सूर्तिजन्य पदार्थको लत भएकालाई पत्तै नपाइ हुन्छ मुखको क्यान्सर
नेपालमा वर्षेनी करीब ३५ हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन् भने क्यानसरका कारण २० हजार बिरामीको मृत्यु हुने गरेको छ । सबै खाले क्यान्सर लाग्नुको कारणमा ३३ प्रतिशत हिस्सा सूर्तिजन्य पदार्थको रहेको छ । नेपालमा फोक्सो, स्तन, पाठेघर, मुखको क्यान्सर अत्याधिक हुने गरेको पाइन्छ । अन्य क्यान्सरहरुमा मुखको क्यान्सरको लक्षण अरु व्यक्तिहरुलेसमेत आउन सक्ने भएपनि यही क्यान्सरका बिरामी नै अन्तिम स्टेजमा अस्पताल पुग्ने गरेको पाइएको छ । नेपालमा प्रत्येक वर्ष झण्डै ४ हजार जनालाई मुखको क्यान्सर हुने गरेको तथ्यांक छ । मुखको क्यान्सर के हो ? यसको अवस्था के छ अनि यसबाट कसरी जोगिने भन्ने विषयमा हामीले पूर्वाञ्चाल क्यान्सर अस्पताल झापाका टाउको तथा घाँटीको सर्जरी विभाग प्रमुख डा.बजरंगप्रसाद शाहसँग कुरा गरेका छौँ ।
मुखको क्यान्सर भन्नाले के बुझिन्छ ?
सामान्यत: अनुहारमा देखिने नाक, कान, मुख, आँखा, गालालाई मुख भन्ने बुझाइ छ । तर मुखको क्यान्सरमा गाला, जिब्रो, गिजा माथि र तलको दाँत जोडिएको हाड तथा लिप पर्दछ । अस्पतालहरुको तथ्यांक हेर्ने हो भने नेपालमा वर्षेनी ४ हजारको हाराहारीमा मुखको क्यान्सर भएको पाइएको छ । मुखको क्यान्सर धेरैलाई हुने मध्येको पाचौँ नम्बरमा पर्ने क्यान्सर हो ।
अनुहार हेरेरै मुखको क्यान्सरको लक्षण अन्य व्यक्तिले पनि पहिल्याउन सक्छन् ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । मुखको क्यान्सरको छिट्टै पहिचान गर्न सकिन्छ । तर विडम्बना अन्तिम अवस्थामा पुगेपछि मात्रै बिरामीहरु अस्पताल आउनुहुन्छ । अन्तिम अवस्थामा आइपुग्दा बिरामीहरुले आफूलाई क्यान्सर भएको कल्पनै गरेका हुँदैनन् । उनीहरु सामान्य घाउ भन्ठानेर आउँछन् । तर अवस्था असामान्य बनिसकेको हुन्छ । अलि अगाडि नै आएको भए उनीहरुको रोग पूर्ण रुपमा निको हुनेथियो, कम खर्चमै उपचार हुनेथियो भन्ने लाग्छ ।
मुखको क्यान्सर हुँदा प्रारम्भिक चरणमा कस्ता लक्षण देखिन्छन् ?
गिजा, गाला, जिब्रोमा आएको घाउ खटिरालाई सामान्य रुपमा लिनु हुँदैन । ती घाउ २/३ हप्तासम्म पनि निको भएन भने तुरुन्तै डाक्टरलाई देखाउनु पर्छ । हामी धेरैको बानी के हुन्छ भने मेडिकलमा देखाउने अनि पेन किलर खाने । तर मेडिकलको भर पर्नु हुँदैन । अहिलेको समस्या भनेको मेडिकलमा जाँदा पनि उनीहरुले बिरामीलाई क्यान्सरको शंका गरी सम्बन्धित डाक्टरकोमा जान सुझाउँदैनन् ।
बिरामीलाई त लाग्छ मैले जचाँएर औषधि खाइरहेको छु तर रोग निको होइन जटिल बन्दै गइरहेको हुन्छ । मैले हेरेको अधिकांश बिरामीलाई सोधपुछ गर्दा त्यही नै पाउँछु, मेडिकलमा जचाँएर औषधि खाएको, केहीले आर्यर्वेदिक औषधिमै भर परेको ।
अस्पतालमाम बिरामी कस्तो अवस्थामा आइपुग्छन् ?
क्यान्सरमा स्टेज पहिलो र दोस्रोलाई प्रारम्भिक अवस्था मानिन्छ । तेस्रो र चौथोलाई एड्भान्स स्टेज मानिन्छ । अहिलेसम्म मैले हेरेकोमध्ये ८० प्रतिशत बिरामी एड्भान्स स्टेजमा अस्पताल आइपुगेका छन् । उनीहरु एकदमै दुखाइ भएपछि, खान अप्ठेरो भएपछि, जिब्रो चल्नै छोडेपछि, दाँत पुरै हल्लेपछि, मासु नै फुटेर पीप र रगत भएपछि बल्ल कपडाले छोपेर अस्पताल आउँछन् । कपडामै छाला मासु टाँसिएको हुन्छ । हामीलाई त हेर्दा हेर्दै बानी परिसक्यो ।
दाँत हल्लियो भनेर आउँछन् । चारैतिर क्यान्सरले खोक्रो बनाएर दाँत हल्लिएको हुन्छ तर बिरामीलाई लाग्छ दाँत मात्रै हल्लिएको, घाउ सडेको गलेको अवस्थामा आइपुग्छन् । सामान्य औषधि लिने आशामा आएका उनीहरु आफूलाई क्यान्सर भएको पत्तो हुँदैन । पहिला नै घर परिवारमा कसैलाई क्यान्सर भएका परिवारका व्यक्तिहरु मात्रै सुरुवाती अवस्थामा अस्पताल आउने गरेको मैले पाएको छु ।
मुखको क्यान्सरका बिरामी बढेको हो ?
मुखको क्यान्सर नेपालमा पहिला देखिनै उच्च स्थानमा छ । अहिलेको तुलनामा पहिला अस्पताल पुग्दैन थिए जसका कारण रोगको पहिचान हुँदैनथ्यो तर अहिले ढिलै भएपनि अस्पताल आउने क्रम बढ्दा केस बढेको जस्तो देखिएको हो । अनि पहिला पहिला क्यान्सर वु्ढ्यौलीमा लाग्ने रोग भन्ने सोचाइ पनि थियो तर अहिले २० २२ वर्षकै उमेरमा क्यान्सर हुन थालेको छ ।
मुखको क्यान्सरको मूल कारण के हो ?
कुनै पनि क्यान्सरको कारकमा पहिलो नम्बरमा सूर्तिजन्य पदार्थको प्रयोग रहेको छ । क्यान्सर हुने कारकमध्ये ३३ प्रतिशत कारक सूर्तिजन्य पदार्थको प्रयोग हो । अर्काे मद्यपान हो । त्यसैले अध्ययनहरुले के देखाएका छन् भने धुमपान र मद्यपानमा नियन्त्रण गरे ५० प्रतिशत क्यान्सर घट्छ । मधु, सुपारी, रजनीगन्ध, गुट्खा, खैनी लगायतका सूर्तिजन्य पदार्थको प्रयोग नै मुख क्यान्सरको प्रमुख कारण हो। विद्यालय तथा कलेजका विद्यार्थीहरु पनि अहिले धुम्रपानको लतमा छन् । जसका कारण युवा अवस्थामै उनीहरु क्यान्सरको शिकार हुनु परिरहेका छन् ।
उपचार कसरी गरिन्छ र खर्च कति लाग्छ ?
सबैखाले क्यान्सरको उपचार सर्जरी, रेडियो थेरापी र किमोथेरापीमार्फत गरिन्छ । मुखको क्यान्सरको सवालमा सर्जरीमात्रै गरे हुन्छ यदि पहिलो चरणमा अस्पताल आउन सकियो भने ।
एडभान्स अवस्थमा सर्जरीले मात्रै होइन रेडियोथेरापी पनि गर्नपर्छ । कसै कसैलाई किमोथरापी पनि आवश्यक पर्छ जसका कारण उपचार अनुसार खर्चको भार पनि थपिँदै जान्छ । सुरुवाती अवस्थामै उपचार हुन सक्यो भने सरकारले दिने विपन्न सेवा सुविधाबाटै । तर पछि आए सरकारले दिएको सुविधा हात्तीको मुखमा जीरा जत्तिकै हुन्छ । सर्वसाधारन नेपालीका लागि खर्चले थेग्नै नसक्ने अवस्था पनि आउन सक्छ ।
हालसम्म तपाईले पूर्वाञ्चल अस्पतालमा कति जनाको मुखको शल्यक्रिया गर्नुभयो ?
म यस अस्पतालमा आएको ४ महिना भयो । यसबीचमा मुखको क्यान्सर भएको ६० जनाको अपरेशन गरेँ । तीमध्ये अधिकांश एड्भान्स स्टेजका बिरामी थिए । मुखको क्यान्सर भएकहरुको रुप नै बिग्रने भएपछि प्लाष्टिक सर्जरी पनि गरिन्छ । प्लाष्टिक सर्जरीमा पनि अड्भान्स प्लाष्टिक सर्जरी ९ फ्री फ्लप रीकोन्स्त्रु्सन २५ जनाको भयो । तरपनि भगवानले दिनुभएको जस्तो रुप त पक्कै हुँदैन । त्यसैले म भन्छु आफ्नो स्वास्थ्यबारे चनाखो होऔँ, बेलैमा उपचार गरौँ र क्यान्सर लाग्ने कारणबाट टाढा भागौँ ।
हेल्थपाटी
तपाईँको अभिमत