भृकुटीमण्डपमा दशौँ संस्करणको ‘नेपाल फर्मा एक्स्पो’ हुँदै
नेपाल औषधि उत्पादक संघ (एप्पोन) को आयोजनामा दशौं संस्करणको ‘नेपाल फर्मा एक्स्पो २०२६’ आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। “फर्मामा नवीनताः भोलिको स्वास्थ्यका लागि” भन्ने मूल नारासहित आयोजना हुने एक्स्पोले नेपाली औषधि उद्योगको आधुनिकीकरण र आत्मनिर्भरतातर्फको यात्रालाई उजागर गर्ने लक्ष्य लिएको छ।
एक्स्पोमा २०० भन्दा बढी स्टल रहनेछन्। औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब उपकरण, कच्चा पदार्थ, प्याकेजिङ सामग्री तथा मेसिनरीको प्रदर्शन गरिनेछ। आयोजकका अनुसार ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको हुनेछ भने बाँकी स्टलमा स्वदेशी उद्योगका उत्पादन प्रदर्शन गरिनेछन्।
संघका अध्यक्ष विप्लव अधिकारीले अनुसन्धान तथा नवीन प्रविधिमा लगानीले भविष्यको स्वस्थ नेपाल सुनिश्चित गर्ने बताउँदै एक्स्पोले औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। महासचिव सन्तोष बरालले नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधि उत्पादन भइरहेको सन्देश आम जनतासम्म पुर्याउन एक्स्पो महत्त्वपूर्ण हुने बताउनुभयो।
औषधि क्षेत्रबारे जानकारी लिन इच्छुक सबैका लागि एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ।
एक्स्पो पूर्व विभिन्न खेलकुद, तालिम तथा प्राविधिक सेमिनारहरू आयोजना भइरहेका छन्। फागुन २७ गते गुणस्तर नियन्त्रणसम्बन्धी विशेष सेमिनार र फागुन २८ गते बिहान प्रभातफेरिसहित कार्यक्रमको औपचारिक उद्घाटन गरिने संघले जनाएको छ।
हेल्थपाटी
तपाईँको अभिमत