प्रसव पीडा अरूको देख्नु र आफैँले भोग्नुमा धेरै फरक हुँदोरहेछ (भिडियो)

स्वास्थ्य सेवामा प्रवेश गरेपछि नर्स सृजना दाहालको अधिकांश जिम्मेवारी बर्थिङ सेन्टरमा रह्यो । बर्थिङ सेन्टरमा काम गरेको मात्रै ७ वर्ष बढीको अनुभव छ सृजनासँग । विभिन्न दुर्गम ठाउँका बर्थिङ सेन्टरमा गएर काम गरेकी उनी अहिले काभ्रेको नमोबुद्ध नगरपालिका-९ मा रहेको दाप्चा स्वास्थ्य चौकीमा छिन्।
रामेछापको एक स्वास्थ्यचौकीमा काम गर्दा सृजनाले ठूलो कठिनाइ झेल्नुपर्यो । मृत्युको मुखमा पुगेकी एक सुत्केरी आमालाई अर्को स्वास्थ्य चाौकीमा काम गर्ने नर्सको सहायता लिएर बल्त-तल्ल बचाएको घटना सुनाउँदा अहिले पनि उनी झसङ्ग हुन्छिन्। उनी चाहिन्छन् त्यस्तो दिन कहिले नओस् ।
सृजना भर्खरै नाम निकालेर त्यहाँ काम गर्न पुगेकी थिइन्। रामेछापको दुर्गम गाउँ थियो त्यो। अहिले काम गरिरहेको स्वास्थ्यचौकीमा जस्तो सुविधा, उपकरण त्यहाँ थिएन। ४ वटा छोरीपछि एउटा छोरा जन्माएकी आमा बर्थिङ सेन्टरमा थिइन्। बिहानतिर राम्रोसँग बच्चा जन्मिएको थियो ।
प्लासेन्टा(साल) निकाल्ने क्रममा माथि नै चुँडियो । त्यसपछि निरन्तर रक्तश्राव हुनथाल्यो, कसैगरी रोकिएन । स्वास्थ्य चौकीमा सृजना एक्लै थिइन् । अस्पताल निकै टाढा थियो । त्यहाँबाट नजिकैको जिरी अस्पताल पुग्न २ घण्टा लाग्थ्यो । आमा रक्तश्राव भएर बेहोस हुन लागिसकेकी थिइन् । के गर्ने ? कसो गर्ने ? सृजना धेरै आत्तिइन् । त्यहाँबाट करिब ४०-४५ मिनेटको दूरीमा अर्को स्वास्थ्य चौकी थियो ।
त्यहाँ करिब ५० वर्ष जतिकी अनुभवी नर्स थिइन् । उनलाई समस्या सुनाइन् । उनले केही उपाय त सुनाइन् तर यसरी सालभित्र चुँडिएपछि भित्र हात हालेर निकाल्नु पर्थ्यो। त्यो अस्पतालमा मात्रै गर्नुपर्ने हुन्थ्यो । यस बीचमा एम्बुलेन्स बोलाइसकिएको थियो ।
केही समयपछि एम्बुलेन्स आइपुग्यो । जिरी अस्पतालका लागि हिँडाइयो । सृजनालाई लाग्यो-बिरामी उहाँ पुर्याउन सकिँदैन । अनि अघिकी अनुभवी नर्सलाई बीच बाटोमै बोलाइयो । जिरी उकालो लाग्ने तामाकोशीको पुलनजिकै एम्बुलेन्सभित्रै राखेर २ जना मिलेर निकै कठिनसँग चुँडिएको साल निकाल्न सफल भए ।
निकै कठिनसँग ज्यान बच्यो । थप परीक्षण र उपचारका लागि अस्पताल लैजानुपर्छ भने पनि महिलाका परिवारले मानेनन् ।
'उहाँहरुले पनि घरै फर्काउने भन्नुभयो अस्पताल लान मान्नु भएन। ३-४ दिन स्वास्थ्यचौकीमै राखेर हेरचाह गर्यौँ' सृजना सुनाउछिन्, 'अहिले बच्चा र आमा राम्रो हुनुहुन्छ । उहाँलाई देख्नेवित्तिकै मलाई झसङ्ग–झसङ्ग हुन्छ।'
अन्यमा भन्दा बर्थिङ सेन्टरमा काम गर्न कठिन हुने सृजनाको अनुभव छ। 'नन बर्थिङमा निश्चित समय काम गरे पुग्थ्यो । नर बर्थिङ सेन्टरमा २४ सै घण्टा काम गर्नुपर्छ' सृजना भन्छिन्।
राम्रो सेवा-सुविधा नभएका ठाउँमा सुत्केरी बेथाको पीडाले छटपटिइरहेका, कराइरहेका बिरामीको अवस्था झेल्दै, उनीहरूलाई सान्त्वना दिँदै काम गर्नु कम्ता चुनौती छैन ।
प्रसवका बेला धेरै पीडा हुन्छ भन्ने कुरा सृजनाले पहिला पढेर वा देखेर मात्रै जानेकी थिइन् अहिले आफैँ पनि आमा बनिसकेको हुनाले राम्रोसँग अनुभूति गर्न सक्छिन् । आफैँले नभोगेको बेला र भोगाइपछि प्रवस पीडाप्रतिको दृष्टिकोणमा धेरै भिन्नता हुने उनी सुनाउँछिन् ।
'धेरै फरक पर्दो रहेछ नि' सृजना सुनाउँछिन्, 'प्रसूतिमा त्यो दुखाइ भएन भने प्रक्रिया अगाडि जाँदै-जादैनथ्यो भन्ने पढेका हौँ । उहाँहरु दुख्यो भन्नुहुन्थ्यो। अनि हामी भन्थ्यौँ हो-दुख्छ यस्तो बेला तपाईलाई यसरी दुख्छ आत्तिनु हुँदैन तर भोगाइ थिएन ।अहिले त बेथाले छटपटिएको देख्दा आफैँलाई भएको जस्तो लाग्छ, एकदमै सर्पोर्ट गर्न मन लाग्ने, हेरचाह गर्न मन लाग्ने हुन्छ ।'
आफ्नो अनुभव सुनाएर परामर्श दिन सम्झाउन पनि सजिलो हुने गरेको सृजना बताउँछिन् ।
यति धेरै पीडाका बीच बच्चा जन्मिएर खुसी साथ घर पठाउन पाउँदाको क्षण निकै आनन्ददायक लाग्छ सृजनालाई । तर निकै प्रयास गर्दा पनि नजन्मिएर, जटिलता बढेर त्यही अवस्थामा रिफर गरेर पठाउनु पर्दा असाध्यै नराम्रो लाग्छ ।
तपाईँको अभिमत