डेंगी नियन्त्रणमा संवेदनशिल बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले डेंगी नियन्त्रणका लागि संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले बुधबार विज्ञप्ति निकालेर डेंगीको संक्रमण बढ्दै जाँदा महामारीको रुप लिनसक्ने भन्दै सचेत गराउनुभएको छ ।
देशव्यापी रुपमा फैलिँदै गइरहेको डेंगी रोगका कारण नागरिकको स्वास्थ्य र जीवनको अधिकारमा पर्न गएको असरप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिकको स्वास्थ्यसम्बन्धी हकको सुनिश्चित गर्ने दायित्य राज्यको रहेको स्मरण गराएको छ ।
डेंगी सङ्क्रमणले महामारीको रुप लिनसक्नेतर्फ सचेत रहँदै नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्न एवम् जीवनको अधिकार सुनिश्चित गर्न, डेंगी फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा पर्याप्त जनशक्ति परिचालन गर्न आयोगले अनुरोध गरेको छ ।
‘पछिल्लो एक महिनामा बिरामीहरुको संख्या तीव्ररुपमा बढिरहेको अवस्थामा रोगको नियन्त्रण तथा रोकथामका लागि जिम्मेवार निकायहरू संवेदनशील हुन नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको, तीन तहका सरकार बिच प्रभावकारी समन्वयमार्फत डेंगी फैलाउने लामखुट्टको लार्भा ‘खोज र नष्ट’ गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने कार्यमा सरकारको ध्यान जान नसकेको जस्ता विषयहरू सञ्चार माध्यममा आउनुका साथै अन्य विभिन्न माध्यमबाट आयोगलाई जानकारीहरू प्राप्त भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ९१६० ले प्रत्येक स्वास्थ्य संस्थाले कुनै पनि रोगको सङ्क्रमण नहुने र रोक्नेतर्फ आवश्यक सुरक्षात्मक उपायको अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने जनाएको छ ।
NHRCNepal_dengue-Press_Release-2080-4-31
हेल्थपाटी
तपाईँको अभिमत