कानून विपरित सञ्चालित फार्मेसीलाई कारबाही गर्छौ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रमा भइरहेका गैरकानूनी कामहरु बन्द हुन पर्ने बताउनुभएको छ। नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा राजधानीमा गरेको कार्यक्रममा उहाँले कानून विपरित सञ्चालित फार्मेसीहरुलाई कारबाही गरिने बताउनुभयो ।
फार्मेसी नै नपढेका मानिसहरुले फार्मेसी चलाउने गरेको, दर्ता नै नगरि फार्मेसी चलाउने गरेको, नविकरण नै नगरि फार्मेसी चलाउने गरेको, अर्कैको सर्टिफिकेट राखेर फार्मेसी चलाउने जस्ता गैरकानूनी काम तत्कालै रोकिनु पर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको नेतृत्वमा फार्मेसीहरुको अनुगमन तिव्र पारेको बताउदै मन्त्री बस्नेतले कानून विपरित सञ्चालित फार्मेसीहरुलाई सचेत गराउनेदेखि सिल गर्ने सम्मका कारबाही अगाडि बढाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘फर्मासिस्टको तुलनामा फार्मेसीको संख्या बढी रहेको पाइएको छ, यो हुनु हुदैन । कानून बिपरित अर्कैको फोटो झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारबाही गर्छौ ।’
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जनताले गुणस्तरीय औषधिका लगायतका बिषयमा सही सूचना प्राप्त गर्न फार्मेसीमा फर्मासिस्ट हुनपर्ने बताउनुभयो । उपभोक्तालाई औषधिका बिषयमा सही सूचना प्रदान गर्ने जिम्मेवारी पनि फर्मासिस्टको भएको महानिर्देशक ढकालको भनाइ छ ।
नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्ज्वलजंग पाण्डेले औषधि क्षेत्रको विकासमा फार्मेसी र फर्मासिस्टहरुको अहम् भूमिका रहेको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेपाल फार्मेसी संघका अध्यक्ष किरण ढकालले फार्मेसी र फर्मासिस्ट एउटै सिक्काका दुई पाटो भएकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । संघकी उपाध्यक्ष मिना भट्टले नेपालमा सहायक स्तरमा फर्मासिस्टको संख्या १२ हजार र ६ हजार फर्मासिस्ट गरि कुल १८ हजार फर्मासिस्ट भएको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत