पत्रकार सरोज ढुंगेल ‘सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत
स्वास्थ्य पत्रकारितामा विगत १८ वर्षदेखि सक्रिय पत्रकार सरोज ढुङ्गेल ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार–२०८२’ बाट पुरस्कृत हुनुभएको छ।
स्व. सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिको अवसर पारेर आयोजित पुरस्कार हस्तान्तरण समारोहमा ढुङ्गेललाई पुरस्कार प्रदान गरिएको हो । उहाँ डेढ दशकदेखि गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ ।
‘पत्रकारहरूले सत्यतथ्य छुट्याएर जिम्मेवार भएर तथा विस्तृत अध्ययन गरेर समाचार लेख्न आवश्यक छ ।’, फाउन्डेसनकी अध्यक्ष डा. सुधा देवकोटाले बताउनुभयो, ‘यो पुरस्कारले तपाईंहरूलाई प्रोत्साहित गर्दै पत्रकारिताको गुणस्तर उकास्ने तथा पत्रकारको वृत्तिविकासमा सहयोग पुग्ने अपेक्षा लिएको छ ।’
पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य पत्रकारहरूसँग आफ्नो भावनात्मक साइनो भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा हुने बेथितिविरुद्ध कलम चलाउन आग्रह गर्नुभयो । ‘मलाई कहिलेकाहीँ समाचार हेर्दा पुरै ठाउँ पुग्न र हेर्न मन लाग्छ । उपकरण खरिदलगायतका अनिमियतता भइरहेका खबर आउँछन्’, उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिहरूविरुद्ध तपाईंहरूले बमबाडी गर्नुहोस् । यसले सकारात्मक परिवर्तन ल्याउनेछ ।’
वरिष्ठ पत्रकार उमेश चौहानले स्व. देवकोटाको योगदानको स्मरण गर्नुभयो । ‘पत्रकारहरूले दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीको अवस्था उजागर गर्नु जरुरी छ। यस्ता समाचारहरूले नीति निर्माणमा सकारात्मक दबाब दिन सक्छ’, उहाँले भन्नुभयो । पछिल्लो समय पत्रकारका लागि विभिन्न सामाजिक सञ्जालहरू चुनौतिका रूपमा आइरहेको तर अन्ततोगत्व मूलधारमा रहनेहरूले नै सही रूपमा पत्रकारिता गर्न सक्ने दाबी गर्नुभयो । स्रोत र साधनका कारण सामूहिक पत्रकारिता नै टिकाउ हुने उहाँको भनाइ थियो ।
पुरस्कृत ढुङ्गेलले आफ्नो स्वास्थ्य पत्रकारिता यात्रा १८औँ वर्षमा रहेको र स्व. देवकोटाको १८औँ पुण्यतिथिमा ‘स्वास्थ्य पत्रकारिता पुरस्कार’ प्राप्त गर्दा गौरव महसुस गरेको बताउनुभयो । ‘मैले पत्रकारिता सुरु गरेको १८ वर्ष भइसक्यो। स्व. देवकोटाको पुण्यतिथिमा उहाँकै नाममा स्थापित पुरस्कार प्राप्त गर्दा गौरवान्वित भएको छु’, उहाँले भन्नभुयो, ‘यसले मलाई अझ जिम्मेवार र निष्ठावान् बन्न प्रेरणा दिएको छ।’
कार्यक्रमका सभापति स्वास्थ्य प्रकार मञ्चका कार्यबाहक अध्यक्ष बुद्धि कटेलले फाउन्डेसनले स्वास्थ्य पत्रकारिता विधालाई समेटेर स्वास्थ्य पत्रकार मञ्चसँग सहकार्य गरी ‘सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार' स्थापना गरेकोमा आभार व्यक्त गर्दै यो पुरस्कार स्वास्थ्य क्षेत्र र पत्रकारिता जोड्ने पुल भएको बताउनुभयो ।
पुरस्कार हरेक वर्ष फाउन्डेसन र स्वास्थ्य पत्रकार मञ्च नेपालको समन्वयमा विगत पाँच वर्षदेखि प्रदान गरिँदै आइएको हो । पुरस्कारको राशी ३३,३३३ रुपैयाँ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत