कोरोना विरुद्धको खोपको दोस्रो मात्रा बैशाख ७ गतेदेखि
काठमाडौं । कोरोना विरुद्धको खोपको दोस्रो मात्रा बैशाख ७ गतेदेखि दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को फागुन १२ गते बसेको बैठकले पहिलो र दोस्रो चरणमा कोभिडको पहिलो मात्रा प्राप्त गरेकाहरुलाई १० देखि १२ हप्ताको फरकमा बैशाख ७ देखि १५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । नेपालमा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाईकर्मी, पत्रकार, सरकारी कर्मचारी, बैंकका कर्मचारी,वृद्धाश्रममा रहेका व्यक्ति तथा उनीहरुको हेरचाहमा खटिएका व्यक्तिहरु, कैदी, जनप्रतिनिधी, कूटनीतिक नियोगका कर्मचारी लगायत गरि करिव ४ लाख ३० हजारले खोप लगाएका थिए ।
आगामि फागुन २३ गतदेखि दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय भइसकेको छ । दोस्रो चरणमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप दिने तय भएको छ । फागुन २३ गते पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई जेष्ठ ९ गतेदेखि दोस्रो मात्रा लगाउन सुरु गरिने निर्णय पनि आइसिएस बैठकले गरेको छ ।
यस्तै, बैठकले चैत भित्र १० लाख र लगत्तै ४० लाख डोज खरिदका लागि प्रक्रिया अघि बढाउन निर्णय गरेको छ । खरिद प्रक्रिया स्वास्थ्य सेवा विभागले अघि बढाउनेछ । नेपालमा हालसम्म भारतमा अक्सफोर्ड एस्ट्रजेनेकाद्वारा निर्मित कोभिशिल्ड र चीनमा सिनाफार्मले विकास गरेको भेरोसेल खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिइएको छ ।
तपाईँको अभिमत