‘आउनुहोस् नर्सिङ क्षेत्रका विकृतिलाई शल्यक्रिया गरौँ’

युवा नर्सहरुलाई खुलेर आफ्ना समस्या राख्न म फेरि पनि अनुरोध गर्दछु। नर्सका समस्या अहिले उब्जिएको नयाँ समस्या होइन, वर्षौँदेखिको हो।
सम्पूर्ण नर्सिङ पेशाकर्मी गुरुआमा गुरुबा, सिनियर दिदी, दाजु, समकालीन साथीहरू, भाइ/बहिनी लगायत सम्पूर्ण मेरा प्यारा नर्सिङ विद्यार्थीहरुमा नेपाल नर्सिङ संघको तर्फबाट हार्दिक नमन् गर्दछु। युवा नर्सको चासोलाई सम्बोधन गर्न केही कुरा प्रष्ट्याउन यो लेख लेखेको छु।
कोरोना महामारीका बेला अहिले अग्रपंक्तिमा युवा नर्सहरू खटिनु भएको छ। उहाँहरु के कसरी खटिइरहनु भएको छ ? त्यसको अनुगमन नर्सिङ संघले नेपालमा कोरोना महामारी सुरु भएदेखि नै गरिरहेको छ।
व्यक्तिगत सुरक्षा कवच(पीपीई)को व्यवस्था गरिएको छ या छैन, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ड्युटी पश्चात क्वारेन्टाइनको व्यवस्था गरिएको छ या छैन, उचित खानाको व्यवस्था गरिएको छ या छैन, आरामका लागि सुरक्षित स्थानको व्यवस्था छ, छैन, यस्ता कुराको अनुगमन नर्सिङ संघले गरिरहेको छ।
नेपाल सरकारको कोरोना हेर्ने विशेष कार्यदलमा अध्यक्ष मनकुमारी राई आफैँ सक्रिय भई लाग्नुभएको छ। निजी स्वास्थ्य संस्थाहरुले कोरोना महामारीका नाममा नर्सहरुमाथि चरम शोषण र अन्यायपूर्ण नियम लगाइएका थुप्रै समस्याहरु भेटिइरहेका छन्।
चरम आर्थिक शोषण, जागिरबाट निकालिएको, तलब नदिएको, संरक्षित बिदा कटाएकाजस्ता जानकारी लिएर संघले यसको समाधान गरिरहेको छ।निजी संस्थाहरु हेर्न छुट्टै कार्यदल गठन गरिएको छ। त्यसमा म आफै संयोजक छु। उपाध्यक्ष मीना खड्का, महासचिव नर्वदा थापा सदस्यहरू हरिप्रसाद कोजु र अम्बिका पौडेल अधिकारी समेत कमिटी हुनुहुन्छ।
सरकारी स्वास्थ्य संस्थामा कार्यरतका लागि पद मिलान, स्तर बृद्धि नीति नियम नर्सिङमैत्री छ या छैन, त्यो हेर्न कोषाध्यक्ष कल्पना श्रेष्ठ, सचिव प्रमिला थकालीको सहभागी कार्यदल पनि बनेको छ।
निजीको सवालमा मैले देशका विभिन्न मेडिकल कलेज, नर्सिङ कलेज तथा निजी अस्पतालका नर्सिङ प्रमुखहरुलाई फोनमार्फत त्यहाँका नर्सिङ कर्मचारी, नर्सिङ शिक्षकहरू समस्याबारे सोधखोज गरिएको छ। खाईपाई आएको सेवा सुविधा तलब निरन्तर पाइरहेका छन् या छैनन् भन्ने सम्बन्धमा जानकारी लिएको र त्यसबारे बहस पनि चलाइएको छ।
यसको छानबिन नहुँदै त्रिशुली नर्सिङ कलेजबाट पास आउट भएका विद्यार्थीलाई पेशेवार जालसाजीमा माहिर व्यक्तिले झुटा आश्वासन दिएर गरेको गलत आर्थिक लेनदेनको अर्को परिदृश्य फेरि सार्वजनिक भयो ।
नर्सिङ संघमार्फत जुम मिटिङ गरी देशभरका नर्सहरुको समस्या संकलन गरेका छौँ। चितवनका हरेक अस्पतालमा म आफैले भिजिट गरेँ। साथै विराटनगर, पोखरा, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, बागलुङ, धरान, झापा, वीरगन्ज, जनकपुर, राजविराज, हेटौँडा, बुटवल, पाल्पा, माडी लगायतका स्थानमा फोनमार्फत सबै जानकारी लिई उनीहरुको समस्याबारे बुझ्ने काम पनि गरियो।
नर्सको हक/हितका लागि मोरङ, बाँके, पोखरा र चितवन जिल्ला समिति सक्रियरुपमा लागिरहेका छन् । संघले संक्रमित नर्सहरुलाई नियमित फोन गरी उहाँहरुको स्वास्थ्य अवस्था र समस्याबारे चासो राख्दै आएको छ। यसका अलवा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई अन्याय अत्याचारबारे बोल्नु, लेख्नु भनेर खुल्ला आह्वान गरिरहेका छौँ। कसैले समस्याबारे जानकारी दिएपछि पहल पनि गरिरहेका छौँ।
युवा नर्सहरुलाई खुलेर आफ्ना समस्या राख्न म फेरि पनि अनुरोध गर्दछु। नर्सका समस्या अहिले उब्जिएको नयाँ समस्या होइन, वर्षौँदेखिको हो। व्यक्तिगत रुपमा भन्नुपर्दा म युवा नर्सहरुको समस्या बुझ्ने प्रयत्न गर्दछु र समाधानका लागि बहस पनि चलाउँछु।
यो पीडा तपाईं युवा नर्सहरुलाई मात्र होइन मलाई पनि अनुभूति छ। ब्रिटिश शासनको मूल मन्त्र विभाजित शासन नर्सिङमा लागू गराउनु हुन्न भनेर म चिच्याइरहेको छु। एउटै पेशामा आफूहरुबीच लडाइँ हुनुले राम्रो सन्देश कदापि दिँदैन।
तर अहिले किन नर्स नर्सबीच मनमुटाव हुँदैछ ? किन एक अर्काबीच विरोधीको भावना उब्जिरहेको छ ? यसबारे नर्सहरु सबैले सोच्नु पर्ने हुन्छ। कतै नर्सलाई व्यवसायीहरुले आफ्नो कमाइ खाने भर्याङ त बनाउन खोजिरहेका छैनन् ? आफ्नो करिअर बनाउन प्रयोजन गर्ने पेशाकर्मी र हामीहरुलाई नै औजार बनाएर अघि बढ्ने प्रशासक बीचको लडाईँ त हैन ?
यसै सन्दर्भमा गत २०७६ साल फाल्गुन २० गते नर्सिङ परिषदको लाइसेसको परीक्षामा भएको केही आर्थिक अनियमितताको विषय सामाजिक सञ्जालमा भाइरल नै भयो। भाइरल भएको विषय दुई लाख पचास हजार हातमा परेको र बाँकी पचास हजारका लागि कुरो नमिलेर गरिएको संवाद थियो।
यस विषयमा किन नर्सहरु बोल्दैनन् ? उनीहरु नर्सिङ पेशामाथि लागेको कलङ्क मेटाउन किन चाहदैनन् ? नर्सिङ संघलाई मात्रै दोषारोपण किन गरिँदैछ ?
यसको छानबिन नहुँदै त्रिशुली नर्सिङ कलेजबाट पास आउट भएका विद्यार्थीलाई पेशेवार जालसाजीमा माहिर व्यक्तिले झुटा आश्वासन दिएर गरेको गलत आर्थिक लेनदेनको अर्को परिदृश्य फेरि सार्वजनिक भयो । नर्सिङ पेशामा नै आँच आउने गतिविधि भएकाले सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन टोली गठन भयो। सो टोलीमा लाइसेन्स परीक्षा कमिटीका संयोजक कृष्ण सुवेदी, नर्सिङ संघका अध्यक्ष मनकुमारी राई र स्वतन्त्र वरिष्ठ नर्स विजया केसी हुनुहुन्थ्यो।
आज त्यो कमिटीको काम कारबाही कहाँ पुगेको छ ? त्यसको प्रतिवेदनबारे सबैलाई जानकारी गराउनु पर्छ भनी मैले माग गरिरहेको छु। छानबिन गरिएको प्रतिवेदन नर्सिङ परिषद्ले सार्वजनिक गर्नुपर्छ भन्ने माग राख्न पाउनु एक नर्सको नाताले मेरो पनि हक हो।
म सोच्दैछु, यस विषयमा किन नर्सहरु बोल्दैनन् ? उनीहरु नर्सिङ पेशामाथि लागेको कलङ्क मेटाउन किन चाहदैनन् ? नर्सिङ संघलाई मात्रै दोषारोपण किन गरिँदैछ ? युवा नर्सहरु किन बास्तविकताब बुझ्नेतर्फ किन नलागेको ? हामी आफूलाई लागेको दाग मेटाउन अघि बढौँ। अहिले त नर्सहरुको ध्यान अन्तैतिर मोडिएको छ। यसले नर्सिङ विज्ञानको उन्नति हुन नदिन लागिरहेको होकी भन्ने शंका उब्जिएको छ।
धेरै चर्चामा रहेका निजी कलेजहरुको अनुगमन सम्बन्धमा म केही कुरा प्रष्ट्याउन चाहन्छु। निजी कलेजहरुको अनुगमन गर्ने काम नर्सिङ संघको नभई नर्सिङ परिषद्, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयको हो । यी जिम्मेवार निकायहरू किन चुप लागेर रमिता हेर्दैछन्? युवा नर्सहरुले नर्सिङ संघप्रति औँला तेस्र्याइ रहँदा नर्सिङ हेर्ने आधिकारिक सरकारी निकाय नर्सिङ परिषद, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय किन थाहा नपाए जसरी बसिरहेको छन् ?
नर्सिङ संघको लामो इतिहास बनाएको छ, नेपाल नर्सिङ परिषद् जन्माउन संघले नै संघर्ष गरेको हो। स्कूल हेल्थ नर्स जन्माउने, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा जन्माउने नर्सिङ संघले नै हो।
नर्सको पोशाक भत्ता, रात्रिकालीन ड्यूटी भत्ता, हेल्थ हाजार्ड भत्ता व्यवस्थाका लागि संघले नै आन्दोलन हाँकेको हो। च्याउ उम्रेसरह नर्सिङ कलेजहरुलाई मान्यता दिइरहँदा नर्सिङ परिषद् मौन रहन मिल्छ ? कलेजका कुर्सी, कोठा, शिक्षकको टाउको गनेर मान्यता दिन मिल्दछ? अभ्यास गर्ने अस्पतालमा बिरामीहरूको भर्ना संख्या, नर्सिङ लगायत स्वास्थ्य कर्मीहरुको संख्या, स्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य सेवा दिने प्रक्रियाको अनुगमन गर्नु पर्दैन ?
लोकसेवाको विभेदकारी नीति छ। नर्सहरुले एउटै पदमा दसौंवर्षसम्म खटिनु परेको छ। पदोन्नति गरिएको छैन। यो जति चरमशोषण र विभेद अरु के हुन सक्छ ?
कति पटक बैठक बस्ने गरेको छ, माईन्युट बुक राख्ने गरेको छ या छैन हेर्ने गरिएको छ या छैन, विद्यार्थीहरुलाई आवश्यक परेको बेला परामर्श सेवा दिने व्यवस्था छ या छैन, विद्यार्थीहरुलाई मनोरञ्जनका लागि खेलकूद, पुस्तकालय सभा गोष्ठीको व्यवस्था छ या छैन हेर्नुपर्दैन ? युवा नर्सलाई जागरुक बनाउनु नर्सिङ परिषद, स्वास्थ्य मन्त्रालय र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा कार्यरत नर्सहरुको पनि उत्तरदायी होइन र ?
संघले त सचेत गराउने हो र नर्सहरुको आधारभूत अधिकारका लागि पहल गर्ने हो जुन सुरुदेखि नै गर्दै आएको छ। स्वास्थ्य व्यवसायीहरुप्रति औँला उठ्दा सरकारी सरोकारवालाहरु चुप लागेर बसिरहेका छन्। यसबाट कतै यो कार्य उहाँहरूबाट त सञ्चालित छैन ? भन्ने प्रश्न उठेको छ।
नीतिगत बहसका लागि अग्रसर होऔँ
संघीय अस्पताल भरतपुरमा विकास समतिले बिएन र बिएस्सी नर्सिङ गरेकालाई अनमी पदमा काम लगाइरहेको छ। जनकपुर संघीय अस्पतालमा गाउँपालिकामार्फत दस हजार प्रतिमहिना खाजा खर्च शीर्षक अन्तर्गत तलब दिई खटाइएको छ। वीर अस्पतालमा करारमा रहेका नर्सहरूलाई तलब खुवाउन सकिएको छैन।
अस्पतालहरु २४–२५ वर्ष पुरानो नर्सको दरबन्दीकै भरमा चलिरहेका छन्। ब्याचलर गरेका डाक्टरलाई सिधै आठौँ तहमा तर नर्सिङमा ब्याचलर गरेकोलाई सातौं तहमा राखिन्छ। लोकसेवाको विभेदकारी नीति छ। नर्सहरुले एउटै पदमा दसौंवर्षसम्म खटिनु परेको छ। पदोन्नति गरिएको छैन। यो जति चरमशोषण र विभेद अरु के हुन सक्छ ?
हातेमालो गर्दै अघि बढौँ र नर्सिङ क्षेत्रमा भएका विकृतिलाई शल्यक्रिया गरौँ। परीणाममुखी बहस थालौँ। समस्या समाधानका लागि एकजुट बनौँ।
नर्सिङमा विज्ञताको कदर हुन सकेको छैन। जुन विषयमा उच्च शिक्षा हासिल गरिएको छ त्यही मुताबिक काम लगाइएको छैन। अस्पतालहरुमा व्यवस्थापकीय समितिमा नर्सिङका विज्ञलाई राखिएको छैन। त्रिभुवन विश्वविद्यालयको नर्सिङ पाठ्यक्रम समय अनुकुल समायोजन गरिएको छैन। सबै विश्वविद्यालयहरुमा पाठ्यक्रम एउटै ढाँचामा ल्याउनु पर्ने आवश्यकता देखिएको छ। समस्याका चाङ छन्। तर समाधानका लागि सम्बन्धित निकायले खासै पहल गरेको देखिँदैन।
विश्वव्यापी कोरोनाको माहमारीले आक्रान्त पारिएका बेला युवा पिँढीहरुमा आक्रोश आउनु स्वाभाविक हो। तर गलत बाटो कसैले निर्देशन नगरिदियोस् भन्ने मेरो चिन्ता हो। देशभर छरिएर रहेका करिब १ लाख नर्सको साथमा संघ छ। आउनुहोस् आफ्नो समस्याका साथै सल्लाह सुझाव दिनुहोस्। हातेमालो गर्दै अघि बढौँ र नर्सिङ क्षेत्रमा भएका विकृतिलाई शल्यक्रिया गरौँ। परीणाममुखी बहस थालौँ। समस्या समाधानका लागि एकजुट बनौँ।
तपाईँको अभिमत