भारतमा एकै दिन २७ सय बढी संक्रमितको मृत्यु
कोरोनाको संक्रमण र संक्रमितको मृत्युले दिनहुँ नयाँ रेकर्ड बनाउँदै
काठमाडौं । भारतमा कोरोनाको नयाँ संक्रमण दर र संक्रमितको मृत्यु दरले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४९ हजार ३ सय १३ संक्रमित थपिएका भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ भने २७ सयभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा संक्रमित दर बढिरहेको र अक्सिजनको हाहाकार भएको छ । बिरामीले खचाखच भरिएका अस्पतालहरूले अक्सिजन प्रबन्ध गरिदिन प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेका छन् । केही अस्पतालहरूले ब्याकअपका लागि राखेको अक्सिजन दिएर धानेका बताइएको छ ।
सरकारले टाढा टाढाबाट दिल्लीमा अक्सिजन ल्याउनका लागि सैनिक जहाज र रेल पठाएको छ । सिंगापुरलगायत देशबाट पनि भारतले अक्सिजन ल्याउन लागेको छ ।
दिल्लीका अस्पतालहरू यसै साता केन्द्र र प्रदेश सरकारलाई मेडिकल सामग्रीको प्रबन्ध गर्ने आदेश माग्दै अदालत गएका थिए ।
विज्ञहरूले अहिले पनि भारतमा थुप्रै संक्रमितहरू रेकर्डभन्दा बाहिर रहेको हुन सक्ने बताएका छन् ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा ७० हजार, अमेरिकामा ५२ हजार, फ्रान्समा ३२ हजार, टर्कीमा ४० हजार, इटलीमा १३ हजार र जमर्नीमा १५ हजार संक्रमित थपिएका छन् ।
सोही अवधिमा विश्वमा १३ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै ब्राजिलका छन् । त्यहाँ २ हजार ९८६ जनाको मृत्यु भएको छ । यस्तै‚ अमेरिकामा ७३७, फ्रान्समा २१७, रूसमा ४००, टर्कीमा ३३९, इटलीमा ३२२ संक्रमितको मृत्यु भएको छ ।
विश्वभर हालसम्म १४ करोड ७० लाख ३९ हजार ७८० मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ३१ लाख १२ हजार २९१ जनाको मृत्यु भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत