एचआइभी संक्रमित गर्भवतीलाई अनेक पीर, चिकित्सकबाटै विभेद

पोखराकी २४ वर्षीया सविता (नाम परिवर्तन ) एचआइभी संक्रमित छिन्। उनले १ वर्षअगाडि दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिइन् । उनकी एउटा साढे चार वर्षको छोरी छिन्।
उनले नर्मल डेलीभरीबाट छोरालाई जन्म दिएकी हुन्।। पहिलो सन्तान जन्माउँदा स्वस्थ रहेकी सविताले दोस्रो सन्तान जन्माउने बेलामा परीक्षण गर्दा आफू एचआइभी संक्रमित भएको थाहा पाइन्। आफूलाई एचआइभी संक्रमित भएको थाहा पाउँदा सविता छाँगाबाट खसेजस्तै भइन्। ९ कक्षासम्म पढेकी सविताले गरेकी सविताले जीवनमा यति ठूलो बज्रपात आइपर्ला भनेर कल्पना गरेकी थिइनन्।
रोजगारीका लागि मलेसिया गएर आएका श्रीमानबाट सवितालाई एचआइभी संक्रमण भयो। उनी सक्रमित भए पनि उनले स्वस्थ बच्चा जन्माइन् ।
गर्भवती अवस्थामा एचआइभी देखिएपछि औषधी सेवन गरे बच्चामा रोग नसर्ने जानकारी चिकित्सकले दिएका थिए। श्रीमान्–श्रीमती दुवै संक्रमित हुँदा समेत स्वस्थ बच्चा जन्मिएकोमा उनीहरू निकै खुसी छन् ।
सविताको छोरा अहिले १ वर्षको पुगेको छ। एचआइभी संक्रमित भएको कुरा सविता र उनका श्रीमानलाई बाहेक अरुलाई थाहा छैन।
कुनै दिन परिवार र समाजलाई यो कुरा थाहा भयो भने कसरी सामना गर्ने भन्ने कुराले उनीलाई पिरोल्ने गर्छन्।
‘तर जे नहुनु भइहाल्यो अहिले व्यवसाय गरेर दुवैजना हाँसी खुसी छौँ’ सविता सुनाउँछिन्।
जीवनमा जस्तो दुःख परे पनि हिम्मत् हार्न हुँदैन भन्ने कुरा उनीहरुले मनन गरिसकेका छन्।
२४ वर्षीया सबु (नाम परिवर्तन)को पनि कथा त्यस्तै छ। भारत गएर आएका उनका श्रीमानबाट सबुलाई एचआइभी संक्रमण भयो। तर सबु अहिले दोस्रो श्रीमान्सँग बस्छिन्।
उनको दोस्रो श्रीमान् भने स्वस्थ छन्। सबुलाई एचआइभी संक्रमण रहेको कुरा उनका श्रीमानलाई थाहा छ।
उनको श्रीमान् र माइतका आमाबुबाबाहेक अरुलाई थाहा यो कुराको जानकारी छैन।
सबुको ४ वर्षको छोरा छ। उनी ७ महिनाकी गर्भवती छिन्। उनले दोस्रो बच्चा गर्भमा बसिसकेपछि पहिलो श्रीमानलाई छोडेर दोस्रो विहे गरेकी हुन्।
रोग गर्भको बच्चामा नसरोस् भनेर सबुले चिकित्सकको सल्लाहमा दैनिक औषधी खाने गरेकी छिन्।
अधिकांश विवाहित महिलालाई श्रीमानबाटै एचआइभी संक्रमण हुने गर्छ। कामका लागि विदेश गएकाहरुले त्यहाँ असुरक्षित यौन सम्पर्कबाट बोकेर आउँछन् र यहाँ श्रीमतीलाई सार्ने गर्छन्।
गर्भवती भइसकेपछि परीक्षण गर्न आउँदा मात्रै यो पत्ता लाग्छ। गर्भवती हुदाँ नियमित एचआईभी परीक्षण गर्नुपर्ने नियम हुन्छ।
एचआइभी संक्रमित हुदाँ समाजको सामना गुर्नपर्ने समस्या एकातिर छ। अर्काेतिर संक्रमित महिलाबाट संक्रमित बच्चा जन्मने पिरलो रहन्छ।
संक्रमित आमाबाट बच्चामा सर्ने दर घट्दो तर अझै रोकिएको छैन।
नेपालमा एचआइभी संक्रमितको सङ्ख्या अनुमानित ३० हजार रहेको छ। हरेक दिन नेपालमा २ जना व्यक्ति एचआइभी संक्रमित हुने गरेको तथ्यांकले देखाउँछ।
गण्डकी प्रदेशमा ३ हजार ६२३ जना एचआइभी संक्रमित रहेको अनुमान छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको २०७८÷७९ को तथ्यांक अनुसार नेपालमा १४ वर्ष मुनिका एचआइभी संक्रमित बालबालिका १ हजार १८३ जना छन्। जसमा गण्डकी प्रदेशमा ११२ बालबालिका रहेका छन्।
यता स्वास्थ्य विभागको २०७७–०७८ को तथ्यांकले १ हजार १६९ जना १४ वर्ष मुनिका बालबालिका संक्रमित रहेको देखाँउछ।
त्यसैरी २०७६–२०७७ मा १ हजार २६८, २०७५–२०७६ १ हजार २९६ र २०७४–२०७५ मा १ हजार १९३ जना १४ वर्ष मुनिका बालबालिका संक्रमित तथ्यांक छ।
सन् २०२१ मा नेपालमा १४ वर्ष मुनिका ४५ नयाँ बालबालिकामा संक्रमण भएको अनुमान थियो। जबकी सन् २०१० मा २१३ बच्चामा संक्रमण भएको अनुमान थियो।
