होचो भएकै कारण पढाइदेखि जागिरे हुँदासम्म दुर्व्यवहार र अपमान (भिडियो)
मणिराज पौडेलको जन्म मध्यमवर्गीय परिवारमा काठमाडौंको डाँछीमा भएको हो । २०२९ सालमा जन्मिनुभएका उहाँको अवस्था सुरुमा सामान्य नै थियो। ४ वर्षको उमेरमा लडेर घाइते भएपछि पौडेलको शारीरिक अवस्थामा समस्या आयो । मेरुदण्डमा असर परेकाले उहाँको शरीरको उचाइ बढ्नमा अवरोध भयो ।
घाइते भएपछि शारीरिक विकासमा मात्रै नभई जीवनको हरेक पक्षमा समस्या उत्पन्न भयो।घाइते भइसकेपछि मणिराज २ पटक हड्डीको क्षयरोगबाट बिरामी पर्नुभयो । शान्ता भवनमा उपचार गरेपछि निको भयो ।
शारीरिक रूपमा सानो देखिएपछि स्कुल भर्नामै ढिला भयो । ढिलै भएपनि स्कुल त जानुभयो तर स्कुले जीवनमा साथीहरूले होच्याउने, जिस्क्याउने, एक्लै पारिदिने जस्ता असमाजिक क्रियाकलापको शिकार हुनुभयो ।
यतिसम्मकी जिस्काउने, होच्याउने डरले बाटो सुनसान भएको मौका पारेर स्कुल जाने गर्नुहुन्थ्यो । बेञ्चमा उभिएर पढ्नुपर्ने, लेख्नुपर्ने बाध्यता थियो । साथीहरूले निकै हेप्ने गर्थे उहाँलाई ।
साथीहरूको यस्तो गतिविधिबाट विक्षिप्त हुनुभएका मणिराजलाई दिदीले सान्त्वना र प्रेरणा दिनुहुन्थ्यो । डाँछीकै एक स्कुलको प्रिन्सिपल रहनुभएकी दिदीले पढ्न सधैं हौसाउनु हुन्थ्यो।
२०४४ सालको कुरा हो, जब मणिराज ९ कक्षामा पढ्नुहुन्थ्यो । उहाँको जीवनमा ठूलो बज्रपात पर्यो । जीवनको मार्गदर्शक, परिवारको आशाको केन्द्र, दिदीलाई टाइफाइड भयो । यही निहुँमा २१ वर्षकै उमेरमा दिदीको मृत्यु भयो ।
परिवारको खम्बा नै ढलेपछि मणिराजका बुबा मानसिक बिरामी पर्नुभयो । मणिराजलाई सम्हालिन निकै समय लाग्यो । दिदी बितेकै पीरले मणिराज एसएलसी परीक्षामा फेल हुनुभयो ।
कडा मेहनत गरेर मणिराज एक वर्षपछि २०४६ सालमा एसएलसी पास हुनुभयो । स्कुल पढ्दा आफूले भोगेको दिनदिनैको मानसिक तनाव सम्झिँदा उहाँ अहिले पनि भक्कानिनुहुन्छ ।
'बुबा गोश्वारा हुलाकमा जागिरे हुनुभएकाले त्यतिबेला गाउँमा हाम्रो घरमा मात्रै गोरखापत्र लगिन्थ्यो' मणिराज एक घटना सुनाउनुहुन्छ, 'एसएलसी पास भएपछि मैले सधैँजसो पत्रिका पढ्ने गर्थे। गोरखापत्रमा समवेदनामा छापिएको फोटोमा सधैं मेरो ध्यान पुग्थ्यो ।
त्यो समवेदनामा छापिएको फोटो हेरेर म घोरिन्थेँ । लाग्थ्यो-पत्रिकामा त्यस्तैगरी फोटो छापिन कति पढेको हुनपर्छ, होला ? कस्तो अनुहार हुनपर्छ ? कति अग्लो हुनपर्छ होला ? तर पछि थाहा भयो, समवेदनामा त फोटो मरेपछि मात्रै छापिनेरहेछ ।’
एसएलसीपछि सीटीइभिटी अन्तर्गत पविधिक शिक्षा पढाउने कलेजमा पढ्ने निधो गर्नुभयो । सूचनामा आवश्यक टुल्स ल्याउन भनिएको थियो । टुल्स भन्नाले पढ्नका लागि आवश्यक सामाग्री भनिएको थियो ।
