गर्भमै थाहा भयो मुटुरोग, जन्मिएको ११ दिनमै मुटुमा राखियो जाली
ललितपुर, बुङमतिका सुशिल शाक्य दम्पतीको अहिले पहिलो सन्तानको न्वारन गर्ने बेला हुन लागेको छ । पाँच महिनाअघि जन्मिएका छोराको न्वारन अब एक महिनापछि हुनेछ । नेवारी समुदायको परम्पराअनुसार बच्चाको न्वारन छ महिनामा गरिन्छ । न्वारनमा नाम राख्ने चलन छ । दम्पतीले छोराको नाम ‘एवान’ राख्ने सोच गरेको छ ।
एवान गर्भमै हुँदा मुटुमा समस्या छ भनेर दम्पतीले थाहा पाएको थियो । त्यो थाहा पाउँदा दम्पतीलाई केही समय बज्र परेझैँ भएको थियो । बाबु शाक्यका अनुसार पाँच महिनाको गर्भ हुँदा ‘एनिमल स्क्यान’ गरिएको थियो । त्यही स्क्यानबाट मुटुमा समस्या भएको देखिएको थियो । चिकित्सकको सल्लाहले केही राहत मिल्यो । शाक्य आफै पनि ‘फार्मेसिस्ट’ भएकाले समस्याबारे विभिन्न माध्यमबाट थप बुझ्ने कोसिस गर्नुभयो । धेरै कुरा थाहा पाउनुभयो । पछि ‘राम्रै हुन्छ’ भन्ने भएपछि बच्चालाई जन्म दिने र जस्तोसुकै परिस्थितिमा पनि उपचार गर्ने दृढता दुवै जनाले लिनुभयो ।
बच्चा चिकित्सककै निगरानीमा जन्मियो । मेडिसिटी अस्पतालमा जन्मिएको बच्चालाई तुरुन्त शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पु¥याइयो । ११औँ दिनमा अप्रेशन गरेर मुटुमा जाली राखियो । त्यो जाली अस्थायी समाधानका लागि राखिएको हो । फेरि अर्को अप्रेसन भने गर्नै बाँकी छ । ‘हामीले अहिलेसम्म निःशुल्क नै गरेका छौँ’, बाबु शाक्यले भन्नुभयो । उहाँका अनुसार प्रत्येक महिना ‘फलोअप’ गर्नुपर्ने हुन्छ ।
‘जाली राखेपछि बच्चालाई अहिलेसम्म केही भएको छैन’, शाक्यले भन्नुभयो, ‘सामान्य अवस्थामै छ । नियमित औषधि खुवाइरहेका छौँ । नियमित जाँच गराइरहेकै छौँ ।’
शाक्य बच्चाको मुटुमा समस्या देखिँदैमा आत्तिन नहुने बताउनुहुन्छ । चिकित्सकको सल्लाह लिने, आफै पनि विभिन्न माध्यमबाट थप कुरा बुझ्ने साथै आफै सजग रहने गर्नुपर्ने उहाँको सुझाव छ ।
दम्पतीको दृढ सङ्कल्पले बच्चालाई राम्रो भइरहेको छ : डा. श्रेष्ठ
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका बालमुटुरोग विशेषज्ञ डा. मनिष श्रेष्ठका अनुसार शाक्य दम्पतीको दृढ सङ्कल्प ऊर्जाको रूपमा रहेको बताउनुभयो । ‘बच्चालाई टेट्रालोजी अफ फ्यालोट भएको हो’, उहाँले भन्नुभयो, ‘हामीले काउन्सिलिङ ग¥यौँ र उहाँहरूले दृढ सङ्कल्प गर्नुभयो । जस्तोसुकै परिस्थितिमा पनि उपचार गर्छौँ भन्नुभयो । यसले निकै राम्रो भइरहेको छ ।’
टेट्रालोजी अफ फ्यालोट हुँदा अन्य विभिन्न समस्याहरू पनि हुनसक्ने डा. श्रेष्ठ बताउनुहुन्छ । यी लगायत मुटुका समस्याहरू फिटल इकोकार्डियोग्राफी गरेर गर्भमै पत्ता लाग्छ । १८ देखि २२ हस्ताको गर्भ जाँच गर्न उपयुक्त मानिने डा. श्रेष्ठको भनाइ छ ।
डा. श्रेष्ठका अनुसार शाक्य दम्पतीको बच्चालाई गर्भदेखि नै निगरानीमा राखी जन्माइएको र परीक्षण गर्दा फोक्सोमा जाने पल्मोनरी भल्भ बनेको भएपनि नखुलेको अवस्थामा रहेको थियो । ‘बच्चा जन्मिएपछि परीक्षण ग¥यौँ । उसको फोक्सोमा जाने पल्मोनरी भल्भ भएपनि लगभग नखुलेको अवस्थामा थियो’, उहाँले भन्नुभयो, ‘त्यतिखेर बच्चा पिडिए भन्ने धमनीले बाँचिरहेका थिए । मर्मतको काम नगरिन्जेल हामीले त्यहाँ जाली राख्यौँ । बच्चा ११औँ दिनको हुँदा खुट्टाको नसाबाट मुटुको पिडिए धमनीमा जाली राखेका थियौँ ।’
अहिले प्रमुख शल्यक्रिया गर्नका लागि सर्जन चिकित्सकहरूसँग सल्लाह भइरहेको डा. श्रेष्ठले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत