सुर्तिजन्य पदार्थमा २५ प्रतिशत मात्र कर बढ्नु सान्त्वना मात्र
काठमाडौं । सुर्तिजन्य पदार्थमा यो वर्ष २५ प्रतिशतले कर बृद्धि भएको छ । यसबर्ष भएको कर बृद्धि दर पछिल्लो पाँच बर्ष यताकै बढी भएता पनि अपेक्षाकृत हुन नसकेको विज्ञहरुले बताएका छन् । सुर्तिजन्य पदार्थहरु बिडीमा करिब साढे ४ प्रतिशत र हुक्का फ्लेवरमा २० प्रतिशत बाहेक अन्यमा २५ प्रतिशत कर बढेको हो ।
यसअघि सुर्तिजन्य पदार्थमा रहेको झण्डै ३० प्रतिशतबाट बढेर ३७ प्रतिशत नजिक पुगेको छ । सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणमा क्रियाशिल संस्था नेपाल विकास अनुसन्धान परिषद्का अध्यक्ष जय कुमार गुरुङले सरकारले जति मात्रामा कर बृद्धि गर्नुपर्ने थियो त्यो नगरे पनि माग सुनुवाई मात्र भएको बताउनुभयो ।
उहाँले कोरोनाले आक्रान्त पारिरहेको यो समयमा सुर्तिजन्य पदार्थमा कम्तिमा पनि ५० प्रतिशत कर बृद्धि गर्नुपथ्र्यो, जसले देशको राजस्वमा पनि दोब्बर बृद्धि हुन्थ्यो, तर त्यो मौका सरकारले गुमाएको टिप्पणी गर्नुभयो । हेल्थपाटीसँग कुरा गर्दै अध्यक्ष गुरुङले विश्व स्वास्थ संगठनको मापदण्ड पूरा गर्न ७० प्रतिशत कर पु¥याउनुपर्ने बताउनुभयो । नेपाल सुर्तिजन्य पदार्थमा कम कर लगाउने सार्क राष्ट्रहरुको सूचीको पहिलो नम्बरमै रहेको गुरुङले जानकारी दिनुभयो ।
कम कर भएकै कारण सुर्तिजन्य पदार्थको मूल्य सस्तो हुने र आम सर्वसाधारणको पहुँचमा पुग्ने भएकोले यसको प्रयोगमा नियन्त्रण गर्न नसकिएको उहाँले बताउनुभयो । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले यसबर्षको बढेको प्रतिशतको आधारमा आफूहरुले सरकारलाई यसबर्ष कम्तिमा ५० प्रतिशत बृद्धि गरी आगामी ३ बर्ष भित्रमा डव्लुएचओको मापदण्ड पुग्न सकिने सुझाव दिनुभएको थियो । ‘हामीले भने भन्दा करीव आधाले बढ्यो आगामी बर्ष अलि धेरै प्रतिशतमा बढाउनै पर्छ,’ उहाँले भन्नुभयो । ‘हामीले डव्लुएचओको मापदण्ड अनुसार कम्तीमा ७० प्रतिशत पुग्नै पर्छ भनेका हौं । त्यो अनुसार हुन सकेन । केही प्रतिशत मात्रै बढ्यो । यसलाई सहानुभूतिको रुपमा लिएको छु,’ उहाँले भन्नुभयो।
गतवर्ष भन्दा बढेको छ, भ्याट, अन्तशुल्क समेत गर्दा खुद्रा मुल्यमा करीव ३८ प्रतिशतले बढेको छ । यस्तै स्वास्थ्य जोखिम करमा पनि गतवर्षको तुलनामा बढेकोमा भने सकारात्मक छ । उहाँले करको दर बढाउन सम्बन्धित सबैले थप दवाव दिनुपर्ने आवश्यक रहेको बताउनुभयो । अघिल्लो बर्ष ७० एमएमसम्मको फिल्टर चुरोटमा प्रति एम १ हजार १३५ रुपैयाँ कर तोकिएको थियो । यो बर्ष सो बढेर १ हजार ४१८ रुपैयाँ पुगेको छ ।
यस्तै ७० एमएमको फिल्टर नभएको चुरोटमा अघिल्लो बर्ष प्रति एम ४९५ रुपैयाँ तोकिएकोमा यो बर्ष ६१८ रुपैयाँ पुर्याइएको छ । सबै प्रकारका सिगारमा गतवर्ष प्रति खिल्ली १७ रुपैयाँ कर तोकिएको थियो । यसबर्ष बढेर २१ रुपैयाँ (२३.५२ प्रतिशत) पुगेको छ । तर बिडीमा भने यसबर्ष अपेक्षाकृत कर बढेन ।
बिडीमा गतवर्ष प्रति एम ९० रुपैयाँ तोकिएकोमा यसबर्ष बढाएर ९४ रुपैयाँ मात्रै पुर्याइएको छ । सबैप्रकारका जर्दा खैनीहरुमा प्रतिकेजी ६५० रुपैयाँबाट ८१२ रुपैयाँ बढेको छ । नेपालमा सुर्तिजन्य पदार्थको प्रयोगका कारण बर्षेनी २७ हजार बढीको मृत्य हुने गरेको तथ्याकं छ । विश्व स्वास्थ्य संगठन जनधनको क्षति कम गर्न सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताउँदै आएको छ । नेपालजस्तो मुलुकले सुर्तिजन्य पदार्थमा लाग्दै आएको करको दरमा कम्तीमा ७० प्रतिशत पुर्याउनु पर्ने बताउँदै आएको छ
हेल्थपाटी
तपाईँको अभिमत