन्दा धेरै पटक हेरिएको छ।
टिकटकमा पनि डाक्टरको लापरवाहीबारे बोलेको कुरामा आलोचना भएको छ
डा.राजु विश्वकर्माको प्रतिक्रिया यस्तो छ–तपाईसँगै हुँदा चाहिँ लापरवाही नहुने र सँगै नहुँदा चाहिँ लापरबाही हुने भन्ने कुरा चाहिँ मलाई मन परेन डा. साबको !
डाक्टरहरुमाथि कुटपिट हुनुमा उहाँ जस्ता सेलिब्रिटी डाक्टरको पनि हात रहेको अरोप डाक्टरहरुले लगाएका छन्।
भाइरल भएँ भन्दैमा विचार नगरीकन जे पनि बोल्न नपाइने भन्दै धेरैले आलोचना गरेका छन्।
यो अन्तवार्ता प्रसारण भएकै दिन बिहान डा.ओममूर्ति अनिलले करिब ३० जना स्वास्थ्य पत्रकारहरू माझ भन्नुभएको थियो–उपचारमा जाँदा डाक्टरहरुमाथि पूर्ण विश्वास गर्नुपर्छ, उसले केही गडबड गर्ला कि भनेर बिरामीले शंका गर्नु हुँदैन। नदिनुपर्ने औषधि पो दियो कि, नगर्नुपर्ने उपचार पो गर्यो कि भनेर शंका गर्न नहुने उहाँको भनाइ थियो।
उहाँले एउटा डाक्टरको रुपमा यो भनाइ पत्रकारमाझ राख्नुभएको थियो। बिरामी बुबाको छोराको रुपमा सोच्दा चाहिँ डाक्टरले गतल उपचार गरेर मान्छे मार्न पनि सक्छ भनेर शंका पनि गर्न सकिन्छ भन्ने आशय उहाँले टेलिभिजनमा बोलेको कुराले प्रष्ट्याउँछ।
उहाँको यो भनाइमा आलोचना गर्ने एक डाक्टरलाई हेल्थपाटीले यसबारे सोध्दा बोल्न अस्वीकार गर्नुभयो। ‘उहाँ हामी भन्दा सिनियर हुनुहुन्छ। धेरै जान्ने पनि हुनुहुन्छ। उहाँजस्तो म बोल्न जान्दिन यसमा उहाँलाई भन्ने मेरो कुनै शब्द छैन’ ती डाक्टर भन्नुहुन्छ। भावनामा आएर गल्ती कुरा बोलेको होला भन्ने आफूलाई लागेको ती डाक्टरको तर्क छ।
‘देशभर यस्ता घटना भइरहेका बेलामा त्यस्तो बोल्न हुँदैनथ्यो कि ? त्यो उहाँ आफैँले जान्ने कुरा हो’ उहाँ भन्नुहुन्छ।
डाक्टरले उपचारमा लापरवाही गरेको भनेर मेडिकल काउन्सिलको विज्ञ टोलीले छानबिन गरेर मात्रै आरोप लगाउन पाइने डाक्टरहरूले भन्दै आएका छन्।
उपचार प्राविधिक कुरा भएकाले त्यो सम्बन्धि जानकारी नभएको जो कसैलाई लापरवाही भयो/भएन भन्ने अधिकार नभएको तर्क चिकित्सक, स्वास्थ्यकर्मीहरुको रहने गरेको छ।
तर आफ्ना मान्छेको केसमा त डाक्टरहरू नै पनि कतै उपचारमा लापरवाही भयो कि भनेर शंका गर्दा रहेछन् नी भन्ने बुझाइ डा.ओममूर्ति अनिलको अभिव्यक्तिले देखाउने अर्का एक डाक्टरको आरोप छ।
उहाँ आफैँ मिडिया धेरै चलाउने भएकाले मिडियामा के बोल्दा के हुन्छ भन्ने कुरामा सजग रहनुपर्ने ती डाक्टर बताउनुहुन्छ।
सामाजिक सञ्जालमा धेरै फलोअर कमाउनु भएका डा.अनिल आफूलाई मिडियाबारे पनि राम्रो जानकारी रहेको दावी गर्नुहुन्छ।
डाक्टर अनिलले उक्त अन्तर्वार्तामा आफूले ५ वटा डाक्टरले जीवनभरि पढ्ने भन्दा धेरै पढेको दावी गर्नुभएको छ।
यस कुरालाई पनि धेरैले नरुचाएको देखिन्छ। कसले कति पढ्यो ? नाप्ने आधार के छ ? भनेर धेरैले प्रश्न गरेका छन्। यस कुरामा उहाँले बढी घमण्ड देखाएको र अरू डाक्टर चाहिँ पढ्दै नपढ्ने जस्तो देखाउन खोजेको आरोप डाक्टरहरूले लगाएका छन्।
हेल्थपाटी
तपाईँको अभिमत