स्वास्थ्य स्वयंसेविकाको प्रश्न : काममा पेलाउने, अनि सम्मान मात्रै गर्ने ? (भिडियो)
आज २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले काठमाडौंमा एक कार्यक्रम गरी सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।
कार्यक्रममा उपस्थित स्वास्थ्य स्वयंसेविकाहरुले आफूहरुलाई पनि श्रमिकको रुपमा गन्नुपर्ने माग गरेका छन् ।
धेरै काम गर्नुपरेको र सेवा सुविधा केही नभएकाले समस्या परेको गुनासो उनीहरुले गरेका छन् ।
समय बदलिएकाले अब स्वास्थ्य स्वयंसेविकाको हकमा पनि सरकारले विचार गर्नुपर्ने नेपाल स्वास्थ्य स्वयंसेवी संघकी अध्यक्ष गीता थिङ पौडेलले बताउनुभयो ।
अहिले समग्रमा दैनिक ४ घण्टाका दरले आफूहरुले काम गरिरहेको थिङले सुनाउनुभयो। विभिन्न महामारी तथा अभियानमा बिहानदेखि बेलुकासम्म खटेको थिङ बताउनुहुन्छ।
३५ वर्षअघि स्वास्थ्य स्वयंसेविका हुँदा सीमित काम भएपनि अहिले धेरै बोझ भएको उहाँको भनाइ छ ।
अब स्वयं सेविका भनेर नामकै कारणले काम लाद्ने र सम्मान मात्रै गरेर नहुने उहाँले स्पष्ट पार्नुभयो ।
‘स्वयंसेविका भइरहँदा पनि हामी श्रमिक होनि, अन्तर्राष्ट्रिय कानुनले पनि एक घण्टा काम गरेपनि श्रमिक, ८ घण्टा काम गरेपनि श्रमिक भनेको छ’ थिङ भन्नुहुन्छ, ‘हामीलाई पनि श्रमिकमा गन्नुप¥यो ।’
यदि देशलाई र समाजलाई स्वयंसेविका चाहिन्छ भने स्वयं सेविकालाई पनि केही दिनुपर्छ भनेर लागिरहेको थिङ बताउनुहुन्छ ।
आफू एक महिना बिरामी हुँदा पनि काठमाडौं महानगरपालिकाले कुनै वास्ता नगरेको वडा नम्बर ३ मा कार्यरत स्वास्थ्य स्वयंसेविका स्वान्टु तमाङको दुखेसो छ । जण्डिस भएर एक महिना बिरामी पर्दा पत्र पठाएर जानकारी दिँदा पनि महानगरले कुनै मतलब नगरेको तामाङले जानकारी दिनुभयो ।
काम परेको बेला भोग लाग्यो तिर्खा लाग्यो भन्न पाइँदैन ल्याएर उभ्याइहाल्छ बिरामी हुँदा त हेर्नुप¥यो नि तामाङ भन्नुहुन्छ, ‘२० वर्षसम्म जनताको सेवा गरेको जण्डिस लागेर एक महिना थला पर्दा पनि हेरेन । चिठी पठाउँदा पनि वास्तै गरेन।’
भक्तपुर नगरपालिका–१ मा कार्यरत सीमा ङेचेलाई स्वास्थ्य स्वयं सेविका भएर घर–घरमा हिँड्दा, स्वास्थ्यका कुरा सिकाउन पाउँदा साह्रो रमाइलो लाग्छ । तर ठूला व्यक्तिहरुको मात्रै नाम आएको आफूहरुको कहीँ नाम नआएकोमा नरमाइलो लाग्छ ।
बिना तलब भएपनि घर–घरमा हिड्नु, सुत्केरी गर्भवतीसँग बोल्न पाउँदा निकै रमाइलो लाग्छ’ सीमा भन्नुहुन्छ, ‘सरकारसँग केही गुनासो छैन तर नाम चाहिँ नआउने के त्यति साह्रो, पत्रपत्रिका तिर ठूलाहरुको चाहिँ नाम आउने हामी स्वयंसेविकाहरुको नामै नआउने।’
महिला स्वास्थ्य स्वयंसेविकाको श्रम शोषण भएको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे बताउनुहुन्छ । वर्षमा १०० घण्टा बढी काम लगाएपछि स्वयंसेवकले पनि पारिश्रमिक पाउनुपर्छ भन्ने अन्तर्राष्ट्रिय श्रमिक संगठनको नियम रहेकाले घिमिरेले जानकारी दिनुभयो ।
विभिन्न संघ संस्थाले गरेका कार्यक्रममा समेत सरकारका कर्मचारी र स्वास्थ्य स्वयं सेविकालाई दिइने भत्तामा विदेभ रहेको उहाँ सुनाउनुहुन्छ ।
७५३ स्थानीय तहमै फरक–फरक सेवा सुविधा पाएकाले संघीय सरकारले नै न्यूनतम सुविधा दिनुपर्छ भनेर मान्यता बनाउने घिमिरेको माग छ ।
‘खाली पेटमा काम गर भनेर कहिलेसम्म लगाउने’ घिमिरेले प्रश्न गर्नुभयो’
स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा कुमारी निरौलाका अनुसार अहिले देशभर ५१ हजार ४२३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।
उनीहरुलाई संघीय सरकारले वार्षिक यातायात खर्च १२ हजार, पोशाक खर्च १० हजार दिँदै आएको छ । ६० वर्ष पुगेर सेवा छाड्दा एकमुष्ट २० हजार दिने व्यवस्था गरेको छ।
यसबाहेक थुप्रै ठाउँमा सम्बन्धित स्थानीय तह आफैँले केही सेवा सुविधा बढाइ दिएको छ ।
भिडियो
हेल्थपाटी
तपाईँको अभिमत