राम्रो निद्राका लागि के खाने ?
धेरै मानिसहरूले धेरै वा हेभी भोजनपछि सुतेको वेला राम्ररी निद्रा नलाग्ने वा बिहान थकान लागेको अनुभव गरेका हुन्छन्। वैज्ञानिकहरूका अनुसार, हामीले के खान्छौँ र कति बेला खान्छौँ, यसले हाम्रो निद्राको गुणस्तरमा ठूलो असर पार्छ। यसैले, राम्रो निद्राको लागि खानेकुराको चयन महत्त्वपूर्ण मानिन्छ।
कुन खानेकुराले दिन्छ राम्रो निद्रा ?
अनुसन्धानहरूले देखाएका छन् कि केही खास खानेकुराहरूले निद्रालाई सहज बनाउन मद्दत गर्छन्।
अमिलो चेरीको जुस वा कीवी फल : साना परीक्षणहरूले सुत्नुभन्दा अगाडि यी खानेकुराहरूले फाइदा गरेको देखाएका छन्।
तातो दूध : दूधमा ट्रिप्टोफ्यान नामक एमिनो एसिड हुन्छ, जसले शरीरले निद्राको हर्मोन मेलाटोनिन बनाउन मद्दत गर्छ। मेलाटोनिनले सुत्ने र उठ्ने चक्रलाई नियमित गर्छ।
मेलाटोनिनयुक्त खानेकुरा : अण्डा, माछा, नट्स, र बीउहरू जस्ता खानेकुराहरूमा प्रत्यक्ष रूपमा मेलाटोनिन हुन्छ, जसले निद्रालाई प्रवर्द्धन गर्न सक्छ।
तर एउटै खानेकुरा मात्रै किन महत्त्वपूर्ण छैन ?
विशेषज्ञहरूले भन्छन् कि राम्रो निद्राको लागि एउटै खानेकुरा वा पेयमा भर पर्नुभन्दा सम्पूर्ण दिनभरिको आहार नै बढी महत्त्वपूर्ण हुन्छ ।
न्यू योर्कस्थित पोषण विशेषज्ञ प्रोफेसर मरी पीएरे सेन्ट अङ्काअनुसार, "दिनभरि नराम्रो खानेकुरा खाने अनि सुत्नुभन्दा अगाडि चेरी जुस खाँदैमा राम्रो निद्रा लाग्छ भन्ने होइन। हामी दिनभर के खान्छौँ, त्यसले नै हाम्रो निद्राको गुणस्तर बढाउँछ।"
कस्तो आहारले गर्छ राम्रो निद्रामा सहयोग ?
अनुसन्धानहरूले यो पत्ता लगाएका छन् कि यी खानेकुराहरूले निद्रालाई सहयोग गर्छन्:
फलफूल र तरकारी : एउटा अध्ययनमा, प्रतिदिन तीनभन्दा बढी पटक फल र तरकारी खाने महिलाहरूमा अनिद्राका लक्षण आधाभन्दा बढीले कम भएको देखियो।
ट्रिप्टोफ्यान युक्त खाना : मासु, डेरी उत्पादन, नट्स, बीउ, र दालहरू जस्ता प्रोटीनयुक्त खानामा ट्रिप्टोफ्यान हुन्छ। स्पेनमा भएको एक अध्ययनले कम ट्रिप्टोफ्यान खाने मानिसहरूमा निद्रा समस्या बढी देखिएको थियो ।
फाइबरयुक्त खाना : होलग्रेन (साबुत अन्न) र दालहरू जस्ता फाइबर बढी भएको खानाले पनि निद्रामा सुधार ल्याउन देखिएको छ। फाइबरले पेटका लागि राम्रो ब्याक्टेरियाको वृद्धि गर्छ, जसले मस्तिष्कमा सकारात्मक असर पार्छ।
म्याग्नेसियमको भूमिका
म्याग्नेसियम भएको खाना (जस्तै पालुङ्गो, दालहरू, नट्स, बीउ, होलग्रेन) ले पनि निद्रामा सहयोग गर्न सक्छ। म्याग्नेसियमले तनावको हर्मोन कोर्टिसोललाई कम गर्छ र नसाहरूलाई शान्त बनाउँछ। एक अध्ययनले सुत्नु अघि म्याग्नेसियम सप्लिमेन्ट लिएका मानिसहरूको गहिरो निद्राको अवधि बढेको पत्ता लगाएको थियो।
खाने बेलाको पनि हुन्छ असर
कति बेला खान्छौँ भन्ने कुराले पनि निद्रामा ठूलो असर पार्छ। विशेषज्ञहरूको सल्लाह छ:
सुत्नुभन्दा केही घण्टा अघि नै खाना खान बन्द गर्नु : विशेष गरी उच्च क्यालोरी भएको खाना।
बिहानको खाना छिटो खानु : बिहान नखाएर वा ढिलो गरेर खानाले पनि निद्राको गुणस्तरमा असर पर्छ।
नियमित समयमा खानु : दिन र रातको खानालाई फरक फरक समयमा खानाले शरीरको आन्तरिक घडी (सर्केडियन रिदम) लाई नियमित बनाउन मद्दत गर्छ, जसले गर्दा राति राम्रो निद्रा लाग्छ।
(बीबीसीबाट)
हेल्थपाटी
तपाईँको अभिमत