१०० वर्ष नाघेका जापानी महिलाको सङ्ख्या उच्च, लामो आयुको कारण यस्तो
जापानमा १०० वर्ष नाघेका मानिसको सङ्ख्या हालसम्मकै उच्च पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बरसम्म त्यस्ता व्यक्तिको सङ्ख्या ९९,७६३ पुगेको छ, जसको ८८ प्रतिशत महिला हुन्।
मन्त्री ताकामारो फुकोकाले ८७,७८४ महिलालाई र ११,९७९ पुरुषलाई दीर्घजीवन प्राप्त गरेकोमा बधाई दिनुभएको छ ।
जापान ५५ वर्षदेखि लगातार शतायु (सय वर्ष) व्यक्तिको सङ्ख्या अनुसार विश्वकै अग्रस्थानमा छ। हाल ११४ वर्षीया शिगेको कागावा सबैभन्दा वृद्ध महिला र १११ वर्षीय कोयोताका मिजुनो वृद्ध पुरुषको रूपमा चिनिएका छन्।
सन् १९६३ मा गरिएको पहिलो सर्वेक्षणमा १०० वर्ष नाघेका केवल १५३ जना मात्र थिए। तर समयसँगै यो सङ्ख्या तीव्र गतिमा बढ्दै १९८१ मा १,००० र १९९८ मा १०,००० पुगेको थियो।
दीर्घायु हुनुमा जापानी जीवनशैली मुख्य कारण मानिन्छ। उनीहरूको आहारमा माछा, तरकारी बढी र मासु कम हुन्छ, जसले मोटोपना र हृदय रोग घटाउँछ। महिलामा मोटोपनाको दर अझै कम भएकाले उनीहरूको आयु बढी हुने विश्वास गरिन्छ। साथै, जापानीहरू वृद्धावस्थामा पनि सक्रिय रहन्छन्। ‘रेडिओ ताइसो नामक सामूहिक व्यायाम परम्परा र हिँडडुल गर्ने संस्कृतिले स्वास्थ्यलाई मजबुत बनाएको छ।
यद्यपि २०१० को एक अनुसन्धानले तथ्याङ्क त्रुटिका कारण केही शतायुको सङ्ख्या बढी देखिएको हुन सक्ने जनाएको छ। तर जापान अझै पनि दीर्घायु व्यक्तिको घरका रूपमा परिचित छ।
(बीबीसीबाट)
हेल्थपाटी
तपाईँको अभिमत