आमाको दूध नहुँदा बच्चालाई के खुवाउनु सबैभन्दा राम्रो ?
भर्खर जन्मिएको शिशुका लागि आमाको दूध अमृत मानिन्छ । बच्चालाई चाहिने सबै पोषणतत्वदेखि रोगसँग लड्ने शक्ति समेत आमाको दूधले दिने विज्ञहरुको भनाइ छ ।
आमाका लागि संसारमा सबैभन्दा प्यारो नै आफ्नो सन्तान हुन्छ । आफ्नो शिशुलाई दूध खुवाउन नखोज्ने आमा विरलै होलान् ।
स्तनपानको महत्व थाहा हुँदाहुँदै र बच्चालाई स्पतपान गराउने धेरै इच्छा हुँदाहुँदै पनि कतिपय आमाले त्यो गर्न सकिरहेका हुँदैनन् । कारण कसैकसैमा दूध नै नआउने समस्या पनि देखिन्छ । बच्चालाई जन्माएपछि आमाको मृत्यु हुने गरेका धेरै घटना पनि देखिन्छन् ।
यस्तो बेला शिशुलाई के खान दिनु सबैभन्दा राम्रो हुन्छ त ?
आमाको दूध बराबर र त्यसलाई पूर्ति गर्ने कुरा संसारमै नहुने आहार तथा पोषणविद् वर्षा भट्टराई बताउनुहुन्छ । हेल्थपाटीसँगको कुराकानीमा उहाँले भर्खर जन्मिएका शिशुलाई जनावरको दूध दिन नहुने धारणा राख्नुभयो ।
आमाको दूध नभएको खण्डमा बच्चाको जीवन रक्षाका लागि बट्टाको दूध खुवाउनु उपयुक्त विकल्प भएको भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार शिशुकै लागि भनेर उत्पादन गरिने बट्टाका दूधमा केही न केही आमाको दूधमा पाइने पोषणहरु समावेश गरिएको हुन्छ।
आमाको दूधले पूर्ति गर्ने सबै कुरा नभए पनि केही न केही यसले पूर्ति गर्ने र शिशुको जीवन रक्षा हुने उहाँको भनाइ छ ।
जनावरको दूधमा चिल्लोलगायत अन्य तत्व धेरै हुने भएकाले सानो बच्चाले त्यसलाई पचाउन नसक्ने भएकाले पनि दिन नहुने भट्टराईले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत