छिटोछिटो खाना खाँदा स्वास्थ्यमा दीर्घकालीन समस्या !
छिटोछिटो खाना खाँदा स्वास्थ्य दीर्घकालीन समस्या हुने विज्ञहरूले बताएका छन् । ब्रजिलको यूनिभर्सिटी अफ साओ पाउलोमा कार्यरत पोषणविद् लिभिआ हासेगावाका अनुसार राम्रोसँग नचपाई खाँदा विभिन्न रोग निम्तिन सक्छ ।
छिटोछिटो खाना खाँदा अमिलो पानी आउने र ‘ग्यास्ट्राइटिस’ जस्ता पाचनसम्बन्धी समस्याहरूलाई थप बल्झाउन सक्छ।
अमिलो पानी आउने सम्भावना भएका व्यक्तिहरूले छिटोछिटो खानेकुरा खाए भने उनीहरूमा देखिने त्यस्तो लक्षण अझ बढ्ने देखिएको छ।
अर्को महत्त्वपूर्ण विषय भनेको पेटको ‘माइक्रोबायोटा’मा हुने असर पनि हो। पेटमा व्यापक मात्रामा खानेकुरा पुग्दा पेटमा हुने ब्याक्टेरियाको सन्तुलन बिग्रिने र सम्पूर्ण पाचन प्रणालीलाई नै असर पुग्ने हासेगावाको भनाइ छ ।
छिटोछिटो खानेकुरा खाँदा मोटोपन, टाइप टू मधुमेह, कलेजोमा बोसो जम्ने समस्या, मुटुरोग, उच्च रक्तचाप, केही प्रकारका क्यान्सर आदि हुनसक्छ ।
‘धेरै मात्रामा पेटमा खानेकुरा पुग्यो भने पाचन प्रक्रिया सुस्त हुन्छ र त्यसको प्रभावकारितामा कमी आउँछ’, हासेगावा भन्नुहुन्छ, ‘बिस्तारै खाँदा खाना चपाउँदा त्यसले र्यालमा पाचनक्रियाका लागि आवश्यक एन्जाइमहरू उत्पादनका लागि सहयोग गर्छ र पोषक तत्त्व सोस्ने क्रियालाई पनि सुधार गर्छ।’
यदि हामीले राम्ररी नचपाईकन खाना खायौँ भने पेटले धेरै परिश्रम गर्नुपर्छ। त्यसले गर्दा पेट फुल्ने र पचाउने क्रिया निष्क्रिय हुने सम्भावना बढ्छ।
खाना निल्नुअघि कति पटक चपाउनुपर्छ भन्ने कुनै निश्चित सूत्र भने छैन।
विज्ञहरू सङ्ख्या गन्नुको साटो खाना निल्नुअघि त्यो उपयुक्त प्रकारले गिलो भएको र निल्न सहज भएको निर्क्योल गर्नुपर्ने सुझाव दिन्छन्।
त्यसका अतिरिक्त खाना खाने बेलामा टीभी हेर्ने, फोन चलाउने वा धेरै कुराकानी गर्ने जस्ता गतिविधि गर्दै ध्यान अन्यत्र मोड्दा त्यसले नकारात्मक असर पार्न सक्छ। त्यस्ता गतिविधिले थाहै नपाई हामीले धेरै छिटो खाना खान्छौँ र त्योसँगै धेरै वायु पनि भित्र जान्छ।
त्यसले गर्दा पेट फुल्ने अवस्था बन्छ।
(बीबीसीबाट)
हेल्थपाटी
तपाईँको अभिमत