हाल यो ७९ प्रतिशतको दरले घटेको छ। संक्रमित आमाबाबुको माध्यमबाट नै बच्चामा एचआइभी सर्छ।
एचआइभीको संक्रमण थाहा हुने आमाले बेलैमा यसको उपचार गर्ने र औषधी लिने हो भने बच्चामा सर्दैन। तर कतियपय अभिभावकलाई बच्चा जन्मिसकेपछि मात्र एचआइभीबारे थाहा हुँदा बच्चालाई पनि सर्ने गरेको छ।
२०७७ पुसदेखि २०७९ असारसम्म १११ गर्भवती महिला एचआइभी पोजिटिभ रहेको पुष्टि भयो। यस्तै एन्टीरेट्रोभाइरल थेरापी (एआरटी) गराइरहेका २९२ संक्रमित महिला गर्भवती भए। जसबाट जन्मिएका २३४ बच्चाले प्रोफाइल्याक्सिस उपचार प्राप्त गरे। यसले बच्चामा भाइरसको जोखिमलाई कम गर्छ।
आमाबाट बच्चामा संक्रमण हुन नदिनका लागि सरकारले कार्यक्रम ल्याएको छ तर पनि जनचेतना नपुग्दा संक्रमण दर भने घट्न नसकेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सुचना अधिकारी लक्ष्मण बस्यौलाले बताउनुभयो।
१८ वर्ष मुनिका संक्रमित बालबालिकाका लक्षित गर्दै गण्डकी प्रदेशका सबै जिल्लामा सामाजिक संरक्षण अनुदान कार्यक्रम अन्तरगत सेभ द चिल्ड्रेन ग्लोबल फण्डको श्रोत र साझेदार संस्थाबाट मासिक १ हजार रुपैयाँ भत्ता दिइने गरेको बस्यौलाले जानकारी दिए।
चिकित्सक नै गर्छन् विभेद
एचआइभी संक्रमितलाई समाजले घृणा गर्ने त छँदैछ। स्वास्थ्य जाँचका लागि अस्पताल जाँदा चिकित्सकले गर्ने व्यवहारले झन् पीडा दिने गरेको संक्रमितको गुनासो छ।
सविताले गर्भ जाँच गराउन जाँदा चिकित्सकबाटै विभेदमा परेको गुनासो गरिन्।
चिकित्सकले अन्य महिलालाई गर्ने व्यवहार र एचआइभी संक्रमित महिलालाई गर्ने व्यवहारमा ठूलो भिन्नता रहेको उनको आरोप छ।
सबुको पनि सविताको भन्दा फरक अनुभव छैन्।
नियमित जाँच गराउन जादाँ संक्रमति भन्दा अन्य महिलालाई प्राथमिकता दिने, फलोअपमा बोलाउँदा अन्यलाई छिटो बलाइन्छ भने उनी जस्तालाई ढिलो गरी बोलाउने, चिकित्सकले वेवास्ता गर्दा आफ्नो समस्या खुलस्त राख्न नसक्ने जस्ता समस्या रहेको एचआइभी संक्रमित महिलाहरु बताउँछन्।
नाम नबताउने सर्तमा पोखराका एक चिकित्सकले एचआइभी संक्रमित महिलाको डेलीभरी गराउँदा संक्रमितसँगै चिकित्सकलाई पनि एकदमै जोखिम हुने सुनाए। ती चिकित्सकका अनुसार संक्रमित अधिकांश महिलाको शल्यक्रियाबाट सुत्केरी गराउनुपर्ने हुन्छ।
आमाबाट बच्चामा रोग सर्ने जोखिम, सुत्केरी गराउँदा जोखिम हुने भएकोले चिकित्सकले लगाउने लुगा देखि प्रयोग गर्ने हरेक सामानहरु छुट्टै हुनुपर्छ। त्यसैगरी संक्रमितलाई सुत्केरी गराएको कोठा ४८ घण्टासम्म बन्द गर्नुपर्ने हुन्छ। त्यसकारण पनि चिकित्सकले संक्रमितलाई गर्ने व्यवहार फरक हुने यसबारे जानकारहरु बताउँछन्।
समाजमा लज्जित र अपहेलित हुने डरले संक्रमितहरु रोग लुकाउन बाध्य हुने गरेको एचआइभी तथा एड्स महासंघ नेपाल, गण्डकी प्रदेशका शान्त राना बताउनुहुन्छ। यसमा शिक्षित र बुझेका भनिएकाहरुबाटै संक्रमित अपमानित र लाञ्छित हुने गरेको रानाको भनाइ छ।
सामाजिक रुपमा संक्रमित स्वतन्त्र रुपमा बाँच्ने वातावरण नभएसम्म अवस्था नसुध्रने एचआइभी संक्रमित बालबालिकाको क्षेत्रमा काम गरिरहेका मोहन त्रिपाठी बताउनुहुन्छ।
उहाँका अनुसार एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोण १० वर्षअघि जस्तो थियो अहिले पनि उस्तै रहेको त्रिपाठीको दावी छ।
‘अहिले पनि संक्रमितका रुपमा बाहिर आउँदा समाजमा भेदभाव र लाञ्छना कायमै छ’ त्रिपाठी भन्नुहुन्छ, ‘कोभिड भाइरस सुरुमा लाग्दा सबै डराए तर पछि कोभिड भएको मान्छे प्रतिको व्यवहार सामान्य बन्दै गयो। तर एचआइभीको सवालमा यो हुन सकेको छैन।’
त्यसरी नै एचआइभी संक्रमितलाई गरिने व्यवहार पनि सामान्य बन्दै जानु जरुरी गरेको त्रिपाठी सुनाउनुहुन्छ।
तपाईँको अभिमत