पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप आइपुग्यो
आगामी २२ माघ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि पहिलो खेप खोप आइपुगेको छ ।
‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोपको पहिलो खेप ४ लाख ६० हजार ९४० भाइल खोप आईपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो अभियानका कुल लागि १७ लाख ७० हजार २० भाइल खोप आउनेछ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् । यो खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म १५ दिन चल्ने छ ।
खोप अभियानमा १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप पाइनेछ ।
अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन हुने गौतमले बताउनुभयो ।
एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्याउँने पाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत