फाइजरको कोरोना खोपको क्लिनिकल ट्रायल सकियो, ९५ प्रतिशत प्रभावकारी
प्रयोगका लागि अनुमति लिदै
बर्लिन । अमेरिकी र जर्मन औषधी उत्पादक कम्पनीहरू फाइजर र बायाटेकले विकास गरिरहेको कोरोना भाइरसविरुद्धको खोपले ९५ प्रतिशत काम गर्ने देखिएको छ । यी कम्पनीले बुधबार सार्वजनिक गरेको तेस्रो चरणको परीक्षण नतिजाअनुसार खोपको ९५ प्रतिशत प्रभावकारीता देखिएको हो ।
केही दिनअघि मात्र तेस्रो चरणको प्रारम्भिक नतिजाअनुसार ९० प्रतिशत खोप प्रभावकारी हुने यी कम्पनीले बताएका थिए । तर केही संख्यामा प्रयोग गरिएको खोपको नतिजा भने बाँकी रहेकाले तिनको नतिजा कुर्नुपर्ने बताएका थिए ।
यो सफलतासँगै यी कम्पनीले अमेरिकी फुड एन्ड ड्रग एडमिनस्ट्रेसन (एफडीए) मा आपतकालिन प्रयोगका लागि केही दिनमै निवेदन गर्ने बताइएको छ । फाइजरका अनुसार त्यसपछि विश्वभर नै परीक्षण प्रयोगका लागि अनुमति लिएर प्रयोग गरिने छ ।
‘विनाशकारी महामारी अन्त्य गर्न मद्दत मिल्ने खोपका लागि ऐतिहासिक यी आठ महिनामा आएका अध्ययन नतिजा एक महत्वपूर्ण कदम हो’, फाइजरका प्रमुख अल्बर्ट बोउर्लाले एक भनाइ जारी गरी भन्नुभएको छ, ‘हामी विज्ञानको गतिसँगै सबै तथ्यांकहरू एकत्रित गर्न निरन्तर अगाडि बढिरहन्छौँ ।’
एफडीएले आपतकालिन प्रयोगका लागि खोपलाई अनुमति दिनुभन्दा पहिले यसको परीक्षण तथ्यांकलाई सार्वजनिक बहसमा लैजाने फाइजरले बताएको छ । सो कार्यले सम्भवतः अर्को महिना गरिने बताइएको छ ।
फाइजर र बायोटेकले यसै वर्ष ५ करोड डोज खोप उत्पादन गर्ने योजना बनाएका छन् । यदि आपतकालिन प्रयोगका लागि एफडीएले अनुमति दिएमा सबैलाई खोप दिनुभन्दा पहिले बढी जोखिममा रहेका र प्रतिरोधात्मक क्षमता कम भएकालाई खोप दिइने छ ।
फाइजर र बायोटेकले गरेको अन्तिम चरणको खोप परीक्षणमा करिब ४४ हजारले सहभागता जनाएका थिए । कम्पनीका अनुसार ४२ प्रतिशत विश्वभरका मुलुक र ३० प्रतिशत अमेरिकी सहभागी रहेका थिए ।
सहभागीहरू विभिन्न क्षेत्र, उमेर र फरक जातीय समूहका रहेका थिए । फाइजरका अनुसार ६५ वर्षभन्दा माथिका व्यक्तिमा खोप ९४ प्रतिशत प्रभावकारी देखिएको छ ।कम्पनीले बुधबार जारी गरेको भनाइअनुसार खोपको सुरक्षा र प्रभावकारीता मापनका लागि अझै दुई वर्ष परीक्षणका तथ्यांक संकलन गरिने छ ।
हेल्थपाटी
तपाईँको अभिमत