केरलामा स्वास्थ्य सतर्कता : ‘ब्रेन–इटिङ अमिबा’का संक्रमित बढे, हालसम्म १९ जनाको मृत्यु
भारतको दक्षिणी राज्य केरला सरकारले दुर्लभ पानी–जन्य “ब्रेन–इटिङ” अमिबाका कारण संक्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर भन्दा बढी बढेपछि स्वास्थ्य सतर्कता जारी गरेको छ।
बुधबार अधिकारीहरूले जानकारी दिँदै २०२५ को सुरुदेखि अहिलेसम्म केरला राज्यमा निग्लेरिया फाउलेरी अमिबासँग सम्पर्कपछि ६९ वटा प्राइमरी अमिबिक मेनिन्जोएनसेफलाइटिस का केस दर्ता भएका छन्, जसमा १९ जनाको मृत्यु भएको छ। पछिल्लो एक महिनामै तीन जना, जसमा तीन महिनाको शिशु समेत छन्, मृत्यु भएका छन्।
गत वर्ष ३६ संक्रमितमध्ये ९ जनाको मृत्यु भएको थियो।
यो अमिबा मानिसबाट मानिसमा सर्ने हुँदैन। यो प्रायः तात्ता ताल, खोलानाला वा नदीमा पाइन्छ र प्रदूषित पानी नाकमार्फत शरीरमा प्रवेश गर्दा संक्रमण हुन्छ।
राज्यकी स्वास्थ्य मन्त्री वीणा जर्जलाई उद्धृत गर्दै एनडीटीभीले लेखेको छ, “गत वर्षजस्तो एउटै पानीको स्रोतसँग जोडिएका समूहगत संक्रमण यस वर्ष देखिएको छैन। यो पटक छुट्टाछुट्टै, अलग–अलग केस देखिएका छन्, जसले हाम्रो महामारी अनुसन्धानलाई जटिल बनाएको छ।”
केरला सरकारले सार्वजनिक नुहाउने स्थान, इनार, पानी ट्यांकी लगायत सम्भावित सम्पर्क हुने ठाउँहरूमा क्लोरिन हाल्ने अभियान सुरु गरेको छ।
(अलजजिराबाट)
हेल्थपाटी
तपाईँको अभिमत