एक दशकपछि पूर्वमन्त्रीको परिवारमा यसरी फर्कियो खुसी

पूर्वमन्त्री दलजीत श्रीपालीले भक्तपुरस्थित शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रात बिताउन थाल्नुभएको डेढ महिना भयो। उहाँकी पत्नी सुनकुमारी बिक दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ। सुनकुमारीको हेरचाह गर्न दलजीतलाई छोरी ज्वाँइहरुले साथ दिइरहेका छन्।
एक दशकपछि यो परिवारमा खुसीयाली छाएको छ। एक दशकसम्मको पीडा, जीवन मरणको लडाइँबाट सुनकुमारीले मुक्ति पाउनु भएको छ। एक दशकदेखिको तनाव र अनेकौँ दुःखबाट परिवारले आनन्दको श्वास फेर्न पाएको छ।
मिर्गौला फेल पाएको पुष्टि २०६८ मा भएको थियो। त्यसपछि २०७१ साल माघमा सुनकुमारीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। जेठी छोरी विजयाले मिर्गौला दिनुभएको थियो । फेरिएको मिर्गौलाले २४ घण्टा पनि काम गरेन। त्यो समय सुनकुमारी करिब–करिब मृत्युको मुखमा पुगेर बाच्नुभयो।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउनुभएकी सुनकुमारी।
यसबीचमा श्रीपाली २०७३ साउनदेखि २०७४ जेठसम्म युवा तथा खेलकूद मन्त्री हुनुभयो। सुनकुमारीको स्वास्थ्यकै कारण यो परिवारले कुनैपनि खुसीमा दिल खोलेर रमाउन पाएको थिएन।
संघर्षपूर्ण विगत
श्रीपाली परिवारको स्थायी घर रुकुम पूर्वको भूमे गाउँपालिका–७ गुनाममा हो। दलजीत सुरुदेखि नै माओवादी जनयुद्धमा सामेल हुनुहुन्थ्यो। पछि पत्नी सुनकुमारी पनि त्यही बाटोमा लाग्नुभयो।
उहाँहरुको ५ छोरी हुनुहुन्छ। कुनै छोरीलाई आफन्तकोमा छाडेर कुनैलाई साथै बोकेर सुनकुमारी युद्धमा सामेल हुनुभएको थियो। जताजता गयो छोरीहरुलाई त्यतै बसाइँ सार्दै राख्नुभयो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी सेनालाई क्याम्पमा राखियो। त्यही क्रममा दलजीत र सुनकुमारी सुर्खेत दशरथपुरमा रहेको क्याम्पमा बस्नुभयो। दलजीत डिभिजन सहायक कमाण्डर र सुनकुमारी कम्पनी सहायक कमाण्डर हुनुहुन्थ्यो।

पछि उहाँहरु नवलपरासी अरुण खोलास्थित चौथो डिभिजनमा सर्नुभयो। २०६८ मा सेना समायोजनको प्रक्रिया चल्दा सुनकुमारीले स्वेच्छिक अवकास रोज्नुभयो। दलजीत समायोजनमा जाने तयारीमा हुनुहुन्थ्यो। यसैबीचमा सुनकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि दलजीतले पनि स्वेच्छिक अवकास नै रोज्नुभयो।
दुवै मिर्गौला फेल भएछ
नवलपरासी क्याम्पमै हुँदा सुनकुमारीलाई खुट्टा सुन्निने, प्रेसरको समस्या देखिएको थियो। उहाँले प्रसेरको औषधि खाइरहनु भएको थियो। अवकास रोजेर काठमाडौं आइसकेपछि औषधिहरु छुट्यो। ठिक भइसक्यो होला भन्ने लागेर पनि सुन कुमारीले खासै चासो दिनुभएको थिएन।
भक्तपुरका राधेराधेबाट भित्र बसोबास थियो। ठ्याक्कै कुन दिन हो ? दलजीतलाई थाहा छैन तर त्यो दिन नेपाल बन्द थियो। उहाँलाई सम्झना छ। सबैजना घरमै हुनुहुन्थ्यो। दिउँसोतिर शौचालय गएर आएपछि सुन कुमारी एक्कासी काम्न थाल्नुभयो। लौ के भयो भनेर सबैजना आत्तिए। एकै छिनपछि उहाँ बेहोस् हुनुभयो।

बन्दको बेला थियो दलजीतले बोकेरै उहाँलाई डेराबाट मुख्य सडकसम्म लैजानुभयो। बन्द भएकाले अरु सवारी चलेका थिएनन्। एम्बुलेन्सको खोजी हुँदै थियो। सडकमा बिरामी ल्याएर राखेको देखेपछि प्रहरीले गाडी रोकेर अस्पतालसम्म लगिदियो।
नयाँ ठिमीमा रहेको मध्यपुर अस्पतालमा लगेर परीक्षण गरेपछि डाक्टरहरुले मिर्गौलामा गम्भीर समस्या देखिएको भन्दै वनस्थलीमा रहेको राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा पठाए। त्यहाँ पुगेपछि डाक्टरहरुले भने-दुवै मिर्गौला फेल भएको छ। प्रत्यारोपण गर्नुपर्छ। त्यसअघि नियमित डायलासिस गराउनुपर्छ। त्यहाँबाट किस्ट अस्पतालमा लगेर आइसीयू राखी उपचार थालियो।
फेरेको मिर्गौलाले काम गरेन
मिर्गौला प्रत्यारोपणको तयारी गर्दागर्दै केही समय बित्यो। दिने व्यक्तिको पनि खोजी भइरहेको थियो। सुनकुमारीको मिर्गौला फेल भएको पुष्टि भएका बेला नर्सिङ पढ्दै गर्नुभएकी जेठी छोरी विजया नर्स बनिसक्नुभएको थियो। आमालाई मिर्गौलाको समस्या देखिएपछि उहाँकै लागि पनि विजयाले डायलासिसको काम गर्ने अठोट गर्नुभयो। त्यसपछि उहाँ राष्ट्रिय मिर्गौला उपचार केन्द्र, वनस्थलीमा काम गर्न थाल्नुभयो।

त्यहाँ उहाँले कयौँ पटक आफैँले आफ्नी आमाको डायलासिस गर्नुभयो। आमाको निरन्तरको पीडा, डायलासिस गर्दाको सकस राम्रोसँग अनुभूती गर्नुभएकी विजयाले आफैँ आमालाई मिर्गौला दिने निर्णय गर्नुभयो। ‘आमा बुबा भएर नै हामी यो धर्तीमा छौँ, आफूले मिर्गौला दिँदा आमा बाच्नुहुन्छ भने किन नदिने भन्ने लागेर खुसीका साथ मिर्गौला दिएँ’ विजया भन्नुहुन्छ। सबै परीक्षण गर्दा दिन मिल्ने पनि भयो।
२०७१ माघ २० गते सुनकुमारीको मिर्गौला प्रत्यारोपण भयो। त्रिवि शिक्षण अस्पतालमा डा. दिव्या सिंह नेतृत्वको टोली सुनकुमारीको शल्यक्रियामा संलग्न थियो। आफ्नो आमालाई मिर्गौला दिएर नयाँ जीवन दिन पाउँदा विजयालाई निकै खुसी लागेको थियो। परिवार आफन्त सबै खुसी थिए।

सबैको त्यो खुसी २४ घण्टा पनि टिक्न पाएन। शल्यक्रिया असफल भयो। प्रत्यारोपण असफल भएको कुरा डाक्टरहरुले परिवारलाई हतपत्त भन्दै भन्नुभएन। ‘फेरिएको मिर्गौलाले काम गरेन छ। सुरुमा हामीलाई भन्दै भनिएन्।
डाक्टरहरुले राम्रो छ, ठिक छ मात्रै भन्नुभयो’ दलजीत त्यो बेलाको कुरा सुनाउनु हुन्छ, ‘प्रत्यारोपण गरेको करिब २४ घण्टापछि डा. दिव्या सिंह आएर भन्नुभयो–सरी अवस्था क्रिटिकल भयो।’ खुसीको प्रतीक्षामा रहेका परिवार, आफन्त निशव्द बने। आमालाई बचाउन भनेर मिर्गौला दिएकी छोरी विजया अर्धबेहोस् हुनुभयो।
सबैलाई लाग्यो अब बचाउन सकिँदैन। ‘एकतिर मिर्गौला दिएकी छोरी बेडमा लडिरहेकी छे, अर्काेतिर आमा नबाच्ने अवस्था, त्यो बेलाको तनाव, पीर कसरी झेलियो अहिले सम्झन पनि सकिँदैन’ दलजीत भन्नुहुन्छ।
किन असफल भयो ? डाक्टरहरुको के कमजोरी थियो ? सुनकुमारीको परिवार त्यो खोज्नतिर लागेन। उहाँलाई कसरी बचाउने भन्नेतिर मात्रै ध्यान दियो। छोरी विजया ५ दिनमा अस्पतालबाट डिस्चार्ज हुनुभयो।

आफूलाई ठीक भइसकेपछि पनि लामो समय उहाँ अस्पतालमै बस्नुपर्यो। गम्भीर अवस्थामा आमाको उपचार भइरहेको थियो। सुनकुमारीलाई ७० दिन शिक्षण अस्पतालमा राख्दा ४० दिन जति आइसीयूमा राखिएको छोरी विजया सुनाउनुहुन्छ। ‘धन्न बचाउन सकियो’ दलजीत भन्नुहुन्छ।
दलजीत त्यतिबेला संविधानसभा सदस्य समेत हुनुहुन्थ्यो। उहाँको परिवारले सुनकुमारीलाई उपचारका लागि नर्भिक, वीर अस्पताल, किस्ट, सुमेरु अनेकौँ अस्पताल लग्यो। तर समस्या उस्तै।
दोस्रो पटक प्रत्यारोपणको तयारी
नियमित डाइलासिस गर्दै सुन कुमारीको जीवन कष्ठसँग बितिरह्यो। परिवार फेरि अर्को पटक मिर्गौला प्रत्यारोपणको प्रयासमा लागिरह्यो। नयाँ दाताको खोजी भइरह्यो। सुन कुमारीका ६८ वर्षीय बुबा मिर्गौला दिन तयार हुनुभयो। तर डाक्टरहरुले उमेरका कारण उहाँले दिन मिल्दैन भन्नुभयो। त्यसपछि अरु केही आफन्तले पनि दिन प्रयास गर्दा मिलेन। मिर्गौला दिने नातामा पनि कानुन दायरा भएकाले पनि समस्या भयो।
ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला प्रत्यारोपणको प्रयास पनि भयो। ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला सुनकुमारीले २ पटक पाउनु भएको थियो। तर परीक्षण गर्दा त्यो मिलेन।
बहिनीको पीडा, दुःख देखेर पिरोलिरहुनु भएकी दिदी धर्मकुमारीले सुन कुमारीलाई मिर्गौला दिने सल्लाह गर्नुभयो। उहाँले परिवारमा पनि सल्लाह गर्नुभयो। सबै सहमत भएपछि परीक्षण सुरुभयो। प्रारम्भिक परीक्षणमा दिन मिल्ने देखियो। सबै परीक्षण गर्दा ७ महिना लाग्यो। करिब १० बर्ष डा. कल्पना श्रेष्ठको विशेष सल्लाह सुझावसहित निरन्तर उपचार भयो ।
यस पटक मिर्गौला प्रत्यारोपणका लागि सुनकुमारीको परिवारले शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र रोज्यो। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी सुन कुमारीलाई नयाँ जीवन दिने कामको नेतृत्व प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले गर्नुभयो।

पहिलेको घटनाले तर्सिएको सुन कुमारीको परिवार आत्तिएको, निराश अवस्था केन्द्रमा पुगेको थियो। ‘यहाँ आउँदा बिरामीको अवस्था जटिल नै थियो, उहाँहरु निकै आत्तिनु भएको थियो’ डाक्टर पुकार सुनाउनु हुन्छ, ‘हामीले उहाँहरुलाई सान्त्वना दियौँ, भरोसा दियौँ विस्तारै उहाँहरुमा आशा भर्ने काम गर्र्यौँ।’
डा. पुकारका अनुसार मिर्गौला बिग्रिएका कारण सुनकुमारीको रगतमा धेरै विकार थियो,। प्रत्यारोपण गर्न त्यसलाई सफा गर्नु जरुरी थियो। पहिलो पटक प्रत्यारोपण गर्दा रगतमा भएको विष राम्रो सफा भएको थिएन कि भन्ने शंका उहाँमा छ । ‘हुन त मैले उहाँहरुको उतिबेलाको रिपोर्ट हेरेको छैन,’ डा.पुकार भन्नुहुन्छ, 'तर सबै कण्डिसन ठिक अवस्थामा नल्याइकन अपरेसन गरेकाले नै असफल भएको हो कि भन्ने अनुमान छ ।'
प्लाज्मा सफा गर्ने मेसिन प्रयोग गरेर निरन्तर सुनकुमारीको रगत सफा गरियो। उहाँलाई कार्तिक १ गते प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो। रगतको विष सफा गरी शल्यक्रियाका लागि तयार पार्न लगभग एक महिना लाग्यो। कार्तिक २९ गते सुनकुमारीको शल्यक्रिया भयो। सफल पनि भयो। २०७१ साल माघ २० गते नजिकै आएर गुमेको सुनकुमारीको परिवारको खुसी फर्कियो।
आफूहरुले नसोचेको खुसी मिलिरहेको छोरी विजया बताउँनुहुन्छ। स्वास्थ्य लाभ गर्दै गर्नुभएकी सुन कुमारी पनि डा.पुकारको टोलीले आफूलाई नयाँ चोला दिएको बताउनु हुन्छ। ‘उहाँहरु मेरो लागि भगवान हुनुहुन्छ, पुकार सर नभएको भए यो सम्भव थिएन’ बेडमा बल्ततल्ल अडेसा लागेर बस्नुभएकी सुनकुमारी भन्नुहुन्छ।
आफूले पाएको दुःख देखेर दलजीत भन्नुहुन्छ–‘सरकारले सातै प्रदेशमा कम्तिमा एउटा यत्तिको अस्पताल खोलिदेहोस्।’ त्यति भए धेरैको ज्यान बच्ने उहाँको बुझाइ छ। अनि मिर्गौला दाताका लागि तोकिएका नातामा पनि खुकुलो गर्नुपर्ने उहाँको माग छ। ‘म सांसद,मन्त्री भइसकेको मान्छेले त उपचारमा यतिधेरै हैरानी व्यहोर्नु परेको छ। अरुको अवस्था के होला ?’ उहाँ प्रश्न गर्नुहुन्छ, ‘जटिल अवस्थाको उपचार नेपालमा पनि हुँदो रहेछ, डा.पुकारजस्ता सक्षम व्यक्ति नेपालमा रहेछन्’
माथिल्लो तहका व्यक्तिहरुले पनि नेपालको उपचार पद्धतिमा विश्वास गर्न र विश्वासयोग्य बनाउन उहाँको आग्रह छ।
तपाईँको अभिमत