स्वास्थ्य मन्त्रालयद्वारा अक्सिजन प्रयोग मापदण्ड जारी (मापदण्डसहित)
मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड

शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत संक्रमित
काठमाडौं । कोरोना संक्रमितको उपचारमा अक्सिजनको व्यवस्थापन सहज गर्न सरकारले अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्वन्धि मापदण्ड बनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ अनुसार मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्वन्धि मापदण्ड जारी गरेको हो ।
उक्त मापदण्डमा संक्रमितको अवस्था हेरि अक्सिजनको आवश्यकता पूर्ति गरिने उल्लेख गरिएको छ । आइसियु र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने क्रिटिकल बिरामी, एचडीयुमा राखी उपचार गर्नुपर्ने जटिल बिरामी र अस्पतालमा अक्सिजनसहित उपचार गर्नुपर्ने बिरामीको समूह छुट्याई अक्सिजन दिइने व्यवस्था मिलाइएको छ ।
क्रिटिकल बिरामीका लागि प्रतिमिनेट १० लिटरका दरले प्रतिदिन १४ हजार लिटर अक्सिजन आवश्यक पर्दछ भने एचडियुका बिरामीलाई प्रति मिनेट ८ लिटरका दरले प्रतिदिन १२ हजार लिटर अक्सिजन चाहिन्छ । यस्तै अक्सिजन चाहिने अरु सामान्य संक्रमितहरुलाई भने प्रतिमिनेट ४ लिटरका दरले प्रतिदिन ६ हजार अक्सिजन आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१० जना बिरामीलाई आइसियुमा राखी उपचार गर्दा प्रतिदिन १ लाख ४० हजार ४ सय लिटर र २१ सिलिण्डर आवश्यक पर्छ भने ५० जना बिरामीलाई एचडियुमा राख्दा प्रतिदिन ५ लाख ९७ हजार ६ सय लिटर र ८८ सिलिण्डर र १०० जना सामान्य विरामीलाई अक्सिजन दिँदा प्रतिदिन ५ लाख ७६ हजार लिटर अक्सिजन र ८५ सिलिण्डर आवश्यक पर्ने देखिएको छ ।
कोरोना पोजेटिभ देखिएकामध्ये सामान्य अवस्थाका १० प्रतिशत संक्रमितलाई अक्सिजन चाहिन्छ भने ७ प्रतिशत संक्रमित जटिल अवस्थामा पुग्ने र ३ प्रतिशत संक्रमितलाई आइसियु र भेन्टिलेटर आवश्यक पर्ने अनुमान सरकारको छ ।
जेठ महिनामा १ लाख ७५४ नयाँ संक्रमित थपिने प्रक्षेपण स्वास्थ्य मन्त्रालयको छ । नयाँ थपिएका संक्रमितमध्ये सामान्य अवस्थामा नै ८० हजार ६०३ जनालाई अक्सिजन दिनपर्ने आँकलन गरिएको छ भने १० हजार ७५ जनालाई एचडीयु र ३ हजार २३ जनालाई आइसियु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने अवस्था आउनसक्ने अनुमान छ ।
असार महिनामा आइपुग्दा नयाँ संक्रमितको संख्या वैशाख र जेठकोभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । असारमा १ लाख २३ हजार २६० जनालाई संक्रमण पुष्टि हुने अनुमान छ । तीमध्ये १२ हजार ३२६ जनालाई अक्सिजनसहित अस्पतालमा भर्ना गर्नुपर्ने, ८ हजार ६२८ जनालाई एचडियु र ३ हजार ६९८ जना संक्रमितलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ ।
कोभिड अस्पतालहरुले कम्तीमा ७ दिनलाई पुग्ने अक्सिजन मौज्दात राख्नपर्ने
यो अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले कोरोनाको उपचार गरिरहेका अस्पतालहरुले बेड संख्याका आधारमा कम्तीमा ७ दिनका लागि पुग्ने अक्सिजन मौज्दात राख्नुपर्ने छ र दर्तावाल चिकित्सकको सिफारिस र स्वास्थ्यकर्मीको निगरानीमा मात्रै अक्सिजनको प्रयोग गर्न पाउने गरि मापदण्ड बनाइएको छ ।
मन्त्रालयका अनुसार जेठ र असार महिना गरि २८ करोड ७५ लाख ६ हजार ८३७ लिटर अक्सिजन आवश्यक पर्ने छ । त्यसका लागि जेठमा १ लाख ९० हजार र असारमा २ लाख ३३ हजार सिलिण्डर चाहिन्छ । दिनदिनै अक्सिजनको माग बढिरहँदा दिनमा करिव ६ हजार अक्सिजनको पूर्ति गर्न नसकिरहेको अवस्था छ ।
जटिल र क्रिटिकल संक्रमित बढे
स्वास्थ्य मन्त्रालयको सोमबार साँझको तथ्यांक अनुसार १२ सय ५९ जना आइसियु र ४ सय संक्रमित भेन्टिलेटरमा छन् । महामारी सुरु भएदेखि अहिलेसम्म नेपालमा ४ लाख ६४ हजार २१८ जनालाई संक्रमण पुष्टि भएको छ । तीमध्ये १ लाख १३ हजार ४८० जना संक्रमणमुक्त भएका छन् भने ५२ सय १५ जनाको मृत्यु भएको छ ।
हेर्नुहाेस् मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड
तुलसा घिमिरे
तपाईँको अभिमत