यी कारणले बन्द हुन्छ नाक, पिनासको उपचार कसरी गर्ने ?(भिडियो)
नाक बन्द हुने, पिनास हुने समस्याबाट धेरै व्यक्तिहरु हैरान भइरहेका हुन्छन् । कसरी यो समस्या देखिन्छ ? यसको उपचार कसरी हुन्छ ? यसबारे हामीले नाक, कान तथा घाँटीरोग विशेषज्ञ प्रा.डा.दीपेन्द्र श्रेष्ठसँग कुराकानी गरेका छौँ ।
नाक किन बन्द हुन्छ ?
नाक बन्द हुने विभिन्न कारण हुन्छ । कोही–कोही मान्छेको चाहिँ सेप्टम(नाकलाई दुई भागमा बाड्ने हड्डी) बाङगो हुन्छ । यो हड्डी बाङ्गो हुँदा नाकको एकातिरको प्वालको भाग ठूलो र एकातिरको साँघुरो हुने हुन्छ । यस्तो अवस्थामा पनि नाक बन्द हुने समस्या हुन्छ ।
अर्काे कारण कोही मान्छेको नाकमा संक्रमण भयो, क्रोनिक सेन्साइटिस भयो भने पनि नाक थुनिन्छ । एलर्जीको कारण पनि नाक थुनिने समस्या हुन्छ । एलर्जीका कारण नाकको मासु मोटो भयो, सुन्नियो भने सेक्रेसन धेरै जम्मा भयो भने नाक बन्द हुन्छ।
नाकमा धेरै एलर्जी भएर वा अन्य कारणले पनि मासु पलाउँछ । नाकमा ट्युमर, क्यान्सर हुनसक्छ । यस्तो हुँदा पनि नाक बन्द हुन्छ ।
नाक बन्द हुने प्रमुख कारणहरु यिनै हुन् । कसको कतिसम्म नाक बन्द हुन्छ भन्नेमा चाहिँ समस्या कतिसम्म हुन्छ त्यो अनुसार कम र बढी बन्द हुने हुन्छ ।
नाक बन्द भएपछि मुखले श्वास फेर्नुपर्छ । मुखले श्वास फेरेपछि मुख सुक्ने, घाँटी सुक्ने समस्या आउँछ । घाँटीमा संक्रमण बढी हुने सम्भावना हुन्छ । नाक बढी बन्द हुँदा नाकको पछाडिबाट पिपहरु घाँटीमा खस्ने खोकी लाग्ने पनि हुन्छ । पहेँलो खकार बढी आउने समस्या हुन्छ ।
नाक बन्द हुँदा केही हदसम्म घुर्ने समस्या पनि हुन्छ । तर सबै घुर्ने समस्या नाक बन्द भएर हुने भने होइन ।
पिनास के हो ? कसरी लाग्छ ?
हाम्रो नाकमा हावाको विभिन्न थैलीहरू हुन्छन् । यसलाई ‘साइनसेस’ भनिन्छ । यो हावाको थैलीमा संक्रमण भयो भने त्यसलाई पिनास अवथा साइनसाइटिस भनिन्छ । यो दुई प्रकारका हुन्छन् । एक्युट साइनसाइटिस र क्रोनिक साइनसाइटिस ।
भर्खरै सुरु भएको अथवा ३ महिनासम्मको पिनास भए एक्युट साइनसाइटिस भनिन्छ । ३ महिना भन्दा लामो समयदेखि रहेको पिनासलाई क्रोनिक साइनसाइटिस भनिन्छ ।
नाक बन्द हुने धेरै समस्या क्रोनिक साइनसाइटिसमा हुन्छ । यसको मुख्य लक्षण भनेकै नाक बन्द हुनु हो ।
पिनासबाट कस्ता–कस्ता समस्या देखिन्छन् ?
साधारण पिनासबाट ठूला समस्या पनि हुन्छन् । नाक झन बन्द हुन्छ । श्वास फेर्न गाह्रो हुन्छ । यो बढेपछि वरिपरि र सबै शरीरमा जान सक्छ । नाकको पिनास आँखामा जान सक्छ । आँखाको बाहिरपट्टी पिप जम्न सक्छ ।
पिनासकै कारणले कहिले कहीँ मेनिन्जाइटिस हुनसक्ने, मस्तिष्कभित्र संक्रमण हुनसक्ने, मस्तिष्कमा पिप जम्न सक्ने र मृत्युसम्म हुनसक्छ। कहिले कहीँ पूरै शरीरमा संक्रमण हुनसक्छ ।
पिनासको समस्याबाट कसरी बच्ने ?
पिनास हुँदा मान्छेले धेरै गर्न गल्ती भनेको यसलाई सामान्य रुपमा लिने गर्छन् । समयमै डाक्टरकोमा नआउने गल्ती गरिरहेका हुन्छन् । कतिपयले त्यसको उपचार नगर्ने पिनास उपचार गरेपछि पनि एलर्जी हुनसक्ने खानेकुरा खाने जस्ता समस्या पनि छन् ।
कतिपयमा के हुन्छ भने टाउको दुख्यो, नाक बन्द भयो भने पिनास भयो भनेर औषधि खाइहाल्ने पनि हुन्छ । टाउको दुख्दैमा, नाक बन्द हुँदैमा त्यो पिनास नै नहुन पनि सक्छ। सबै पिनास औषधिले मात्रै ठिक नहुनसक्छन् । शल्यक्रिया नै गर्नुपर्ने पनि हुन्छ । त्यो कुरा डाक्टरलाई देखाएपछि मात्रै थाहा हुन्छ ।
समस्या देखियो भने पहिला डाक्टरकोमा आउनु पर्यो । डाक्टरले भनेअनुसार उपचार गर्नुपर्छ ।

हेल्थपाटी
तपाईँको अभिमत