काठमाडौंमा पनि भेटिए हैजाका शंकास्पद बिरामी, ललितपुरका थप एक जनामा पुष्टि
काठमाण्डौ उपत्यकामा हैजाका बिरामी बढ्न थालेका छन् । आज, ललितपुरका थप एक जनामा हैजा पुष्टि भएको छ । यसअघि हैजा पुष्टि भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका १६ वर्षीय कशोरकी आमालाई पनि हैजा पुष्टि भएको हो ।
ललितपुर महालक्ष्मी नगरपालिका लुभुकी ४५ वर्षीया महिला यही साउन ९ गते टेकु अस्पताल भर्ना भएकी थिइन् । आज आएको उनको कल्चरको रिपोर्टमा हैजा पुष्टि भएको अस्पतालका चिकित्सकले जानकारी दिएका हुन् ।
यस्तै, काठमाण्डौमा पनि हैजाका शंकास्पद बिरामी फेला परेका छन् । काठमाण्डौ महानगरपालिका-२० भीमसेनस्थानकी ३२ वर्षीया महिलामा हैजाको शंका गरिएको छ ।
आज बिहान टेकु अस्पतालमा भर्ना भएकी महिलाको आरडीटी पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पठाइएको डाक्टरले जानकारी दिएका छन् ।
टेकु अस्पतालमा हैजाका अन्य शंकास्पद बिरामीहरुको पनि उपचार भइरहेको छ ।
ललितपुर चापागाउँकी २४ वर्षीया युवती शनिवार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । उनकाे आरडीटी पाेजेटिभ आएकाे छ । उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । यसअघि, हैजा पुष्टि भएका गोदावरी नगरपालिका थैबमा रहेकाे सुधारगृहका थप एक जनाकाे आरडीटी पाेजेटिभ आएकाे छ । यस्तै, हैजा पुष्टि भएका १७ वर्षीय एक किशोरको पनि टेकु अस्पतालमा उपचार भइरहेको छ।
आरडीटी पोजेटिभ आएका सबैको थप परीक्षण्का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको चिकित्सकले जानकारी दिएका छन्।
हेल्थपाटी
तपाईँको अभिमत