निम्न आय भएका नेपालीको १० प्रतिशत खर्च चुरोटमै
काठमाडौं । नेपालमा सूर्तिजन्य पदार्थ प्रयोगकर्ताको संख्यामा कमी नआउनुमा सूर्तिजन्य पदार्थको कर वृद्धि हुन नसक्नु रहेको निष्कर्ष सरोकारवालाहरुले निकालेका छन् । सूर्तिजन्य पदार्थको प्रयोगबाट वर्षेनी २७ हजार नेपालीको मृत्यु भइरहेको र प्रत्येक वर्ष यो संख्यामा वृद्धि हुँदै गएकाले यसको प्रयोगमा कमी ल्याउन कर वृद्धि गर्नुपर्ने सरोकारवालाहरुको ठहर छ ।
मंगलबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा गरिएको कोभिड – १९ को सन्दर्भमा सूर्तीजन्य पदार्थ र नसर्ने रोग सम्बन्धी कार्यशाला गोष्ठीमा स्वास्थ्य करकोषका सदस्यसचिव समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानून उपसचिव मानबहादुर बस्नेतले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुनमा भएका व्यवस्थाका बारेमा चर्चा गर्दै उहाँले सूर्तिजन्य पदार्थमा कर वृद्धि गर्नुको विकल्प नरहेको बताउनुभयो ।
नेपाल एसियामानै सूर्तिजन्य पदार्थमा लाग्ने करको दर कम भएको मुलुकमा पर्ने जानकारी उहाँले दिनुभयो । उहाँले गरिब व्यक्तिले आफ्नो आम्दानीको करीब १० प्रतिशत सेवनमा खर्च गर्ने गरेको अवस्था रहेको र यसले उनीहरुको आम्दानी घट्न गई गरीब बन्नेमात्रै नभई उनीहरुको कार्य क्षमतामा पनि हस आउने बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले कोभिडको – १९ को संक्रमणका बेला सूर्तीजन्य पदार्थ र नसर्ने रोगको जोखिमबारे छलफल गर्नु निकै नै सान्दर्भिक रहेको बताउनुभयो । उहाँले सूर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले विश्वमा छुट्टै पहिचान बनाएको बताउनुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष प्राडा. गौरबराज ढकालले सूर्तीजन्य पदार्थको प्रयोगले नसर्ने रोगमात्रै होइन स्पाइन सम्बन्धी रोगहरु पनि लाग्ने क्रम बढेको जानकारी दिनुभयो । उहाँले सूर्तीजन्य पदार्थ भन्ने वित्तिकै मुटु, क्यान्सर तथा मधुमेह जस्ता रोगहरुमात्रै अगाडी आउने गरेको भन्दै अरु धेरै रोगहरुमा पनि यसको असर देखिएको बताउनुभयो ।
परिषदका प्रमुख कार्यकारी सदस्य सचिव डा. प्रदिप ज्ञवालीले सूर्तीजन्य पदार्थको प्रयोगकर्ताहरु अपेक्षित रुपमा नघटी रहेको अवस्थामा नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै अनुसन्धान र जनचेतना जगाउने कार्यलाई संगसंगै अघि बढाइएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले सूर्तीजन्य पदार्थ, नसर्ने रोग र कोभिड १९ को सम्वन्धका बारेमा परिषदसंग मिलेर कार्याशाला गोष्ठी गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले कार्यक्रमबाट स्वास्थ्य पत्रकारहरुका लागि जवरजस्त इस्यु उठेको भन्दै एनसीडी, सूर्तीजन्य पदार्थको असर , कोभिड–१९ को असरको बारेमा विज्ञबाट धेरै जानकारी मिल्ने बताउनुभयो ।
उहाँले स्वास्थ्य पत्रकार मञ्चले आगामी दिनमा स्वास्थ्य अनुसन्धानका विषयमा एनएचआरसीसंग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । गोष्ठीमा सूर्तीजन्य पदार्थ, नसर्ने रोग र कोभिड १९ संगको सम्बन्धको सन्दर्भ पारेर विभिन्न छ जना विज्ञले प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले नसर्ने रोगहरु र यसका जोमिख बढाउने कारक तत्वहरुको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले सूर्तिजन्य पदार्थको प्रयोगले नसर्ने रोगहरुको जोखिम बढेको र कोभिड –१९ ले त्यस्ता व्यक्तिलाई झनै असर गरेको विभिन्न अध्ययनले पुष्टी गरेको बताउनुभयो । उहाँले सूर्तिजन्य पदार्थले मिर्गौलाजन्य रोग(क्रोनिक किड्नी डिजिज) मुटुजन्य रोगहरु (कोरोनरी आर्टरी डिजीज) दम (सीओपीडी) र मधुमेह जन्य रोगहरुबारे नेपालमा गरिएको अनुसन्धानको तथ्य प्रस्तुत गर्दै अवस्था डरलाग्दो भएको बताउनुभयो ।
कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानून कार्यान्वयनमा सूर्ती उद्योगहरुले गरेको अवरोध, चलखेल, र सरकारी तथा नीतिगत तहमै पार्न खोजेको प्रभावको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले समाजका प्रतिष्ठत कहलिएका व्यक्तिहरु, उच्च राजनीतिक तहका व्यक्तिहरुलाई सुर्ती उद्योगहरुले प्रभाव पार्ने गरेको बताउनुभयो । उहाँले सूर्तिजन्य पदार्थमा कर वृद्धि गरेमात्रै यसको प्रयोगमा कमी आउने बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले स्वास्थ्य प्रवर्धन र त्यसमा पनि सुर्तीजन्य पदार्थ र नसर्ने रोगको नियन्त्रणका लागि गरेका कार्यहरुको बारेमा जानकारी गराउनुभयो । बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. भगवान कोइरालाले नसर्ने रोग अबको दशकपछि बच्चाहरुमा भयावह रुपमा आउने भन्दै त्यसका लागि आजैबाट तयारी थाल्नुपर्ने बताउनुभयो ।
उहाँले प्रत्येक बर्ष जन्मने करीब १ प्रतिशत बालबालिकामा जन्मजात मुटुरोग देखिएको र अरु समस्याका कारण थपिने मुटुरोगले थप समस्या सिर्जना गर्ने भन्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने तर्फ सचेत गराउनुभयो । कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले एन्टी स्मोकिङ क्याम्पियनमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा डा ज्योति भट्टराईले सूर्तीजन्य पदार्थको प्रयोगकर्तामा मधुमेह रोग हुने सम्भावना बढी हुने र यस्ता बिरामीलाई कोभिड १९को समस्याले बढी सताउने गरेको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत