एएनएमएफको सहयोग अभियानमा १ लाख ६० हजार डलर सङ्कलन, नेपालका ४ प्रमुख स्वास्थ्य क्षेत्रमा लगानी गरिने
अमेरिका नेपाल मेडिकल फाउन्डेसन
अमेरिका नेपाल मेडिकल फाउन्डेसन(एएनएमएफ) को २९औं वार्षिक सम्मेलनको अवसरमा आयोजना गरेको कोष सङ्कलन अभियानमा १ लाख ६० हजार डलरभन्दा बढी रकम सहयोग प्राप्त भएको छ ।
सम्मलेनको दोस्रो दिन हिजो साँझ आयोजित गाला डिनर प्रोगाममा एएनएमएफका सदस्यहरुले नेपालको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सहयोग गरेका हुन् । संकलित रकम नेपालको स्वास्थ्य सुधारमा लगानी गरिने छ ।
नेपाललाई माया गरेर सहयोग गर्ने सम्पूर्ण सदस्य,अन्य पेशाका व्यक्ति एवं विदेशी सहयोगीदाताहरुलाई एएनएमएफले धन्यवाद ज्ञापन गरेको छ ।
एएनएमएफका अनुसार बालस्वास्थ्य सुधार अन्तगर्त काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नवजात शिशुहरूको सघन हेरचाहका लागि नियोनेटल इंटेन्सिभ केयर युनिट परियोजना,धुलिखेल अस्पतालमा निर्माण पोइजन इन्फरमेशन सेन्टर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, नेपाल प्रहरी सिपिआर तालिम, मानसिक स्वास्थ्यमा सहयोग गरिनेछ ।
को २९औं वार्षिक सम्मेलन तथा साधारण सभा ३ दिनसम्म जुन (१३ देखि १५) सम्म वासिङ्टन डिसीमा भएको थियो । सम्मेलनमा अमेरिकाका विभिन्न राज्य, नेपाल र बेलायतबाट ३५० भन्दा बढी नेपाली चिकित्सक तथा आमन्त्रित विज्ञहरूको सहभागिता थियो ।
सम्मेलनमा मुख्य वक्ताका रुपमा नेपालबाट वरिष्ठ मुटु शल्य चिकित्सक प्राडा.भगवान कोइराला, अमेरिका नेपाल मेडिकल फाउण्डेसन नेपालका अध्यक्ष प्राडा.सन्ध्या चापागाइ, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम कार्की,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा.मंगल रावल, ‘हेल्थ कन्सर्न नेपालका सिइओ एवं अध्यक्ष डा.सुवास प्याकुरेल, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.विराज कर्माचार्य लगायत अमेरिका आउनु भएको थियो ।
नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि डायस्पोरामा रहेका नेपाली चिकित्सकको एकतालगायतका विषयमा छलफल भएको थियो ।
यसैबीच २९ औ साधारण सभाले डा.विष्णु सापकोटाको नेतृत्वमा २५ सदस्यिय कार्यसमिति चयन गरेको छ ।
सन् १९९७ बाट सुरुवात भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसनले स्थापनाकाल देखिनै नेपालको बृहत्तर स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ। शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण देखि चिकित्सा क्षमता अभिवृद्धि सम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ्य सेवालाई अघि बढाउन सक्रिय रूपमा सहभागी हुँदै आइरहेको छ ।
सन् १९९७ मा नर्थ अमेरिकामा रहेका नेपाली डाक्टर र नेपाललाई माया गर्ने समाजसेवीहरुको पहलमा यो संस्था स्थापना भएको हो। न्यूयोर्कमा दर्ता भएको यो संस्था सन् २००० मा अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान एएनएमएफ नेपालमा पनि स्थापना भएको छ।
स्थापनाको २९ वर्षमा एएनएमएफले नेपालको स्वास्थ्य क्षेत्रमा ३ सय परियोजना सञ्चालन गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत