निजी मेडिकल कलेज र सरकारी अस्पताललाई सेवा शुल्क सार्वजनिक गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।
तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसबारे चासो दिएको मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीको भनाइ छ ।
सबैलाई जानकारी हुनेगरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन मन्त्रीले भनेपछि परिपत्र गरिएको डा.बुढाथोकीले जानकारी दिनुभयो ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको छ ।
मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहजरुपमा जानकारी पाउने व्यवस्था गर्न भनिएको छ ।
पत्रमा शल्यक्रिया शुल्क समेत खुलाउन भनिएको छ । यसैगरी सबै खालका शैय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन निर्देशन दिइएको छ ।
मन्त्रालयको परिपत्र अनुसार सार्वजनिक भए नभएको अनुगमन गरिने डा.बुढाथोकीले बताउनुभयो । शुल्क सार्वजनिक नगर्ने र सार्वजनिक गरेभन्दा बढी लिएको पाइए कारबाही हुने चेतावनी मन्त्रालयले दिएको छ ।
‘पहिलो चरणमा अनुगमन गरिनेछ’ प्रवक्ता डा. प्रकाश बुढाथोकीले भन्नुभयो ‘बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ।’
हेल्थपाटी
तपाईँको अभिमत