तर मणिराजले टुल्सलाई बस्ने टुल होकी भन्ने बुझ्नुभयो । उसै त होचो त्यसमा पनि टुल बोक्नुपर्ने भन्ने लागेर टुल्स र टुलको अर्थ नबुझ्दा उहाँले त्यहाँ पढ्नुभएन । त्यसपछि नेपाल ल क्याम्पसमा पढ्ने योजना बनाउनुभयो ।
नेपाल ल क्याम्पसबाट २०६७ सालमा कानून विषयमा स्नातक पास गर्नुभयो । उहाँले पत्रकारितादेखि कार्यालयसम्म आफ्नो क्षमता प्रदर्शन गर्नुभयो । अपांगता भएका व्यक्तिकोहरू हक अधिकारका लागि आवाज उठाउनुभयो । अपांगता भएकै कारण हेपिएकाहरूलाई हरेश खानुहुन्न भनेर प्रेरणा दिइरहनुभयो ।
शारीरिक रूपमा कमजोर रहेकाहरूको समस्यालाई राज्यले सम्बोधन गर्न नसकेकोमा मणिराज अहिलेपनि दुखी हुनुहुन्छ। आफूले अहिलेपनि विभेद खेपिरहेको उहाँ सुनाउनुहुन्छ । वकिल भएपनि होचो भएकै कारण आफूले वकालतको काम नपाएको गुनासो उहाँको छ।
साथै, उहाँले घरसंसार, साहस सन्देश, प्रज्वलन लगायतका अरू केही पत्रिकामा पनि काम गर्नुभयो । पत्रकारिताकै दौरान उहाँको भेट डा. भोला रिजालसँग भयो । त्यसपछि उहाँको जागिरे यात्राले नयाँ मोड लियो ।
२०६३ सालदेखि निजी अस्पतालहरूको छाता संगठन अफिनको कार्यालयमा प्रशासन प्रमुखका रूपमा काम गरिरहनुभएको छ । आफ्नो सीप, ज्ञान र क्षमताले अफिनको विस्तारमा महत्वपूर्ण भूमिका निभाइरहनुभएको छ ।
५ वटा अस्पताल सदस्य रहँदा उहाँ अफिनमा जोडिनुभएको थियो तर झण्डै १७ वर्षको अन्तरालामा सदस्य अस्पतालको संख्या ३०० नाघेको छ ।
मणिराजको संघर्षले शैक्षिक प्रमाणपत्र, कामको अनुभव मात्रै हासिल भएको छैन, समाजमा एक सफल व्यक्तिका रूपमा परिचित गराएको छ । जुन सबैका लागि प्रेरणादायी छ । सहनशील र संघर्षशील गुणका कारण मणिराजले जीवनमा सफलता हात पार्नुभयो । संघर्ष र दृढ विश्वासकै कारण पिडादायी परिस्थितिलाई परिवर्तन गर्न आफू सक्षम भएको उहाँ बताउनुहुन्छ ।
होचो भएकै कारण उहाँले पढाइदेखि जागिरे हुँदासम्म कयौँ दुर्व्यवहार र अपमान खेप्नुपर्यो । स्कुलमा पढ्नै मुस्किल भयो । बल्लबल्ल पढिसकेर जागिर गर्छु भन्दा काम गर्न सक्दैन भनेर कसैले काम दिनै मान्दैनथे । यो क्रम लामो समयसम्म चलिरहँदा मणिराज डिप्रेसनमा पनि जानुभएको थियो । त्यही डिप्रसनले उहाँलाई आत्महत्याको सोचसम्म पुर्याएको थियो । पीडा सहेरै निरन्तर आफ्नो लक्ष्य प्राप्तिमा हिड्नुभयो र सफल पनि हुनुभयो ।
आफ्नो सफलतामा दिवंगत दिदी, श्रीमती, भाउजू, डा.भोला रिजाल, डा.रिजालकी श्रीमती शारदा रिजाल, वसन्त चौधरी लगायतका व्यक्तिको ठूलो सहयोग र प्रेरणा रहेको मणिराज बताउनुहुन्छ।
होचो कद भएकै कारण बाल्यकालदेखि अहिलेसम्म भोग्नु परेेको समस्या, संघर्ष र पीडाका बारेमा हेल्थपाटीका लागि जगन्नाथ ढकालले पौडेलसँग कुराकानी गर्नुभएको छ।
तपाईँको अभिमत