ब्लाक फंगसबाट कसरी बच्ने, कस्ता लक्षण देखिए अस्पताल जाने ?
काठमाडौं । ब्लाक फंगस वा कालो ढुसी(म्युकोमाइकोसिस) को समस्या कोरोना संक्रमितहरुमा देखिएपछि सर्वधारणमा यसप्रति चासो त बढेकै छ उनीहरु त्रसित पनि हुन थालेका छन् । ब्लाक फंगस झट्टै नयाँ देखिएको समस्या होइन । जनस्वास्थ्यमा दुर्लभ समस्या मानिने यो प्रतिरक्षा कमजोर भएका व्यक्तिका लागि जोखिम मानिन्छ ।
चिकित्सकहरु यसलाई अवसरवादी संक्रमण भनेर पनि भन्ने गर्दछन् । यसको मतलव रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएको मौका छोपी ब्लाक फंगसले संक्रमण गराउँछ र समयमा नै रोगका निदान नभए बिरामीको मृत्युसमेत हुनसक्छ ।
कोरोना महामारीभन्दा पहिला ब्लाक फंगसको समस्या वर्षमा आकलझुकल, एउटा दुइटा केस देखिने भएकाले यसको खासै चर्चा हुने गरेको थिएन तर अहिले कोरोना संक्रमण भएका व्यक्तिहरुमा उपचार गराइरहँदा या निको भइसकेपछि पनि यो समस्या देखिन थालेपछि जनमास फेरि अर्को नयाँ रोग आयो भनी डराइरहेका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ एवं नाक, कान तथा घाँटी रोग विशेषज्ञ समाजका महासचिव डा.योगेश न्यौपानेलाई आजभोली दिनको ५० जना जतिले फोन गर्छन् । मलाई टाउको दुख्यो, छाला चिलायो कालो ढुसीको समस्या पो होकी भनेर आत्तिएर फोन गर्ने गरेको अनुभव न्यौपाने सुनाउनु हुन्छ ।
ब्लाक फंगसबारे थाहा नहुँदा सर्वसाधरण आतंकित भइरहेको उहाँको भनाइ छ । त्यसैले उहाँ ब्लाक फंगसबारे भ्रम र यथार्थबारे बुझाउने प्रयास गर्दै हुनुन्छ ।
ब्लाक फंगसबारे जान्नैपर्ने कुराहरु :
ब्लाक फंगस प्राकृतिक रुपमै हाम्रो वरपरको वातावरण, हावा र माटोमा पाइने एक किसिमको अवसरवादी ढुसी हो । जसले रोग प्रतिरक्षा कमजोर भएका व्यक्तिलाई मौका छोपी आक्रमण गरिहाल्छ । यो कोरोना संक्रमण भएको व्यक्तिलाई मात्रै देखिने समस्या होइन र यो सर्ने रोग पनि होइन । पहिलो कुरा, कोरोना संक्रमण हुँदा शरीर कमजोर हुने भएकाले फंगसले समात्ने जोखिम बढी भएको हो तर बैलेमा सचेत भए यसबाट जोगिन सकिन्छ । आत्तिनुपर्दैन र यसको उपचार नेपालमै सम्भव छ ।
कोरोना संक्रमण नभएका तर फंगसको जोखिम समूह
मधुमेहको समस्या भएको र उनीहरुमा सुगरको मात्रा कन्ट्रोल हुन सकिरहेको छैन भनेपनि ब्लाक फंगसले समात्न सक्छ । अहिले प्राय घर–घरमा नै सुगरका बिरामी छन् त्यसैले सुगर कन्ट्रोल नभएका व्यक्तिहरु बढी सचेत हुन जरुरी छ । यसैगरी क्यान्सरका बिरामी जसले रेडियोथेरापी या किमो गरिरहनुभएको छ या कुनै औषधि लिइरहनुभएको छ भने उहाँहरुमा पनि ब्लाक फंगसको जोखिम बढी रहन्छ ।
यसैगरी मिर्गाैलाका बिरामी जसले डाइलाइसिस गराइरहनु भएको छ उहाँहरुमा पनि फंगसको समस्या देखिने सम्भावना उच्च हुन्छ । अंग प्रत्यारोपण गरेपछि औषधि खाइरहनुभएका जस्तो कलेजो, मिर्गाैलाको प्रत्यारोपण गरी नियमित औषधि लिइरहनु भएको छ उहाँहरुमा पनि यो समस्याको जोखिम अत्याधिक हुन्छ ।
यस्तै लामो समय देखि एन्टीबायोटिकका औषधि लिइरहनु भएका बिरामीमा पनि फंगसको जोखिम उत्तिकै रहन्छ । त्यसमा पनि मधुमेह, मिर्गाैला, क्यान्सर तथा मुटुको समस्या भएका व्यक्तिलाई कोरोना संक्रमण भएमा ब्लाक फंगसको जोखिम झन् बढी रहन्छ ।
कोरोना संक्रमण भएका यी व्यक्तिहरु जोखिममा
कोरोना संक्रमण भई होम आइसोलेसनमा रहनुभएकाहरुले स्वास्थ्यकमीको परामर्श बिना अनावश्यक औषधि खाँदा पनि ब्लाक फंगसको समस्या बढिरहेको हामीले पाएका छौ । भन्नुको अर्थ, होम आइसोलेसनमा बस्दा शरीर दुख्यो, टाउको दुख्यो भनी आफुखुशी विभिन्न औषधि ,एन्टीवायोटिक, स्टेरियोड औषधि प्रयोग गर्ने क्रम बढ्दा ब्लाक फंगसको समस्या पनि बढिरहेको छ ।
अस्पताल भर्ना भएको जसलाई ३/४ हप्तासम्म स्टेरोइड औषधि प्रयोग गर्नुपरेका संक्रमित, ३/४ हप्तासम्म आइसियुमा राखी उपचार गरिएका संक्रमितहरुलाई ब्लाक फंगसको जोखिम रहेको छ । विशेषगरि ४५ देखि ६५ वर्षसम्मका व्यक्तिलाई ब्लाक फंगसको जोखिम रहने भएपनि नेपालमा १८ देखि ६५ वर्षउमेरसम्मका लागि यो समस्या देखिएको छ । ब्लाक फंगसको समस्या देखिएपछि बैलेमा उपचार हुन नसके बिरामीको मृत्युसमेत हुनसक्छ ।
कहिले अस्पताल भर्ना हुने ?
ब्लाक फंगसको सुरुवाती लक्षणमै स्वास्थ्य संस्था पुगी हाल्नुपर्छ ।
सुरुवाती लक्षणहरु
टाउको दुख्ने
आँखा मुनितिरको छालामा लाटोपना देखिने
अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्ने
बाक्लो सिंगान आउने
नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने
यी लक्षणहरु देखिनासाथ स्वास्थ्य संस्थामा गइहाल्नु पर्छ । अवस्था हेरेर फङ्गल टेस्टदेखि लिएर एमआरआईमार्फत यसको परीक्षण गरिन्छ । परीक्षणमार्फत शरीरको कुन–कुन भागमा यसको इन्फेक्सन देखिएको छ सोही अनुसार चिकित्सकहरुले उपचार प्रक्रिया अगाडि बढाउँछन्
कसरी उपचार गरिन्छ ?
म्युकोमाइकोसिसका बिरामीहरुलाई छुट्टै वार्डमा राखेर उपचार गरिन्छ । मिल्दोजुलल्दो लक्षण भएका बिरामीलाई तुरुन्तै उपचारको प्रक्रिया अगाडि बढाउने र संक्रमितहरुको सुगरको स्तर जाँच्नुपर्छ । यसको उपचार एम्फोटेरिसिन बी औषधिको प्रयोग र अपरेशन हो । यसको उपचार लामो समयसम्म गर्नुपर्ने हुन्छ । हप्तादेखि महिनौंसम्म लाग्न सक्छ ।
बच्ने उपाय :
पोजेटिभ भएर होम आइसोलेसनमा बस्दा ओसिलो कोठामा बस्नु हुँदैन । लामो समयदेखि बन्द अथवा प्रयोगमा नआएको कोठालाई आइसोलेसन बनाउन हुँदैन । ग्राउण्ड प्mलोरमा सकेसम्म नबस्ने । ओसिलो तथा चिसो कोठामा आइसोलेसन नबनाउने । हावा पास हुने कोठामा बस्नुपर्छ ।
संक्रमितले कोठा तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । पटक - पटक एउटै मास्क प्रयोग गर्नु हुदैन । बाहिर निस्केको छैन भनेर सक्रमितहरुले एउटै मास्क लामो समयसम्म लगाएको पनि पाइएको छ यस्तो गर्नु हुँदैन । नियमित रुपमा साबुनपानीले हात धुनु पर्दछ । बारम्बार नुनपानीले नाक सफा गर्नुपर्छ ।
संक्रमण भई निको भएको अवस्थामा २ देखि अढाई महिनासम्म ब्लाक फंगसको समस्या देखिन सक्छ । त्यसैले निको भइसकें भनेर हेलचक्रयाइ गर्नु हुँदैन ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु बारीतिर जाँदा सचेत हुनुपर्छ । ब्लाक फंगस माटोमा पनि हुने भएकाले बारी अथवा फोहोरमा काम गर्दा पञ्जाको साथै पुरा बाहुला भएको कपडा लगाउनु पर्दछ । फेस शिल्डको प्रयोग गर्नुपर्छ ।
नेपालमा हालसम्म १० जनामा ब्लाक फंगसको संक्रमण भएको पुष्टि भएको छ । जसमा केहीको अपरेशन गरि सकिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत