कान्तिपुर डेन्टल कलेज अस्पतालले एक महिनासम्म मधुमेहको निःशुल्क जाँच गर्ने
बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले एक महिनासम्म मधुमेहको निःशुल्क जाँच गर्ने भएको छ ।
अस्पतालले शुक्रबार पत्रकारसम्मेलन गरी मधुमेहबारे एक महिनासम्म सचेतनासँगै नि:शुल्क 'स्क्रिनिङ' गर्ने जानकारी दिएको छ ।
मंसिर महिनाभर मधुमेहको नि:शुल्क रगत जाँच गर्ने साथै मधुमेह देखिएका बिरामीहरुको नि:शुल्क आँखा जाँच गरिदिने अस्पतालका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठले बताउनुभयो।
'साइलेन्ट किलर' मानिने मधुमेहले कतिपयलाई लक्षणबिना नै पनि गम्भीर अवस्थामा पुर्याइरहेको डा. श्रेष्ठको भनाइ छ।
आँखाको ज्योति गुमेर अन्धोपन ल्याउने कारक मध्ये मधुमेह पनि एक रहेकोले यसबारे सचेत रहन उहाँको सुझाव छ।
'आहार विहार, खानपान र जीवनशैलीलाई स्वस्थकर बनाउनु आवश्यक छ साथै नियमित रुपमा मधुमेहको परीक्षण पनि गर्न जरुरी छ' डा. श्रेष्ठले भन्नुभयो, 'हामीले यही कुरालाई मध्यनजर गर्दै नि:शुल्क सचेतना तथा परीक्षण शिविरको आयोजना गरेका हौँ।'
आफूहरूको उदेश्य अन्धोपन हुनुबाट बचाउनु रहेको भन्दै अध्यक्ष श्रेष्ठले एक महिनासम्म प्राप्त यो अवसरलाई खेर नफाल्न र नि:शुल्क शिविरबाट लाभ लिन आम सर्वसाधारण आग्रह गर्नुभयो।
हाम्रो खानपान, जीवनशैलीका कारण मधुमेह रोग अहिले जो कसैलाई लाग्ने साझा रोग जस्तो भइसकेको कान्तिपुर डेन्टल कलेजका प्रिन्सिपल प्रा.डा.रविन्द्रमान श्रेष्ठले बताउनुभयो।यसै कारण पनि लागि सचेतना र नियमित स्क्रिनिङ जरुरी उहाँको भनाइ छ ।
रगत जाँचबाट मधुमेह भए/नभएको थाहा हुने भए पनि मुखबाट पनि यसको कतिपय लक्षण थाहा हुने जानकारी प्रा.डा.श्रेष्ठले दिनुभयो।
'दाँत सफा देखिन्छ, तर गिजाले छाड्दै गएको छ, मुख,दाँत सफा छ तर गन्हाउँछ भने पनि मधुमेह भएको हुनुसक्छ' श्रेष्ठ भन्नुहुन्छ,
'यसले आँखामा, मिर्गौलामा समस्या ल्याउन सक्छ, उच्च रक्तचाप हुनसक्छ।'
मधुमेहको अवस्था भयावह बन्दै गइरहेकोले हाम्रो जस्तो मुलुकमा नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने नेत्र विशेषज्ञ डा.ज्योति बास्तोला पौडेल बताउनुहुन्छ ।
डा.पौडेलका अनुसार अन्तर्राष्ट्रिय मधुमेह संघले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रत्येक १० मध्ये १ मानिसलाई मधुमेह हुन सक्छ भनिएको छ । कम आयश्रोत भएका राष्ट्रहरुमा प्रत्येक ४ मध्ये ३ मानिसलाई मधुमेह हुनसक्दछ। विश्वभरका २० देखि ७९ वर्ष उमेर समूहका १०.५५ प्रतिशत वयस्क जनसंख्यामा मधुमेह हुनसक्ने भए पनि त्यस मध्येको आधा जनसंख्या मात्र यसबारे जानकार छ।
मधुमेह भएका मध्ये ९० प्रतिशत मानिसलाई टाइप टू मधुमेह हुने गरेको डा.पौडेलले जानकारी दिनुभयो। त्यसमा सामाजिक, आर्थिक, जनसंख्या, वातावरण र वंशानुगत जस्ता विषयको प्रभाव पर्ने गरेको पनि उहाँको भनाइ छ।
मधुमेह भएका प्रत्येक ३ मध्ये १ लाई डायबेटिक रेटिनोप्याथी देखा पर्ने गरेकोले मधुमेह भएका व्यक्तिले कम्तिमा ६-६ महिनामा आँखा जाँच गर्न डा.पौडेलले सुझाव दिनुभयो।
कार्यक्रममा केडीसी जनरल अस्पताल आईकेयर सेन्टरका बी अप्टोमेट्रिस रोहित यादवले मधुमेह र यसले आँखामा पार्ने असर (डायबेटिक रेटिनोप्याथी)बारेमा जानकारी दिनुभएको थियो।
हेल्थपाटी
तपाईँको अभिमत