सातामा २ दिन विदा : स्वास्थ्य मन्त्रालय लचिलो, वृहत छलफलको तयारी
सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय गरेपछि स्वास्थ्य क्षेत्रमा पनि उक्त निर्णय कार्यान्वयन हुनपर्ने चर्काे आवाज उठिरहेको छ । उक्त निर्णय भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातार २ दिन बिदा दिँदा बिरामी मारमा पर्ने भन्दै निर्णय लागू गर्ने पक्षमा नरहेको बताएको थियो । मन्त्रालयको यस्तो आसय देखिएपछि स्वास्थ्य क्षेत्रका पेशागत संघ संगठनहरुले असन्तुष्टि जनाइरहेका छन् ।
नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, सरकारी चिकित्सक संघ, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ लगायतले सातामा २ दिन विदा दिने सरकारको निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
विभिन्न पेशागत संघ संगठनले सातामा २ दिन विदा कार्यान्वयन गर्नुपर्ने माग गरेपछि आज स्वास्थ्य मन्त्रालयले सम्वद्ध पक्षहरुलाई बोलाएर छलफल गरेको छ ।
छलफल सकारात्मक रहेको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो । सातामा २ दिन विदा दिने सरकरको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू हुने डा. अधिकारीले बताउनुभयो । विदाका दिनमा स्वास्थ्य संस्था के कसरी सेवा सञ्चालन गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने जानकारी उहाँले दिनुभयो । 'स्वास्थ्य क्षेत्रमा पनि २ दिन विदा लागू हुनेछ तर यसका लागि ओपिडि देखि अन्य सेवा सञ्चालनको व्यवस्थापनका सम्बन्धमा फेरि छलफल हुनेछ' डा.अधिकारीले भन्नुभयो।
अन्य सरकारी कर्मचारीले विदा पाउने तर स्वास्थ्यकर्मी भएकै कारण विदा नपाउने भन्दा विभेदपूर्ण हुने नेपाल स्वास्थ्यकर्मी संघ नेपालका अध्यक्षरामजी घिमिरे बताउनुहुन्छ । ‘कोभिडको समयमा रातदिन नभनी काम गरियो, जोखिमभत्ता दिने भनेर लोभ्याइयो तर नियमित दिइएन' घिमिरे भन्नुहुन्छ, 'राज्यलाई अप्ठेरो परेका बेला सधैं हामी चाहिने अनि हाम्रो मर्का राजयले कहिल्यै नबुझ्ने ?’
सार्वजनिक विदामा स्वास्थ्य क्षेत्र सञ्चालन गर्ने सम्बन्धमा स्पष्ट कार्यविधि बनाउन आफूहरुले सरकारलाई सुझाव दिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । सट्टा विदामा आफूहरु काम नगर्ने उनीहरूको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत